मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रवासी नेपाली संघ भारत रोहतक नगर समितिको १४औँ नगर अधिवेशन सम्पन्न

प्रवासी नेपाली संघ भारत रोहतक नगर समितिको १४औँ नगर अधिवेशन सम्पन्न


प्रवासी नेपाली संघ भारत, रोहतक नगर समितिको १४औँ नगर अधिवेशन सम्पन्न भएको छ। दिलिप गिरीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वउपाध्यक्ष ईश्वर पोखरेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रममा प्रमुख वक्ताका रूपमा बोल्दै नेता पोखरेलले प्रवासमा रहेर पनि नेकपा एमालेको संगठनलाई मजबुत बनाउन सक्रिय भूमिका निर्वाह गरिरहेका प्रवासी नेपाली संघ भारतमा आबद्ध सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले प्रवासमा बसेका नेपालीहरूले पार्टी र देशप्रतिको आफ्नो जिम्मेवारीलाई निरन्तरता दिँदै संगठन निर्माणमा पुर्‍याएको योगदान महत्वपूर्ण रहेको बताउनुभयो।

विविध कारणले यसपटकको निर्वाचनमा नेकपा एमालेले अपेक्षाकृत कम सिट प्राप्त गरे पनि निराश हुनुपर्ने अवस्था नरहेको बताउँदै नेता पोखरेलले पार्टीलाई थप मजबुत र जनमुखी बनाउन सबै नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई सक्रिय भएर लाग्न आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “निर्वाचनको परिणामलाई लिएर निराश हुनुभन्दा त्यसबाट शिक्षा लिएर पार्टी संगठनलाई अझ बलियो बनाउनुपर्छ। जनताको विश्वास पुनः आर्जन गर्न पार्टीका नेता तथा कार्यकर्ता इमानदारीपूर्वक जनतामाझ पुग्न आवश्यक छ।”

वर्तमान सरकारले नेपाली जनताको पक्षमा प्रभावकारी रूपमा काम गर्न नसकेको आरोप लगाउँदै नेता पोखरेलले सरकारको कार्यशैलीप्रति नेकपा एमाले विश्वस्त हुन नसकेको बताउनुभयो। उहाँले विदेशीको इशारामा सरकार चलेको आरोप लगाउँदै भन्नुभयो, “नेपालको राष्ट्रिय हित, स्वाधीनता र नेपाली जनताको हितलाई केन्द्रमा राखेर सरकार सञ्चालन हुनुपर्छ। तर वर्तमान सरकारको कार्यशैलीले नेपाली जनता र नेपालको हितलाई प्राथमिकतामा राखेको अनुभूति हुन सकेको छैन।”

प्रवासी नेपाली संघले पार्टीका नेता तथा कार्यकर्तामा उत्साह र हौसला प्रदान गर्ने महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै नेता पोखरेलले संघका तर्फबाट भइरहेका रचनात्मक तथा संगठनात्मक गतिविधिलाई निरन्तरता दिन आग्रह गर्नुभयो। प्रवासमा रहेका नेपालीहरूबीच आपसी एकता, सहकार्य र संगठनात्मक सक्रियता बढाउनुपर्नेमा समेत उहाँले जोड दिनुभयो।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य एवं भारत इन्चार्ज हरि घिमिरे, प्रवासी नेपाली संघ भारतका केन्द्रीय समिति उपाध्यक्ष सीता अधिकारी, पूर्वसांसद तथा एमाले नेता पिताम्बर भुसाल, केन्द्रीय समिति सचिवालय सदस्य एवं कार्यालय सचिव मोहन थापालगायतले मन्तव्य राख्नुभएको थियो। वक्ताहरूले पार्टीलाई थप बलियो बनाउन प्रवासबाट सकारात्मक र रचनात्मक गतिविधि भइरहेको उल्लेख गर्दै संगठनलाई अझ सशक्त बनाउन सबैलाई आग्रह गर्नुभयो।

सोही अवसरमा हरियाणामा कक्षा १० मा ९३ प्रतिशत अंक ल्याएर उत्तीर्ण हुने छात्रा ईशा विकलाई सम्मान गरिएको थियो। कार्यक्रममा जनवादी कलाकार जीवन शर्मालगायतले विभिन्न सांस्कृतिक झाँकी तथा प्रस्तुति प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रमको सञ्चालन सचिव राजेन्द्र शर्मा र पूर्वसचिव तारानाथ योगीले गर्नुभएको थियो। अधिवेशनमा प्रवासी नेपाली संघ भारतमा आबद्ध विभिन्न व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमबारे प्रवासी नेपाली संघ भारतका मिडिया प्रभारी एवं रोहतक नगर समिति सचिवालय सदस्य तथा प्रवक्ता होमबहादुर थापाले जानकारी दिनुभएको हो।