मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खानेपानी योजना दिगो बनाउने कालागाउँका स्थानीयको प्रतिबद्धता

खानेपानी योजना दिगो बनाउने कालागाउँका स्थानीयको प्रतिबद्धता


अछाम : मंगलसेन नगरपालिका–१४ कालागाउँका स्थानीय उपभोक्ताले आफ्नो वडामा निर्माण गरिएको घट्टेखोला खानेपानी तथा सरसफाइ योजनालाई दिगो र प्रभावकारी बनाउन सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।

सरकार तथा विभिन्न दातृ निकायको सहयोगमा खानेपानीका योजना निर्माण भए पनि सञ्चालन तथा संरक्षणमा पर्याप्त ध्यान नदिँदा ठूलो लगानीमा बनेका योजना केही समयमै जीर्ण हुने समस्या देखिँदै आएको छ।

यही अवस्थालाई मध्यनजर गर्दै कालागाउँमा निर्माण गरिएको योजनाको दीगोपनाका लागि स्थानीय उपभोक्ताले आफ्नो क्षेत्रबाट आवश्यक भूमिका खेल्ने प्रतिबद्धता जनाएका हुन् ।

मंगलसेन नगरपालिका, हेल्भेटास नेपालको आर्थिक सहयोग तथा सेवक नेपालको प्राविधिक सहयोगमा ६१ लाख ७२ हजार रुपैयाँभन्दा बढीको लगानीमा निर्माण गरिएको उक्त योजनाबाट वडाका ९६ घरधुरीमा ‘एक घर, एक धारा’को सुविधा पुगेको छ।

साथै, सोही वडामा रहेको अन्नपूर्ण माध्यमिक विद्यालयको लामो समयदेखिको खानेपानी समस्या पनि समाधान भएको खानेपानी उपभोक्ता समितिका सचिव कटकबहादुर सोडारीले जानकारी दिनुभयो ।

उपभोक्ता गणेशबहादुर सोडारीले कुनै पनि योजना सरकार वा सहयोगी संस्थाले निर्माण गरिदिए पनि त्यसको दीगोपनाका लागि स्थानीय नागरिकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो।

उहाँले योजना संरक्षण, नियमित मर्मतसम्भार तथा आवश्यक शुल्क भुक्तानीमा उपभोक्ताले जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।

उपभोक्ता समितिका अध्यक्ष उत्तमबहादुर भण्डारीको अध्यक्षतामा आयोजित योजनाको सार्वजनिक लेखापरीक्षण तथा पहिलो वार्षिक साधारणसभामा बोल्दै मंगलसेन नगरपालिकाकी उपप्रमुख संगीता रावल सोडारीले स्थानीय सरकार र हेल्भेटास नेपालको सहयोगमा निर्माण भएको बृहत् खानेपानी योजनालाई दिगो बनाउने प्रमुख जिम्मेवारी अब स्थानीय उपभोक्ताको रहेको बताउनुभयो ।

कालागाउँमा लामो समयदेखि रहेको खानेपानीको समस्या समाधान भएकोमा खुसी व्यक्त गर्दै उपप्रमुख रावलले खानेपानीको अभावका कारण विशेषगरी महिलाले ठूलो बोझ खेप्नुपरेको स्मरण गर्नुभयो। योजना सञ्चालनमा आएपछि स्थानीय महिलाको दैनिकी सहज भएको उहाँको भनाइ थियो ।

कार्यक्रममा हेल्भेटास नेपालका क्षमता विकास विज्ञ नीलकण्ठ पाण्डेले ठूलो लगानीमा निर्माण भएको योजनालाई नमुनाका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो।

केही उपभोक्ताले पानीको बिल तिर्न कठिनाइ भइरहेको गुनासो गरेको उल्लेख गर्दै उहाँले स्थानीय सरोकारवालाबीच छलफल गरी यस्ता सानातिना समस्या समाधान गर्दै अघि बढ्न सुझाव दिनुभयो।

योजनाको प्रभावकारिता र दीगोपनाका लागि हेल्भेटास नेपालका तर्फबाट निरन्तर सहयोग रहने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

हेल्भेटास नेपालका वास संयोजक चन्द्रप्रकाश केसीले वडा नम्बर १४ मा विगतमा पनि खानेपानीका थुप्रै योजना निर्माण भए पनि तिनको दीगोपना सुनिश्चित हुन नसकेको बताउनुभयो। विगतका कमजोरी सुधार गर्दै अहिले निर्माण भएको बृहत् खानेपानी योजनालाई दिगो बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने उहाँको भनाइ थियो।

योजना दिगो हुन नसके आगामी दिनमा यस वडामा नयाँ खानेपानी योजना ल्याउन कठिन हुने भन्दै उहाँले उपभोक्तालाई योजना संरक्षणमा विशेष ध्यान दिन आग्रह गर्नुभयो ।

वडा अध्यक्ष शिवबहादुर सोडारीले विगतमा पहुँचका आधारमा आएका कतिपय खानेपानी योजना प्रभावकारी हुन नसकेको अनुभव सुनाउँदै यस योजनालाई दिगो र भरपर्दो बनाउन वडा तहबाट आवश्यक सहयोग गर्ने बताउनुभयो। नेपाल सरकारले अघि सारेको ‘एक घर, एक धारा’को अवधारणाको निरन्तरताका रूपमा योजना निर्माण गरिएको उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा सहभागी स्थानीय उपभोक्ताले योजनालाई दिगो बनाउन उपभोक्ताको भूमिका, स्थानीय सरकार तथा दातृ संस्थाले आगामी दिनमा गर्नुपर्ने पहललगायत विषयमा आ–आफ्ना धारणा तथा सुझाव राखेका थिए ।

सहभागी महिलाले खानेपानी सेवा नियमित हुनुपर्नेमा जोड दिँदै योजना निर्माण भएपछि दैनिक जीवनका धेरै समस्या सहज भएको भन्दै खुसी व्यक्त गरेका थिए । यो योजना बाट वडाका ९६ घरधुरीका नागरिकाहरु लाभान्वित भएका छन ।

सार्वजनिक लेखापरीक्षण कार्यक्रममा संस्थाको प्रतिवेदन समाजसेवी भरतबहादुर सोडारीले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा पूर्ववडा अध्यक्ष तेजबहादुर भण्डारी, वडा सदस्य हर्क तिरुवा, रम्भ लुहारलगायतको सहभागिता थियो। कार्यक्रमको सञ्चालन भरत सोडारीले गर्नुभएको थियो ।