पुजाकुमारी शाही/ अछामको ढकारी गाउँपालिकाले राष्ट्रिय शिक्षा दिवसको अवसरमा विद्यार्थीहरु बिच नृत्य प्रतियोगिता गराएको छ । विद्यार्थीहरुको प्रतिभा पहिचान गरी उनीहरुमा आत्मविश्वास बढाउन मावि स्तरका विद्यार्थीहरु बिच प्रतियोगिता गराइएको हो ।
यस्ता अवसरले विद्यार्थीहरुमा सिर्जनशीलताको विकास हुनुका साथै कला तथा संस्कृतिको संरक्षण र प्रवद्र्धन हुने भएकाले शिक्षा दिवसको अवसर पारी प्रतियोगिता गराइएको गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदले बताउनुभयो ।
शैक्षिक क्षेत्रको दीर्घकालीन सुधार र गुणस्तर वृद्धिका लागि ढकारी गाउँपालिकाले शिक्षा क्षेत्रमा सबैभन्दा बढी लगानी गर्दै आएको भन्दै अध्यक्ष साउदले विद्यालयको भौतिक पूर्वाधार, प्रविधिमैत्री शिक्षा, शिक्षकको क्षमता विकास, गुणस्तरीय शिक्षण सामग्री, प्राविधिक तथा व्यावसायिक शिक्षा, गरिब तथा विपन्न विद्यार्थीलाई सहयोग, बालमैत्री तथा समावेशी शिक्षा, स्वास्थ्य तथा पोषण र विद्यार्थीको प्रतिभा विकास संगै स्थानीय ज्ञान र संस्कृतिको संरक्षण गर्न बजेट परिचालन गर्ने गरिएको बताउनुभयो ।
राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित समारोहमा प्रमुख अतिथिका रुपमा बोल्दै अध्यक्ष साउदले यो संगै ढकारीले स्थानीय जेहन्दार विद्यार्थीलाई छात्रबृतिमा डाक्टर समेत पढाइरहेको बताउनुभयो । अध्यक्ष साउदले यो वर्षपनि शैक्षिक विकासका लागी प्रयाप्त बजेट व्यवस्था गरेको भन्दै आगामी दिनमा पनि गाउँपालिकाले शैक्षिक क्षेत्रको विकासका लागी अन्य क्षेत्रभन्दा बढी बजेट खर्च गर्ने विश्वास दिलाउनुभयो ।
प्रतियोगितामा गाउँपालिकाका ८ वटा माध्यामिक विद्यालयका विद्यार्थीहरुका समूहले भाग लिएका थिए । जसमा मनकामना मावि बलाताले प्रथम स्थान हासिल गरेको छ । त्यस्तै गुरुकुल मावि ढकारी द्वितिय, गौरीशंकर मावि जुतीताली तृतिय र ज्ञान मन्दिर मावि करुडले सान्त्वना स्थान हासील गरेको छ ।
उनीहरुलाई नगद सहित पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको छ । ढकारी गाउँपालिकाको शिक्षा शाखाका प्रमुख खडकराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति अछामका सदस्य द्वारिका प्रसाद उपाध्याय, निवर्तमान गाउँपालिका अध्यक्ष धनबहादुर बुढा र गाउँपालिकाका उपाध्यक्ष नेत्रकलादेवी शाही शिविष्ट अतिथिका रुपमा उपस्थित हुनु भएको थियो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नरेशबहादुर बोहरा सहित ८ वटै वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, पूर्व जनप्रतिनिधिहरु सहित पार्टी प्रतिनिधि समेतको उपस्थिति रहेको थियो । जसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति ताराप्रसाद भण्डारी, नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सदस्य लालबहादुर भण्डारी र नेपाल कम्युनिस्ट पार्टी माओवादीका एकेन्द्र विश्वकर्मा उपस्थित हुनुहुन्थ्यो ।
शिक्षक महासंघका जिल्ला उपाध्यक्ष बद्रीप्रसाद रिमाल, ज्ञान मन्दिर मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर थापा, कालिका मावि हिच्माका प्रधानाध्यापक बिशाखर देवकोटा, शिक्षक महासंघ ढकारीका अध्यक्ष शेरबहादुर बुड्थापा, बाल क्लब प्रतिनिधि भवानी भण्डारी लगायको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन ढकारी गाउँपालिकाका एम–एस–आई अपरेटर प्रकाश साउँदले गर्नु भएको थियो ।














प्रतिक्रिया