मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाम जिल्लामा पनि खाना पकाउने ग्यासको हाहाकार

अछाम जिल्लामा पनि खाना पकाउने ग्यासको हाहाकार


अछाम / जिल्लामा खाना पकाउने ग्यासको चरम अभाव देखिएको छ । एक महिनादेखि सुरु भएको ग्यासको अभाव अझै कम हुन नसक्दा सर्वसाधारण नागरिक, विद्यार्थी तथा होटल व्यवसायीहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । ग्यास नपाउँदा नागरिकहरूलाई दैनिक खाना पकाउनसमेत समस्या भएको छ ।

मंगलबार बिहान मंगलसेनमा केही मात्रामा ग्यास आएपछि उपभोक्ताबीच ग्यास लिन लुछाचुँडी भएको थियो । सीमित संख्यामा मात्रै ग्यास उपलब्ध भएपछि पहुँच भएका केही व्यक्तिले ग्यास पाए पनि सर्वसाधारण नागरिक र विद्यार्थीहरू ग्यास नपाएर फर्किन बाध्य भएका छन् । मंगलसेनमा ग्यास वितरण गर्दै आएको संगम सप्लायर्सले गाडीबाट ग्यास झार्न नपाउँदै उपभोक्ताहरूले ग्यासका सिलिन्डर उठाएर लगेको जनाएको छ ।

सप्लायर्सका सञ्चालक लक्षीराम भाटका अनुसार मंगलसेनका लागि ५ सय सिलिन्डर ग्यास माग गरिएको भए पनि मंगलबार जम्मा १ सय ५० सिलिन्डर मात्रै आएको थियो । रामारोशन दैनिकसँग कुराकानी गर्दै सञ्चालक भाटले भन्नुभयो, “हामीले ५ सय सिलिन्डर ग्यास माग गरेका थियौँ तर मंगलसेनमा १ सय ५० वटा सिलिन्डर मात्रै आयो । डिपोबाट माग गरेअनुसार ग्यास नपाएपछि समस्या भएको हो ।”

उहाँका अनुसार आफूहरूले धेरै प्रयास गर्दा पनि आवश्यक मात्रामा ग्यास पाउन सकेका छैनन् । “एक महिनादेखि ग्यासको अभाव हुँदै आएको थियो । हामीले जेनतेन गरेर उपभोक्तालाई ग्यास पु¥याउँदै आएका थियौँ । तर पछिल्लो समयमा मुख्य डिपोबाटै पर्याप्त ग्यास नपठाएपछि आफ्ना ग्राहकलाई ग्यास पु¥याउन मुस्किल भएको छ,” भाटले बताउनुभयो । उहाँले तत्काल मंगलसेनमा कम्तीमा ५ सयभन्दा बढी सिलिन्डर ग्यास आवश्यक रहेको बताउँदै डेढ सय मात्रै ग्यास आएपछि उपभोक्ताको माग धान्न निकै कठिन भएको बताउनुभयो ।

ग्यासको अभावका कारण सबैभन्दा बढी सर्वसाधारण नागरिक प्रभावित भएको उहाँको भनाइ छ । मंगलबार बिहान मंगलसेनमा ग्यास पुग्ने खबर पाएपछि उपभोक्ताहरू एक घण्टा अगावै खाली सिलिन्डर बोकेर लाइनमा बसेका थिए । विद्यार्थी, होटल व्यवसायी, कर्मचारी तथा सर्वसाधारण नागरिक बिहान ६ बजेदेखि नै लाइनमा बसे पनि धेरैले ग्यास नपाएपछि निराश हुँदै घर फर्किएका थिए ।

ग्यासको अभावका कारण होटल व्यवसायीहरूलाई पाहुनालाई कसरी खाना पकाएर खुवाउने भन्ने चिन्ता बढेको छ भने विद्यार्थीहरू थप समस्यामा परेका छन् । भाडामा बसेका घरमा घरबेटीहरूले कोठाभित्र आगो बाल्न नदिने भएकाले ग्यास नपाएपछि विद्यार्थीहरूलाई खाना पकाउनसमेत समस्या भएको हो । मंगलसेनमा अध्ययनरत विद्यार्थी कल्पना साउदले ग्यास नपाउँदा आफूहरू निकै समस्यामा परेको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, “हामी भाडामा बस्छौँ । कोठामा आगो बाल्न पाइँदैन । ग्यास नपाएपछि कोठामा ताला लगाएर केही दिनका लागि घर जानुको विकल्प छैन ।” कल्पना मात्रै होइन, मंगलसेनमा अध्ययनरत अधिकांश विद्यार्थी ग्यास पाउन छोडेपछि घर फर्किन थालेका छन् । नियमित खाना पकाउन नसक्दा केही विद्यार्थी चाउचाउ तथा अन्य तयारी खानेकुराको भरमा दिन बिताउन बाध्य भएको बताइएको छ ।

यस्तै, बजारका मुख्य होटल व्यवसायीहरूले ग्यासका लागि अग्रिम रकम भुक्तानी गरे पनि पर्याप्त ग्यास पाउन नसकेको गुनासो गरेका छन् । होटल सनसाइनका सञ्चालक तुलाराम बिसीले आफ्नो होटलमा तीन दिनमा एउटा सिलिन्डर ग्यास सकिने बताउँदै अहिले ग्यास नपाउँदा व्यवसाय सञ्चालनमै समस्या भएको बताउनुभयो । “हाम्रो होटलमा तीन दिनमा एउटा ग्यास सकिन्छ । बजारमा ग्यास पाउन छोड्यो ।

अब होटलमा आउने पाहुनालाई कसरी खाना खुवाएर पठाउने भन्ने चिन्ता बढेको छ,” बिसीले भन्नुभयो । मंगलसेनको संगम ग्यास सप्लायर्सले आफ्ना ग्राहकको मागलाई ध्यानमा राख्दै यसअघि पर्याप्त मात्रामा ग्यास ल्याउने गरेको भए पनि यसपटक देशभरजस्तै अछाममा समेत अभाव देखिएपछि पर्याप्त ग्यास ल्याउन नसकिएको जनाएको छ । सप्लायर्सका अनुसार मुख्य डिपोबाटै मागअनुसार ग्यास उपलब्ध नहुँदा स्थानीय बजारमा आपूर्ति व्यवस्थापन गर्न कठिन भएको हो ।

यता, उपभोक्ताहरूले भने ग्यासको अभावका कारण आफूहरू भोकभोकै बस्नुपर्ने अवस्था आएको भन्दै चिन्ता व्यक्त गरेका छन् । वर्षायाम भएकाले जंगलमा गएर दाउरा ल्याउनसमेत सहज नभएको उनीहरूको भनाइ छ । खाना पकाउने ग्यासको यस्तो अभाव यसअघि कहिल्यै नदेखेको उपभोक्ताहरूले बताएका छन् । मंगलसेन–१३ बस्ती घर भई हाल मंगलसेनमा बस्दै आउनुभएका तेजबहादुर थापाले बिहान ७ बजे नै लाइनमा बसे पनि ग्यास पाउन नसकेको गुनासो गर्नुभयो ।

“म त दुई–चार छाक होटलमा खाना खान सक्छु । तर विद्यार्थीहरू सबैभन्दा ठूलो समस्यामा परेका छन्,” थापाले भन्नुभयो । उहाँका अनुसार केही दिनयता विद्यार्थीहरू चाउचाउलगायतका खानेकुरा खाएर दिन बिताइरहेका छन् । उपभोक्ताहरूले सरकारले तत्काल ग्यासको आपूर्ति सहज बनाउन पहल गर्नुपर्ने माग गरेका छन् ।

स्थानीय बजारमा ग्यासको अभाव लामो समयसम्म रहँदा दैनिक जनजीवनसँगै होटल व्यवसाय, विद्यार्थीको अध्ययन र समग्र बजार गतिविधिसमेत प्रभावित हुने अवस्था देखिएको छ । अछाम जिल्लाका मंगलसेनलगायत सबै प्रमुख स्थानीय बजारमा खाना पकाउने ग्यासको चरम अभाव देखिएको छ । लामो समयसम्म आपूर्ति सहज हुन नसकेमा सर्वसाधारणसँगै होटल व्यवसायी, विद्यार्थी तथा अन्य उपभोक्ताले थप समस्या भोग्नुपर्ने देखिन्छ ।