मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेन–६ मा अभिभावकका लागि पोषण शिक्षा कार्यक्रम सम्पन्न

मंगलसेन–६ मा अभिभावकका लागि पोषण शिक्षा कार्यक्रम सम्पन्न


अछाम, मंगलसेन। मंगलसेन नगरपालिका–६ ले वडा क्षेत्रभित्र रहेका कुपोषित बालबालिकाको पहिचान गरी उनीहरूका अभिभावकलाई लक्षित गर्दै १५ दिने पोषण शिक्षा तथा घरभेट कार्यक्रम सञ्चालन गरेको छ। कुपोषित बालबालिकाको स्वास्थ्य अवस्थामा सुधार ल्याउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रम बिहीबार समापन गरिएको हो।

असार ३२ गतेदेखि सुरु भएको कार्यक्रममा वडा भित्रका कुपोषित बालबालिका तथा उनीहरूका अभिभावकलाई सन्तुलित पोषण, बालबालिकाको हेरचाह तथा स्वस्थ जीवनशैलीसम्बन्धी व्यवहारिक शिक्षा प्रदान गरिएको वडा अध्यक्ष देबेन्द्र प्रसाद भण्डारीले जानकारी दिनुभयो।

वाक नेपालको ‘समुन्नत पोषणका लागि समावेशी सुशासन परियोजना’ अन्तर्गत १० जना कुपोषित बालबालिकालाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रमपछि बालबालिकाको पोषण अवस्थामा उल्लेखनीय सुधार देखिएको बताइएको छ।

कार्यक्रमका क्रममा एक जना कडा कुपोषण भएका बालकलाई कैलालीस्थित सेती प्रादेशिक अस्पतालको पुनःस्थापना केन्द्रमा उपचारका लागि पठाइएको र उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जानकारी दिइयो। वाक नेपालका सामाजिक परिचालक भोजराज ढुंगानाका अनुसार पहिले रातो वर्गमा रहेका बालबालिका अहिले पहेँलो वर्गमा पुगेका छन् भने पहेँलो वर्गमा रहेका बालबालिका हरियो वर्गमा उक्लिएका छन्।

१५ दिनसम्म सञ्चालन भएको कार्यक्रममा स्थानीय स्तरमा उपलब्ध पोषणयुक्त खाद्यान्न, तरकारी, फलफूल तथा पशुजन्य खाद्य पदार्थको सही प्रयोग, बालबालिकाको पोषण सुधारका लागि आवश्यक व्यवहार परिवर्तन तथा सरसफाइका विषयमा अभिभावकलाई प्रशिक्षण दिइएको थियो। साथै, घरभेटमार्फत अभिभावकले सिकेका कुराको व्यवहारिक अभ्यासको अनुगमन तथा आवश्यक परामर्श पनि प्रदान गरिएको थियो।

कार्यक्रममा सहभागी अभिभावकहरूले आफ्नै करेसाबारीमा उत्पादन हुने पोषणयुक्त खाद्यान्न र तरकारीको उचित प्रयोगबारे जानकारी नहुँदा बालबालिकालाई आवश्यक पोषण दिन नसकेको स्वीकार गर्दै कार्यक्रमपछि धेरै नयाँ ज्ञान हासिल गरेको बताएका थिए। उनीहरूले वडा कार्यालय र वाक नेपाललाई धन्यवाद दिँदै यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिन तथा अनुगमनलाई थप प्रभावकारी बनाउन सुझाव दिएका छन्।

समापन कार्यक्रममा बोल्दै वडा अध्यक्ष देबेन्द्र प्रसाद भण्डारीले पोषण बालबालिकाको समग्र विकासको आधार भएकाले कार्यक्रमलाई थप प्रभावकारी बनाउन वडा समितिले आवश्यक स्रोत–साधनको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले वडामा अझै पनि कुपोषित बालबालिका रहेको उल्लेख गर्दै कुनै पनि बालबालिका कुपोषित रहन नपरोस् भन्ने उद्देश्यले वडाले वाक नेपालसँग समन्वय गरी कार्यक्रम सञ्चालन गरेको बताउनुभयो। कार्यक्रमको सकारात्मक प्रभाव देखिएकाले आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई विस्तार गरिने उहाँको भनाइ थियो।

मंगलसेन नगरपालिका स्वास्थ्य शाखा प्रमुख भूमिनन्द ढुंगानाले नगरपालिकामा हाल ६८ जना कुपोषित बालबालिका रहेको जानकारी दिँदै उनीहरूको अवस्थामा सुधार ल्याउन नगरपालिका गम्भीर रूपमा लागिपरेको बताउनुभयो। वडा नम्बर ६ बाट सुरु भएको यस्तो कार्यक्रम नगरपालिकाका सबै १४ वटै वडामा विस्तार गरिने उहाँले जानकारी दिनुभयो।

डब्लुएचएचका टेक्निकल कोर्डिनेटर रमेश जोशीले बजारबाट किनिएका खाद्यवस्तु मात्रै पोषणयुक्त हुन्छन् भन्ने भ्रम त्याग्न अभिभावकलाई आग्रह गर्नुभयो। घरमै उत्पादन हुने विविध खाद्यवस्तुको सन्तुलित प्रयोगबाट बालबालिका र परिवारको स्वास्थ्य सुधार गर्न सकिने उहाँको भनाइ थियो। बालबालिकाको पोषण सुधारमा आमाको प्रमुख भूमिका भए पनि परिवारका सबै सदस्यको सहयोग आवश्यक रहने उहाँले उल्लेख गर्नुभयो।

कार्यक्रमका जिल्ला संयोजक कविता सुवेदीले पोषण शिक्षा कार्यक्रममा सहभागी महिलाहरूमा आएको सकारात्मक परिवर्तन उत्साहजनक रहेको बताउनुभयो। उहाँले कार्यक्रममार्फत सहभागी अभिभावकहरूले कुपोषण रोकथाम, सन्तुलित आहार र बालबालिकाको उचित हेरचाहबारे व्यवहारिक ज्ञान हासिल गरेको उल्लेख गर्दै सिकेका कुरालाई दैनिक जीवनमा लागू गर्न आग्रह गर्नुभयो।

समापन कार्यक्रममा वडा सदस्य जन्मराज भण्डारी, वडा सदस्य सरिता भण्डारी, पत्रकार टेकबहादुर थापा, वाक नेपालका सामाजिक परिचालक भोजराज ढुंगाना, पोषण सहजकर्ता रमिता विक, अभिभावक खेमराज भण्डारीलगायतको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण महिला स्वास्थ्य स्वयंसेविका निर्मला भण्डारी र रमिला भण्डारीले गर्नुभएको थियो भने समापन कार्यक्रमको सञ्चालन पोषण अधिकृत तपेन्द्र खड्काले गर्नुभएको थियो।