मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१५ औँ महाधिवेशनको तयारी तीव्र पार्ने कांग्रेस अछामको निर्णय, बाढीपीडितलाई सहयोग गर्न सबैमा आह्वान

१५ औँ महाधिवेशनको तयारी तीव्र पार्ने कांग्रेस अछामको निर्णय, बाढीपीडितलाई सहयोग गर्न सबैमा आह्वान


अछाम । नेपाली कांग्रेस अछाम जिल्ला कार्यसमितिले हालै भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीप्रति दुःख व्यक्त गर्दै बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग गर्न पार्टीका नेता तथा कार्यकर्तासहित सम्पूर्ण नेपालीहरुमा आह्वान गरेको छ ।

जिल्ला कार्यसमितिको ३५ औँ बैठकले बाढीमा परी ज्यान गुमाएका सम्पूर्णप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै बाढीबाट घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिन सम्बन्धित सरोकारवाला निकायलाई आग्रह गरेको छ ।

नेपाली कांग्रेस अछामका सभापती पुष्प बहादुर शाहको सभापतित्वमा भएको बैठकले बाढीका कारण घरबारविहीन भएका नागरिकका लागि आवास व्यवस्थापन गर्न सरकार तथा सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय समेत बैठकले गरेको छ भने बाढीपीडितका लागि राहत कोषमा स्वेच्छिक रकम जम्मा गर्न आव्हान गर्नुका साथै प्राकृतिक विपत्तिको कठिन परिस्थितिमा राजनीतिक विचार, धार्मिक आस्था वा भौगोलिक सीमाको भेदभाव नगरी खोज, उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणका कार्यमा एकजुट हुन सम्पूर्ण नेपालीलाई आह्वान गरिएको छ ।

बैठकले पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई आ–आफ्नो स्थानबाट बाढीपीडितलाई सहयोग गर्न निर्देशन दिने निर्णय गरेको छ । वडा अधिवेशनका क्रममा वडा तहका क्रियाशील सदस्य, जनप्रतिनिधि तथा कांग्रेसका शुभेच्छुकहरूबाट बाढीपीडितका लागि स्वेच्छिक रकम संकलन गरी पार्टीको राहत कोषमा जम्मा गर्ने र पार्टीमार्फत प्रभावित क्षेत्रमा पठाउने निर्णय गरिएको छ ।

बैठकले पार्टीको १५औँ महाधिवेशनलाई लक्षित गर्दै वडा, पालिका, प्रदेश तथा निर्वाचन क्षेत्रस्तरमा अधिवेशनसम्बन्धी तयारी र जिम्मेवारी बाँडफाँड गर्ने लगायतका विभिन्न निर्णय पनि गरेको छ । २०८३ असोज ३ र ४ गते हुने वडा अधिवेशनमा उत्साह र सहभागिताका साथ सहभागी हुन नेपाली कांग्रेसका सम्पूर्ण क्रियाशील सदस्य, समर्थक तथा शुभेच्छुकहरू, देश तथा विदेशमा रहेका सबै तहका नेता, कार्यकर्तालाई सक्रिय सहभागिताका लागि आग्रह गरिएको छ ।

अछाम जिल्लाका ९१ वटा वडा, १० वटा पालिका, ४ वटा प्रदेश सभा निर्वाचन क्षेत्र तथा २ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रका सम्बन्धित समितिसँग समन्वय गरी वडा, पालिका, प्रदेश तथा क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने र क्षेत्रीय प्रतिनिधि छनोटका लागि आवश्यक जिम्मेवारीसहित प्रतिनिधि खटाउने निर्णयसमेत गरिएको छ ।

जिल्ला कार्यसमितिले अनलाइनबाट थप भएका सदस्यहरूको सदस्यता शुल्क तथा हालसम्म जनप्रतिनिधि र अन्य क्रियाशील सदस्यहरूबाट उठ्न बाँकी रहेको लेवी तथा सदस्यता शुल्क बुझाउन बाँकी रहेका सम्बन्धित व्यक्तिहरूलाई २०८३ असोज १ गते साँझ ५ बजेभित्र रकम जम्मा गर्न आग्रह गरिएको छ ।

निर्धारित समयभित्र लेवी रकम नबुझाएमा पार्टी केन्द्रको निर्देशनबमोजिम मनोनयन प्रक्रिया तथा जिल्लामा उम्मेदवारी र प्रतिनिधि छनोटसम्बन्धी प्रक्रियामा असर पर्ने विषयमा वडा, पालिका, प्रदेश तथा क्षेत्रीय समितिलाई जानकारी गराउने निर्णय गरिएको छ ।

बैठकले नेपालीहरूको महान् पर्व बडादशैँ, तिहार, छठ पर्व तथा नेपाल संवतको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले पार्टीको १५औँ महाधिवेशनलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्न का लागि क्षेत्रिय प्रतिनिधी छनोट लगायत समन्वयकारी भुमिका निर्वाह गर्न १० जना नेताहरुलाई जिममेवारी प्रदान गरेको छ ।

जसमा महासमिति सदस्य सुरत बहादुर बिष्ट, पदमराज अधिकारी, नृप साँउद, तपेन्द्र खड्का, कांग्रेस सुप प्रदेश सदस्य अनुराधा स्वाँर, पार्टी प्रवक्ता पदम बहादुर शाह, महाधिबेशन प्रतिनिधी नवराज चलाउने, राजेन्द्र कुवँर, जिल्ला सहसचिव दिनेश कुमार स्वाँर र द्धारिका उपाध्याय रहेका छन् ।

बैठकमा प्रतिनिधी सभा सदस्य तथा पूर्व पार्टी सभापती भरत कुमार स्वाँर, पूर्व सांसद राम बहादुर बिष्ट, प्रदेश सहमहामन्त्री अम्बिका चलाउने लगायतका नेता कार्यकर्ताहरुको सभागिता रहेको थियो ।