मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तीज प्रतियोगिताबाट बाढीपीडितका लागि सहयोग

तीज प्रतियोगिताबाट बाढीपीडितका लागि सहयोग


तुर्माखाँद (अछाम) — तुर्माखाँद गाउँपालिका–८ मा हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न भएको छ। वडा कार्यालयको आयोजनामा भएको कार्यक्रममा वडा सदस्य दुर्गा बोहराले अध्यक्षता गर्नुभएको थियो।
कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, कर्मचारी, स्थानीय बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। हरेक वर्षझैँ यस वर्ष पनि आयोजित तीज विशेष प्रतियोगितामा साविकका ९ वडामध्ये ६ वटा टोलीले सहभागिता जनाएका थिए।
प्रतियोगितामा साविक वडा नं. १ को टोली प्रथम, वडा नं. ६ को टोली द्वितीय र वडा नं. ४ को टोली तृतीय भएका छन्। प्रतियोगितामा साविक वडा नं. २, ३ र ७ का टोलीले पनि सहभागिता जनाएका थिए।
यस वर्षको तीज कार्यक्रम मनोरञ्जन र प्रतियोगितामा मात्र सीमित रहेन। प्रतियोगितामा सहभागी दिदीबहिनीहरूले खाजा खर्चबापत प्राप्त रकमबाट आफ्नो क्षमताअनुसार रु. १ हजार ५ सयदेखि रु. ६ हजारसम्म स्वेच्छिक सहयोग संकलन गरेका छन्। यसरी संकलित करिब रु. १७ हजार रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।
हालै रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको पीडामा थोरै भए पनि राहत पु¥याउने उद्देश्यले गरिएको उक्त सहयोगले तीज पर्वको सामाजिक तथा मानवीय पक्षलाई उजागर गरेको छ।
खुसी बाँड्ने पर्वका रूपमा मनाइने तीजलाई सामाजिक उत्तरदायित्व र मानवीय सेवासँग जोड्दै पीडितका लागि सहयोग गर्ने दिदीबहिनीहरूको प्रयासले सामाजिक एकता, सद्भाव र सहयोगको अनुकरणीय सन्देश दिएको  तपेन्द्र बिष्टले जानकारी दिनुभएको छ ।