अछाम जिल्लामा सञ्चालित सेफगल्स परियोजनाको प्रभावकारिता बढ्दै गएको एक कार्यक्रममा सहभागी सरोकारवालाले बताएका छन् ।
जिल्लाको मंगलसेन नगरपालिका, साफेबगर नगरपालिका र कमलबजार नगरपालिकामा सञ्चालित परियोजनाअन्तर्गतका कार्यक्रमले किशोर–किशोरीको नेतृत्व विकास, व्यक्तित्व विकास तथा सामाजिक सचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याएको उनीहरूको भनाइ छ ।
सेफगल्स परियोजनामार्फत मंगलसेन नगरपालिकाका ११ वटा माध्यमिक विद्यालय, साफेबगर नगरपालिकाका सबै माध्यमिक विद्यालय र कमलबजार नगरपालिकामा रहेका सबै माध्यमिक विद्यालयमा विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन्।
परियोजनाले विशेषगरी किशोर–किशोरीको क्षमता विकासमा काम गर्दै आएको छ भने किशोरीलाई प्राथमिकतामा राखेर नेतृत्व, आत्मविश्वास, स्वास्थ्य, सरसफाइ, पोषण तथा जीवनोपयोगी सीपसम्बन्धी गतिविधि सञ्चालन गर्दै आएको छ ।
परियोजनाले किशोरीहरूको नेतृत्व र व्यक्तित्व विकासमा टेवा पु¥याउनुका साथै दैनिक जीवनयापनमा आवश्यक पर्ने व्यवहारिक ज्ञान र सीप प्रदान गर्दै आएको सरोकारवालाहरूले बताएका छन्।
परियोजनाअन्तर्गत विद्यालयमा सञ्चालन भइरहेका गतिविधिको अनुगमनका क्रममा मंगलसेनमा आयोजित विभिन्न कार्यक्रममा यसको प्रभावकारिता राम्रो देखिएको भन्दै आगामी दिनमा कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सुझाव दिइएको छ ।
मंगलसेन नगरपालिका प्रमुख पदमबहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख बोहराले स्थानीय सरकारले गर्नुपर्ने कतिपय काम सेफगल्स परियोजनाले सहयोगी रूपमा अघि बढाइरहेको भन्दै संस्थालाई धन्यवाद दिए । “यो काम स्थानीय सरकारले पनि गर्नुपर्ने हो । तर परियोजनाले हामीलाई ठूलो सहयोग गरेको छ,” उनले भने ।
स्थानीय सरकारले पनि किशोर–किशोरी केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिएको भए पनि पर्याप्त बजेट तथा जनशक्तिको अभावका कारण अपेक्षाअनुसार कार्यक्रम सञ्चालन गर्न कठिनाइ भइरहेको नगर प्रमुख बोहराले बताए। उनले सेफगल्स परियोजनाअन्तर्गत सञ्चालित गतिविधिलाई थप प्रभावकारी बनाउन मंगलसेन नगरपालिकाले आवश्यक बजेट व्यवस्थापन तथा समन्वयका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए ।
“मंगलसेन नगरपालिका तपाईँहरूसँग समन्वय र सहकार्य गर्दै यस्ता रचनात्मक कार्यक्रम सञ्चालन गर्न तयार छ। सरकारका तर्फबाट जहाँ अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने हुन्छ, त्यसका लागि नगरपालिका तयार छ,” नगर प्रमुख बोहराले भने ।
परियोजना लागू भएका विद्यालयमा किशोर–किशोरीको नेतृत्व क्षमता र व्यक्तित्व विकासमा सकारात्मक परिवर्तन देखिएको उल्लेख गर्दै उनले यसको प्रभावकारिता अझ बढाएर लैजान आवश्यक रहेको बताए।
परियोजनाले किशोर–किशोरीमा मात्र नभई समुदायमा रहेका सामाजिक विकृति र विसंगतिविरुद्ध समेत सचेतनामूलक गतिविधि सञ्चालन गरिरहेको भन्दै अछाममा विद्यमान छाउपडी प्रथा, बालविवाहलगायत सामाजिक कुरीति न्यूनीकरणमा पनि परियोजनाको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ थियो ।
परियोजनाको अवधि सकिएपछि पनि यसअन्तर्गत सञ्चालन भएका प्रभावकारी कार्यक्रमलाई स्थानीय सरकारले निरन्तरता दिने नगर प्रमुख बोहराले प्रतिबद्धता जनाए। उनले परियोजनाबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै स्थानीय तहको नीति तथा कार्यक्रममा समेटेर अघि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै मंगलसेन नगरपालिका शिक्षा शाखा प्रमुख दीपक भण्डारीले सेफगल्स परियोजनाले नगरपालिकाभित्रका ११ वटा माध्यमिक विद्यालयमा प्रभावकारी काम गरिरहेको बताए। परियोजनामा सहभागी किशोरीहरूमा विगतको तुलनामा उल्लेख्य परिवर्तन आएको आफूले पाएको उनको भनाइ थियो ।
शिक्षा शाखामार्फत विद्यालयहरूको अनुगमनका क्रममा विशेषगरी किशोरीहरूमा आत्मविश्वास र सक्रियता बढेको पाइएको भण्डारीले बताए। “पहिले शिक्षकहरूसँग समेत खुलेर बोल्न नसक्ने किशोरीहरू अहिले आफ्ना कुरा स्पष्ट रूपमा राख्ने भएका छन्।
विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा पनि उनीहरूको सहभागिता बढेको छ,” उनले भने । त्यस्तै, मंगलसेन नगरपालिका स्वास्थ्य शाखा प्रमुख भूमिनन्द ढुंगानाले किशोरीलाई महिनावारीका समयमा अपनाउनुपर्ने सावधानी, व्यक्तिगत सरसफाइ, पोषणलगायतका विषयमा दिइएको जानकारीले सकारात्मक प्रभाव पारेको बताए।
परियोजनाबाट प्राप्त जानकारी किशोरीहरूले आफ्नो घरपरिवार तथा समुदायमा समेत साझा गर्ने गरेको उनले बताए। यसले स्वास्थ्य तथा सरसफाइसम्बन्धी व्यवहार परिवर्तनमा सहयोग पुगेको उनको भनाइ थियो । अनुगमनका लागि आएको संस्थाका पदाधिकारीहरूले बुधबार षोडशा माध्यमिक विद्यालयमा अनुगमन गर्नुका साथै विद्यार्थी तथा शिक्षकसँग अन्तरक्रिया गरेका थिए।
अन्तरक्रियामा सहभागी किशोरीहरूले आफ्नो विद्यालयमा सेफगल्स परियोजना सञ्चालन गरेकोमा धन्यवाद दिँदै कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिएका थिए । किशोरी जेनीसा भाटले सेफगल्स परियोजनामा आबद्ध भएपछि आफूमा निकै ठूलो परिवर्तन आएको बताइन्। पहिले साथीभाइसँग समेत बोल्न लजाउने आफू अहिले विद्यालयमा मात्र नभई पालिकास्तरमा हुने विभिन्न सभा तथा कार्यक्रममा जनप्रतिनिधि र अन्य सरोकारवालासँग खुलेर बहस तथा छलफलमा सहभागी हुने गरेको उनले बताइन् ।
“परियोजनामा सहभागी भएपछि आफ्ना कुरा राख्न सक्ने आत्मविश्वास बढेको छ। विभिन्न विषयमा छलफल गर्ने र नेतृत्व लिन सक्ने क्षमता पनि विकास भएको महसुस भएको छ,” भाटले भनिन् । कार्यक्रममा सहभागी अन्य विद्यार्थीहरूले पनि परियोजनाले किशोर–किशोरीका क्षेत्रमा राम्रो काम गरेको भन्दै आगामी दिनमा थप प्रभावकारी र आवश्यकतामा आधारित कार्यक्रम सञ्चालन गर्न माग गरेका थिए। विशेषगरी जिल्लाका विकट तथा ग्रामीण क्षेत्रका विद्यालयमा अध्ययनरत किशोरीहरूले विभिन्न सामाजिक, स्वास्थ्य तथा शैक्षिक समस्या भोगिरहेको भन्दै त्यस्ता विद्यालयलाई पनि परियोजनाले प्राथमिकतामा राख्नुपर्ने शिक्षक तथा विद्यार्थीहरूको सुझाव थियो ।
सरोकारवालाहरूले किशोर–किशोरीको नेतृत्व विकाससँगै बालविवाह, छाउपडी, लैङ्गिक विभेद, विद्यालयमा हुने हिंसा तथा अन्य सामाजिक कुरीतिविरुद्धको अभियानलाई पनि निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्। स्थानीय तह, विद्यालय, अभिभावक र समुदायबीचको समन्वय तथा सहकार्यलाई अझ मजबुत बनाउन सके परियोजनाबाट प्राप्त उपलब्धिलाई दीर्घकालीन रूपमा संस्थागत गर्न सकिने उनीहरूको भनाइ छ ।
अनुगमन टोलीमा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष –यु एन एप्पीएका जी सुन पार्क, यु एन एप्पीएका निर्मला बडवाल र निशा भण्डारी, प्रदेश संयोजक जगदीश दास, वाक नेपालका कार्यक्रम व्यवस्थापक टेकबहादुर थापा, सेफ गल्स कार्यक्रमको संयोजक निराजन चौधरी, परियोजना प्रशासनिक तथा लेखा प्रमुख कीर्तिकुमार खड्का लगायतको सहभागिता रहेको फिल्ड अधिकृत गौरी भण्डारीले जानकारी दिनुभएको छ ।














प्रतिक्रिया