मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तुर्माखाँदका स्वास्थ्य संस्थाको वार्षिक समीक्षा सम्पन्न, रानीबन पहिलो

तुर्माखाँदका स्वास्थ्य संस्थाको वार्षिक समीक्षा सम्पन्न, रानीबन पहिलो


तुर्माखाँद गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरूको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । दुई दिनसम्म संचालन भएको समिक्षामा रानीबन स्वास्थ्यचौकी प्रथम भएको छ ।

वार्षिक समीक्षा कार्यक्रममा गरिएको मूल्याङ्कनमा रानीबन स्वास्थ्यचौकीले ७०.५ अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो । त्यस्तै, ७०.२ अंक प्राप्त गर्दै भैरवस्थान स्वास्थ्यचौकी दोस्रो र ६९.५ अंकसहित धमाली स्वास्थ्यचौकी तेस्रो भएका छन् ।

स्वास्थ्य संस्थाहरूले वर्षभरि सम्पादन गरेका काम तथा निर्धारित सूचकमा हासिल गरेको प्रगतिका आधारमा मूल्याङ्कन गरिएको स्वास्थ्य शाखा प्रमुख यकेन्द्रबहादुर बयकले जानकारी दिनुभयो। वार्षिक समीक्षा कार्यक्रमको समापन अवसरमा उत्कृष्ट स्थान हासिल गर्ने तीनवटै स्वास्थ्य संस्थाका प्रमुख तथा सम्बन्धित वडा अध्यक्षलाई सम्मान गरिएको थियो ।

वार्षिक समीक्षामार्फत स्वास्थ्य संस्थाहरूको कार्यसम्पादन, सेवा प्रवाह तथा निर्धारित सूचकको प्रगतिको अवस्थाबारे समीक्षा गरिएको थियो।

यसले आगामी दिनमा स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी र गुणस्तरीय बनाउन आवश्यक सुधारका क्षेत्र पहिचान गर्न आधार तयार गर्ने अपेक्षा गरिएको छ । सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर ५ का अध्यक्ष महेन्द्र शाहीको अध्यक्षतामा भएको समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष डम्बर बिसी प्रमुख अतिथि रहनुभएको थियो ।

समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष बिसीले स्वास्थ्य क्षेत्रमा अहोरात्र खटिएर नागरिकलाई सेवा प्रदान गर्ने सबै स्वास्थ्यकर्मीलाई धन्यवाद दिनुभयो। उहाँले आगामी दिनमा अझ बढी मेहनत र समर्पणका साथ काम गर्न स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो ।

कर्मचारीलाई थप सेवा–सुविधा उपलब्ध गराउने इच्छा हुँदाहुँदै पनि स्रोत–साधनको अभावका कारण अपेक्षाअनुसार कर्मचारीको मन जित्न नसकिएको अध्यक्ष बिसीले बताउनुभयो। भौगोलिक विकटता र सीमित स्रोत–साधनका बाबजुद स्वास्थ्यकर्मीहरूले राम्रो काम गरिरहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा अझ प्रभावकारी रूपमा सेवा प्रवाह गर्न सुझाव दिनुभयो ।

गाउँपालिका उपाध्यक्ष विमला कुमारी शाहीले स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको अथक प्रयासका कारण तुर्माखाँद गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार भएको बताउनुभयो। अझै केही चुनौती विद्यमान रहेकाले तिनको सामना गर्दै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न प्रतिबद्ध भएर लाग्न उहाँले स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो ।

समापन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देव चौधरी, जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख सीमा थापा, वरिष्ठ जनस्वास्थ्य अधिकृत झपटराज ढुंगानालगायत विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।