मंगलसेन नगरपालिका–८ सुतुडा टोलका ८६ घरधुरीमा ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत खानेपानीका पक्की धारा निर्माण गरिएको छ। वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका स्थानीयका लागि खोप्चे खानेपानी तथा सरसफाइ बहुउपयोगी योजना निर्माण भएपछि दैनिक जीवन सहज भएको छ ।
५० लाख २७ हजार रुपैयाँभन्दा बढीको लागतमा सम्पन्न योजनाअन्तर्गत सुतुडाका ८६ वटै घरमा खानेपानीका पक्की धारा निर्माण गर्नुका साथै भाँडा सुकाउने च्याङ र फोहोर व्यवस्थापनका लागि खाल्डासमेत निर्माण गरिएको छ ।
मंगलसेन नगरपालिका र हेल्भेटास नेपालको आर्थिक सहयोग तथा सेवक नेपालको प्राविधिक सहयोगमा योजना निर्माण गरिएको हो ।
योजना सम्पन्न भएपछि शनिबार वडा कार्यालयमा सामाजिक लेखापरीक्षण तथा पहिलो वार्षिक साधारणसभा कार्यक्रम आयोजना गरिएको थियो । उपभोक्ता समितिका अध्यक्ष भरतबहादुर बोहराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा योजनाको कुल लागत, निर्माणका क्रममा देखिएका समस्या तथा चुनौती र आगामी दिनमा गर्नुपर्ने कामबारे छलफल गरिएको थियो। स्थानीय उपभोक्ताले राखेका जिज्ञासाको सम्बन्धित क्षेत्रका प्रतिनिधिले जवाफ दिएका थिए ।
कार्यक्रममा सहभागी स्थानीय तथा सरोकारवालाले खानेपानीजस्तो आधारभूत आवश्यकता पूरा गर्ने योजना निर्माण हुनु महत्वपूर्ण उपलब्धि भएको भन्दै यसको दिगोपनाका लागि स्थानीय उपभोक्ताले अपनत्व लिनुपर्नेमा जोड दिएका थिए । स्थानीयले योजना निर्माणमा सहयोग गर्ने मंगलसेन नगरपालिका, हेल्भेटास नेपाल र सेवक नेपालप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका छन ्।
कार्यक्रमका प्रमुख वक्ता मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराले नगरपालिकाको ‘एक घर, एक धारा’ निर्माण गर्ने अवधारणाअनुसार वडा नं. ८ मा पनि योजना सञ्चालन गरिएको बताउँदै स्थानीयलाई यसको अधिकतम लाभ लिन आग्रह गर्नुभयो । खानेपानीको अभाव हुँदा नागरिकले दैनिक जीवनमा विभिन्न समस्या भोग्नुपरेको स्मरण गर्दै नगर प्रमुख बोहराले अब विगतका जस्ता खानेपानीका समस्या दोहोरिन नदिन योजना संरक्षण र व्यवस्थापनमा स्थानीय उपभोक्ताको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
“सरकारले जनताका लागि योजना निर्माण गरिदिने हो, त्यसलाई कस्तो बनाउने भन्ने कुरा स्थानीयकै हातमा हुन्छ,” उहाँले भन्नुभयो, “नगरपालिका र हेल्भेटास माइती हुन् भने स्थानीय उपभोक्ता पोइली हुन ्। योजनालाई राम्रो वा नराम्रो बनाउने जिम्मेवारी स्थानीय उपभोक्तामै निर्भर हुन्छ।”
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा बोल्दै वडा नं. ८ का अध्यक्ष ज्ञानेन्द्रबहादुर बोहराले खानेपानीजस्तो बहुउपयोगी योजना निर्माणमा सहयोग गर्ने नगरपालिका, हेल्भेटास नेपाल र सेवक नेपाललाई धन्यवाद दिनुभयो।
स्थानीय नागरिकको सक्रियता र निरन्तरको पहलबाट वडामा बृहत् खानेपानी योजना निर्माण गर्न सफल भएको बताउँदै उहाँले योजनालाई थप प्रभावकारी र दिगो बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । सुतुडाका सबै घरमा खानेपानीका धारा निर्माण भइसकेकाले अब स्थानीयले खानेपानीको सुविधालाई आयआर्जन र जीवनस्तर सुधारसँग जोड्नुपर्ने सुझाव पनि अध्यक्ष बोहराले दिनुभयो ।
नेकपा एमालेका पूर्व जिल्ला अध्यक्ष तथा समाजसेवी चन्द्रबहादुर बोहराले अन्य योजनाको तुलनामा खानेपानी योजना अझ महत्वपूर्ण रहेको बताउँदै यसको दिगोपनाका लागि स्थानीयले अपनत्व लिनुपर्नेमा जोड दिनुभयो। “पानी नै जीवन हो,” भन्दै उहाँले खानेपानीको उचित प्रयोग, संरक्षण र संवद्र्धनमा उपभोक्ता स्वयं अग्रसर हुनुपर्ने बताउनुभयो ।
स्थानीयले अपनत्व नलिँदा विभिन्न विकास योजनाहरू दिगो र प्रभावकारी बन्न नसकेका उदाहरण गाउँघरमै प्रशस्त रहेको उल्लेख गर्दै उहाँले योजनाको संरक्षणमा उपभोक्ता समिति र स्थानीय नागरिकलाई सक्रिय हुन आग्रह गर्नुभयो ।
वडा नं. ८ का पूर्वअध्यक्ष हिरण्डबहादुर बोहराले वडाको वर्षौंदेखिको खानेपानी समस्या समाधान भएकोमा खुसी व्यक्त गर्दै योजना निर्माणमा सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिनुभयो। नगरपालिका र हेल्भेटास नेपालको आर्थिक सहयोग तथा स्थानीय उपभोक्ता समिति र नागरिकको सक्रियताका कारण योजना समयमै सम्पन्न भएको उहाँको भनाइ थियो।
निर्माणका क्रममा देखिएका केही समस्या जिम्मेवार पक्षबीच छलफल गरी समाधान गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।
हेल्भेटास नेपालका क्षमता विकास विज्ञ निलकण्ठ पाण्डेले ‘एक घर, एक धारा’ अभियानअन्तर्गत वडा नं. ८ मा सञ्चालन गरिएको योजना सफल भएकोमा खुसी व्यक्त गर्नुभयो। खानेपानीको सहज पहुँचसँगै स्थानीयले यसको सदुपयोग गरी आफ्नो जीवनस्तर उकास्ने गतिविधिमा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । “योजना निर्माण गर्नु हाम्रो जिम्मेवारी हो, अब यसलाई दिगो बनाउने जिम्मेवारी स्थानीय उपभोक्ताको हो,” पाण्डेले भन्नुभयो ।
कार्यक्रममा हेल्भेटास नेपालका वास संयोजक चन्द्रप्रकाश केसी, सेवक नेपालका कार्यसमिति सचिव केशरबहादुर रावल, वडा सदस्य डम्बर बिष्ट, मैसरा कामी, पत्रकार टेकबहादुर थापा, समाजसेवी कालुसिंह बोहरा, मिनप्रसाद भण्डारीलगायतको सहभागिता रहेको थियो ।
वडा सदस्य टंका कुमारी बोहराको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन टंक बोहराले गर्नुभएको थियो ।

















प्रतिक्रिया