मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस (देउवा पक्ष) को अछाम जिल्ला अधिवेशन आज

कांग्रेस (देउवा पक्ष) को अछाम जिल्ला अधिवेशन आज


नेपाली कांग्रेसको देउवा पक्षले अछाम जिल्लाको जिल्ला अधिवेशन मंसिर ११ गते आज शुक्रबार आयोजना गर्ने भएको छ ।

अधिवेशनको उद्घाटन सत्र मंगलसेनस्थित खुलामञ्चमा दिउँसो साढे १२ बजे सुरु हुने र त्यसका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको पार्टीले जनाएको छ ।

अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री एनपी साउदले गर्ने कार्यक्रम रहेको छ। उद्घाटन सत्र खुलामञ्चमा सम्पन्न भएपछि बन्द सत्रमार्फत नयाँ जिल्ला कार्यसमिति चयन गरिने बताइएको छ ।

अधिवेशनमा पार्टीका केन्द्रीय तथा प्रदेशस्तरीय नेताहरूको सहभागिता रहनेछ । उद्घाटन सत्रलाई सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री डा. रणबहादुर रावल, केन्द्रीय सदस्यहरू नृप वड, गोविन्दबहादुर शाह, मेघराज खड्कालगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर २ प्रदेश (ख) का संयोजक बसन्तराज भाटले अधिवेशनको उद्घाटन सत्रको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिनुभएको छ ।

उहाँका अनुसार पार्टीका अधिकांश नेता तथा कार्यकर्ताहरू मंगलसेन पुगिसकेका छन् भने केही कार्यकर्ता शुक्रबार बिहानसम्म आइपुग्नेछन ।

जिल्ला अधिवेशनबाट नयाँ जिल्ला कार्यसमिति चयन गरिने भएकाले अधिवेशनलाई पार्टीभित्रको संगठनात्मक नेतृत्व चयनका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ । अधिवेशनमा सहभागी प्रतिनिधिहरूले नयाँ नेतृत्व चयन गर्नेछन् ।

यसअघि नेपाली कांग्रेसले अछाम जिल्लाका ९१ वटै वडामा वडा अधिवेशन सम्पन्न गरी प्रतिनिधिहरू छनोट गरिसकेको छ । वडा तहका अधिवेशन सम्पन्न भएसँगै जिल्ला अधिवेशनको प्रक्रिया अघि बढेको हो ।

जिल्ला अधिवेशनले पार्टीको आगामी संगठनात्मक गतिविधिलाई थप प्रभावकारी बनाउने तथा जिल्लामा पार्टीको संगठन सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।