मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेनमा स्थानीय पाठ्यपुस्तक लेखन सुरु, यसै शैक्षिक सत्रमै कक्षा १–८ का पुस्तक वितरण गर्ने तयारी

मंगलसेनमा स्थानीय पाठ्यपुस्तक लेखन सुरु, यसै शैक्षिक सत्रमै कक्षा १–८ का पुस्तक वितरण गर्ने तयारी


मंगलसेनमा स्थानीय पाठ्यपुस्तक लेखन तथा परिमार्जन प्रक्रिया सुरु, यसै शैक्षिक सत्रमै विद्यार्थीलाई पुस्तक उपलब्ध गराउने लक्ष्य

टेकराज भण्डारी
अछाम, साउन १४

अछामको मंगलसेन नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तकको परिमार्जन तथा नयाँ पुस्तक लेखन प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। विद्यार्थीलाई स्थानीय परिवेशसँग जोडिएको गुणस्तरीय शिक्षण सामग्री उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले आवश्यक तयारी अघि बढाएको हो।

राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद् र पाठ्यक्रम विकास केन्द्रको व्यवस्थाअनुसार स्थानीय तहले १०० पूर्णाङ्कको स्थानीय पाठ्यक्रम निर्माण गरी पाठ्यपुस्तक तयार गर्नुपर्ने प्रावधान छ। सोही व्यवस्थाअनुसार मंगलसेन नगरपालिकाले कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम कार्यान्वयन गर्दै आएको छ।

नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा कक्षा १ देखि ४ सम्मका स्थानीय पाठ्यपुस्तकको परिमार्जन तथा कक्षा ५ देखि ८ सम्मका नयाँ पाठ्यपुस्तक लेखन कार्य प्रारम्भ गरिएको हो।

शिक्षा अधिकृत दीपकबहादुर भण्डारीको संयोजकत्वमा गठन गरिएको पाठ्यक्रम परिमार्जन तथा पाठ्यपुस्तक लेखन मस्यौदा कार्यसमितिको बैठकले विस्तृत कार्ययोजना तयार गर्दै आवश्यक जिम्मेवारीसमेत बाँडफाँड गरेको छ। समितिले कक्षा १–४ को पाठ्यपुस्तक परिमार्जन गर्ने तथा कक्षा ५–८ का लागि नयाँ पाठ्यपुस्तक तयार गर्ने निर्णय गरेको छ।

मंगलसेन नगरपालिकाले यसअघि कक्षा १ देखि ४ सम्मका लागि ‘हाम्रो मंगलसेन’ शीर्षकको स्थानीय पाठ्यपुस्तक तयार गरी विद्यालयहरूमा पठनपाठन गराउँदै आएको छ। उक्त पुस्तकमा स्थानीय इतिहास, संस्कृति, भूगोल, प्राकृतिक स्रोत, जैविक विविधता, स्थानीय व्यक्तित्व, परम्परा तथा सामाजिक जीवनसँग सम्बन्धित विषयवस्तु समेटिएका छन्।

शिक्षा अधिकृत भण्डारीका अनुसार स्थानीय पाठ्यपुस्तक प्रयोगमा आएपछि विद्यार्थीलाई आफ्नै परिवेशबारे सिक्न सहज भएको छ भने शिक्षकलाई पनि स्थानीय विषयवस्तुमा आधारित अध्यापन गर्न थप सुविधा पुगेको छ।

कक्षा ५ को पाठ्यपुस्तकको प्रारम्भिक मस्यौदा तयार गर्न विषयगत क्षेत्रअनुसार विभिन्न विषयविज्ञलाई जिम्मेवारी प्रदान गरिएको छ। त्यसपछि क्रमशः कक्षा ६, ७ र ८ का पाठ्यपुस्तक पनि तयार गरिने नगरपालिकाले जनाएको छ।

“जतिसक्दो छिटो यसै शैक्षिक सत्रभित्र कक्षा १ देखि ८ सम्मका स्थानीय पाठ्यपुस्तक तयार गरी विद्यार्थीको हातमा पुर्‍याउने लक्ष्यसहित शिक्षा शाखा सक्रिय रूपमा काम गरिरहेको छ,” शिक्षा अधिकृत दीपकबहादुर भण्डारीले बताउनुभयो।