अछाम । मौसम परिवर्तनसँगै अछाम जिल्लाका स्वास्थ्य संस्थामा बिरामीको संख्या बढ्न थालेको छ।
वर्षायाममा पानीका नयाँ मुहान फुट्ने तथा खोला–खोल्साको पानी धारा, कुवा र इनारमा मिसिँदा विभिन्न किसिमका रोगको संक्रमण बढ्ने भएकाले स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।
अहिले जिल्ला अस्पताल मंगलसेन, बयालपाटा अस्पताल, कमलबजार प्राथमिक स्वास्थ्य केन्द्र तथा चौरपाटीलगायत स्वास्थ्य संस्थामा बिरामीको संख्या बढेको छ ।
वडा तहमा रहेका स्वास्थ्य संस्थामा समेत बिरामीको चाप ह्वात्तै बढेको जनाइएको छ । स्वास्थ्य संस्थाका अनुसार पछिल्लो समय रुघाखोकी, ज्वरो, टाइफाइड तथा स्क्रब टाइफसलगायतका बिरामी बढी आउने गरेका छन् ।
जिल्ला अस्पताल अछाममा मात्रै दैनिक दुई सयभन्दा बढी बिरामी आउने गरेको अस्पतालका प्रमुख डा. वेदकुमार चौधरीले जानकारी दिनुभयो ।
डा. चौधरीले मौसम परिवर्तनसँगै अहिले सबैभन्दा बढी मौसमी ज्वरोका बिरामी बढेको बताउनुभयो । गाउँघरमा खानपिनमा ध्यान नदिनु, वर्षायाममा पानीमा भिज्नु, सरसफाइमा बेवास्ता गर्नु तथा पानी उमालेर नपिउनुजस्ता कारणले मौसमी रोगका बिरामी बढेको उहाँको भनाइ छ ।
“यो देशभरकै समस्या हो। तर अछामजस्ता जिल्लामा अन्य जिल्लाको तुलनामा यसको प्रभाव अझ बढी देखिने गरेको छ,” उहाँले बताउनुभयो । यस्तो समयमा खानपानमा विशेष ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीहरूको सुझाव छ ।
पर्याप्त मात्रामा पानी पिउने, सरसफाइमा ध्यान दिने, पौष्टिक खाना खाने र पर्याप्त आराम गर्ने गरेमा मौसमी रोगबाट बच्न सकिने डा. चौधरीले बताउनुभयो ।
ज्वरो आएपछि घरमै बसेर वा निजी क्लिनिकबाट औषधि किनेर खाने र समस्या जटिल भएपछि मात्रै अस्पताल आउने प्रवृत्ति बढेको भन्दै उहाँले सुरुमै स्वास्थ्य संस्थामा गएर स्वास्थ्य जाँच गराउन आग्रह गर्नुभएको छ।
स्वास्थ्य परीक्षण नगरी आफूखुसी औषधि सेवन गर्दा मानव स्वास्थ्यमा थप समस्या देखिन सक्ने भएकाले यसतर्फ सचेत रहन उहाँले आग्रह गर्नुभयो ।
मौसम परिवर्तनको समयमा अधिकांश मानिसमा ज्वरो आउने, रुघाखोकी लाग्ने तथा कतिपयमा टाइफाइडलगायतका संक्रमण देखिन सक्ने भएकाले ज्वरो आएपछि सुरुमै स्वास्थ्य संस्थामा गई स्वास्थ्यकर्मीको सल्लाहअनुसार औषधि सेवन गर्न स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन् ।
सामान्य ज्वरो हो भन्दै बेवास्ता गर्दा पछि रोगले जटिल रूप लिन सक्ने, उपचार खर्च बढ्ने तथा स्वास्थ्यमा थप समस्या आउन सक्ने भएकाले ज्वरो वा रुघाखोकी लागेमा खानपान र सरसफाइमा विशेष ध्यान दिन स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन् ।














प्रतिक्रिया