निर्वाचनमा महिलाको संवैधानिक तथा कानुनी अधिकार सुनिश्चित गर्न माग गर्दै अछामका अगुवा महिला अधिकारकर्मीहरूले जिल्ला निर्वाचन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।
अछामका १० वटै स्थानीय तहका अगुवा महिला अधिकारकर्मीको तर्फबाट बुझाइएको ज्ञापनपत्रमा संविधान, निर्वाचनसम्बन्धी ऐन, नियमावली तथा नीतिगत व्यवस्थाले सुनिश्चित गरेका महिलाको उम्मेदवारी र प्रतिनिधित्वसम्बन्धी प्रावधान पूर्ण रूपमा कार्यान्वयन गर्न माग गरिएको छ ।
राजनीतिक दलहरूबीच हुने गठबन्धन तथा चुनावी तालमेलका कारण महिलाहरू उम्मेदवारी दिने अवसरबाट वञ्चित हुनुपर्ने अवस्था सिर्जना भएकोप्रति ज्ञापनपत्रमा चिन्ता व्यक्त गरिएको छ। गठबन्धनका नाममा महिला उम्मेदवारलाई उम्मेदवारी दिनबाट रोक्ने, प्राथमिकतामा नराख्ने तथा महिलाले जित्न सक्ने निर्वाचन क्षेत्रसमेत अन्य दललाई छाड्ने अभ्यासले महिलाको राजनीतिक नेतृत्व विकास र प्रतिनिधित्व कमजोर बनाएको अधिकारकर्मीहरूको ठहर छ ।
महिलाको राजनीतिक सहभागिता कुनै दल वा गठबन्धनको कृपाको विषय नभई संविधान र कानुनले सुनिश्चित गरेको अधिकार भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ।
महिलाको समान र अर्थपूर्ण सहभागिताबाट मात्रै लोकतन्त्रको वास्तविक सुदृढीकरण सम्भव हुने भन्दै अधिकारकर्मीहरूले निर्वाचनसम्बन्धी कानुनी तथा नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक पहल गर्न निर्वाचन कार्यालयसँग आग्रह गरेका छन् ।
ज्ञापनपत्रमार्फत महिलालाई उम्मेदवारी दिनबाट वञ्चित गर्ने गठबन्धन तथा उम्मेदवारी बाँडफाँटको अभ्यास निरुत्साहित गर्न निर्वाचन आयोगबाट स्पष्ट निर्देशन जारी गर्न माग गरिएको छ। साथै, राजनीतिक दलहरूले उम्मेदवार छनोट गर्दा महिला, दलित महिला, सीमान्तकृत तथा पछाडि पारिएका समुदायका महिलालाई समान अवसर र प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ।
महिलाको निर्वाचन सहभागिता संख्यात्मक रूपमा मात्र नभई निर्णय प्रक्रिया, नेतृत्व र नीतिनिर्माण तहमा समेत अर्थपूर्ण हुनुपर्ने अधिकारकर्मीहरूको माग छ। त्यसका लागि महिला उम्मेदवारलाई प्रचारप्रसार, आर्थिक स्रोत, सुरक्षा तथा राजनीतिक दलभित्रको निर्णय प्रक्रियामा समान अवसर र सहयोग उपलब्ध गराउनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ।
महिलाको उम्मेदवारी तथा प्रतिनिधित्वसम्बन्धी कानुनी व्यवस्थाको पालना भए–नभएको नियमित अनुगमन गर्न र उल्लंघन गर्ने राजनीतिक दल वा सम्बन्धित पक्षलाई कानुनबमोजिम जवाफदेही बनाउन पनि निर्वाचन कार्यालयसँग आग्रह गरिएको छ।
त्यस्तै, महिलाको समान र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न राजनीतिक दल, स्थानीय तह, महिला सञ्जाल तथा अन्य सरोकारवालाबीच समन्वय गरी विशेष अभियान सञ्चालन गर्नुपर्ने मागसमेत ज्ञापनपत्रमा समेटिएको छ।
महिलाको राजनीतिक अधिकार सुनिश्चित गर्नु लोकतान्त्रिक व्यवस्थाको आधार भएको उल्लेख गर्दै अधिकारकर्मीहरूले निर्वाचनमा महिलाको सहभागिता र प्रतिनिधित्वलाई प्रभावकारी बनाउन सम्बन्धित सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन् ।















प्रतिक्रिया