अछाम । नेपाली कांग्रेस अछामका सभापति पुष्पबहादुर शाहले नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भोलि असोज ३ गते देशभर एकसाथ हुने वडा अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक तथा शुभचिन्तकहरूलाई हार्दिक अपिल गर्नुभएको छ।
नेपाली कांग्रेस अछामका ९१ वटै वडामा भोलि एकैसाथ वडा अधिवेशन सञ्चालन हुन गइरहेको जानकारी गराउँदै सभापति शाहले अधिवेशनलाई सफल, मर्यादित, सौहार्दपूर्ण तथा लोकतान्त्रिक वातावरणमा सम्पन्न गर्न सबै पक्षको सक्रिय सहभागिताको आवश्यकता रहेको बताउनुभएको हो।
सभापति शाहले वडा अधिवेशन नेपाली कांग्रेसको १५औँ महाधिवेशनको पहिलो र महत्वपूर्ण चरण रहेको उल्लेख गर्दै पार्टीको संगठनलाई थप सुदृढ, गतिशील र एकताबद्ध बनाउन अधिवेशनमा सबै नेता तथा कार्यकर्ताहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभएको छ।
उहाँले वडा अधिवेशनलाई आपसी सद्भाव, सहकार्य, सम्मान र समझदारीका साथ सम्पन्न गर्न आग्रह गर्दै पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन सबैको सकारात्मक भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभएको छ।
“वडा अधिवेशन पार्टीको संगठन निर्माण र आन्तरिक लोकतन्त्रको महत्वपूर्ण आधार हो। यस अवसरमा नेपाली कांग्रेसका सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक तथा शुभचिन्तकहरूलाई सक्रिय सहभागिता जनाउँदै अधिवेशनलाई सफल बनाउन हार्दिक अपिल गर्दछु,” सभापति शाहको आग्रह छ।
भोलि असोज ३ गते देशभर एकसाथ सुरु हुने वडा अधिवेशनमार्फत नेपाली कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया अघि बढ्दैछ। यस अवसरमा अछामका सबै वडामा पार्टीका नेता तथा कार्यकर्ताहरूको उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको छ।














प्रतिक्रिया