मिलन नाथ | मंगलसेन, अछाम | २७ साउन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मंगलसेन नगर समितिको आयोजनामा अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर मंगलसेन बजार क्षेत्रमा सरसफाइ अभियान तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
सरसफाइ अभियानअन्तर्गत मंगलसेन बजारस्थित खुला मञ्च तथा दरबार क्षेत्र, षोडशादेवी मन्दिर, बीच बजारमा रहेको धर्मेश्वर महादेव मन्दिर र झाडभुङ्गाको धारालगायतका सार्वजनिक स्थलमा सरसफाइ गरिएको हो।
अभियानमा नेपाल प्रहरी तथा ट्राफिक प्रहरीका जवान, रास्वपाका नेता तथा कार्यकर्ता र स्थानीय युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो। आयोजकका अनुसार जिल्ला स्वास्थ्य कार्यालय अछामको प्राविधिक सहयोगमा सरसफाइ अभियान सञ्चालन गरिएको हो।
यसैबीच, रास्वपा मंगलसेन नगर समितिको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी अछामको प्राविधिक सहयोगमा जिल्ला अस्पताल अछाममा रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको थियो।
रक्तदान कार्यक्रममा तपेन्द्र बिष्ट र भरत विष्टले एबी पोजेटिभ, मिलन नाथ र दिपेन्द्र खत्रीले बी पोजेटिभ तथा राजेश बोगटी र भरत भण्डारीले ओ पोजेटिभ रगत दान गरेका छन्।
रक्तदान गर्ने स्वयंसेवी रक्तदाताहरूलाई नेपाल रेडक्रस सोसाइटी अछाम तथा जिल्ला स्वास्थ्य कार्यालय अछामले प्रमाणपत्र प्रदान गरेको थियो।
सामाजिक उत्तरदायित्व, सार्वजनिक स्थलको संरक्षण तथा मानवीय सेवाको भावनालाई प्राथमिकतामा राख्दै सरसफाइ र रक्तदान कार्यक्रम आयोजना गरिएको रास्वपा मंगलसेन नगर समितिले जनाएको छ।
युवाहरूको सक्रिय सहभागितामा सञ्चालन हुने यस्ता सामाजिक अभियानले स्वच्छ, स्वस्थ र जिम्मेवार समाज निर्माणमा सकारात्मक योगदान पुर्याउने आयोजकको विश्वास छ।














प्रतिक्रिया