प्रदेशसभा ‘ख’ सभापतिमा युवा नेता कमल भण्डारीको उम्मेदवारी, संगठन सुदृढीकरणलाई प्राथमिक
नेपाली कांग्रेस अछामका युवा नेता कमल भण्डारीले क्षेत्र नं. २ अन्तर्गत प्रदेशसभा (ख) को सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारीको उद्देश्य र प्राथमिकताबारे धारणा सार्वजनिक गर्दै भण्डारीले पार्टीलाई थप एकताबद्ध, बलियो र चलायमान बनाउन आफूले सभापति पदमा उम्मेदवारी दिएको बताउनुभएको हो।
पार्टीको मूल नेतृत्वमा देखिएको पछिल्लो विवादको प्रभाव तल्लो तहको संगठनसम्म परेको भन्दै भण्डारीले यस्तो अवस्थामा पार्टी संगठनलाई थप सुदृढ र व्यवस्थित बनाउँदै अघि बढाउन आवश्यक रहेको बताउनुभएको छ। उहाँले कांग्रेसको संगठनलाई बलियो बनाउन आफूले प्रदेशसभा (ख) को नेतृत्वका लागि उम्मेदवारी अघि सारेको स्पष्ट पार्नुभएको छ।
भण्डारीले पार्टीभित्रको एकता, संगठनको सक्रियता र कार्यकर्ताको मनोबललाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। पार्टीको हितका लागि आवश्यक परेको जुनसुकै परिस्थितिको सामना गर्न आफू तयार रहेको उल्लेख गर्दै उहाँले अबको नेतृत्व युवापुस्ताले सम्हाल्नुपर्ने धारणा राख्नुभएको छ।
“पार्टीलाई थप एकताबद्ध र बलियो बनाएर लैजान आवश्यक छ। संगठनलाई चलायमान बनाउन युवाको भूमिका अझ प्रभावकारी हुनुपर्छ,” भण्डारीको भनाइ छ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्रतिनिधिका रूपमा सहभागी भइसक्नुभएका भण्डारीले यसअघि प्रदेशसभा (ख) को सचिवको जिम्मेवारीसमेत सम्हालिसक्नुभएको छ। नेपाल तरुण दल र नेपाल विद्यार्थी संघमा रहेरसमेत संगठनका विभिन्न जिम्मेवारी निर्वाह गर्नुभएका उहाँले ती जिम्मेवारी इमानदारी र प्रतिबद्धताका साथ पूरा गरेको बताउनुभएको छ।
सामाजिक क्षेत्रमा समेत सक्रिय युवाका रूपमा परिचित भण्डारीले पार्टी संगठनलाई जनस्तरसम्म थप प्रभावकारी बनाउँदै कांग्रेसलाई सुदृढ बनाउन आफ्नो उम्मेदवारी रहेको बताउनुभएको छ।
आफ्नो उम्मेदवारीलाई पार्टी र संगठनप्रतिको जिम्मेवारीका रूपमा लिन आग्रह गर्दै भण्डारीले प्रदेशसभा (ख) का सम्पूर्ण प्रतिनिधिहरूसँग आफूलाई मतदान गरी सहयोग गर्न अपिल गर्नुभएको छ।
युवा पुस्तामाझ सक्रिय रहेका भण्डारीको उम्मेदवारीसँगै प्रदेशसभा (ख) को सभापति चयनलाई चासोका साथ हेरिएको छ।














प्रतिक्रिया