मंगलसेन नगरपालिका–५ मा कुपोषित बालबालिकाको पहिचान गरी उनीहरूका अभिभावकलाई लक्षित गर्दै सञ्चालन गरिएको १५ दिने पोषण शिक्षा तथा घरभेट कार्यक्रम सम्पन्न भएको छ ।
कुपोषित बालबालिकाको स्वास्थ्य तथा पोषण अवस्थामा सुधार ल्याउने उद्देश्यले भदौ २७ गतेदेखि सञ्चालन गरिएको कार्यक्रम शनिबार सम्पन्न भएको हो ।
वाक नेपालको ‘समुन्नत पोषणका लागि समावेशी सुशासन परियोजना’अन्तर्गत बेटर न्युट्रेशन कार्यक्रममार्फत वडाका आठ जना कुपोषित बालबालिकालाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको थियो।
कार्यक्रममा बालबालिका तथा अभिभावकलाई सन्तुलित आहार, बालबालिकाको उचित हेरचाह, सरसफाइ तथा स्वस्थ जीवनशैलीका विषयमा व्यवहारिक ज्ञान प्रदान गरिएको कार्यक्रमका सहजकर्ता भोजराज ढुंगानाले जानकारी दिनुभयो ।
१५ दिनसम्म सञ्चालन भएको कार्यक्रममा स्थानीयस्तरमै उपलब्ध पोषणयुक्त खाद्यान्न, तरकारी, फलफूल तथा पशुजन्य खाद्य पदार्थको उचित प्रयोग, बालबालिकाको पोषण सुधारका लागि आवश्यक व्यवहार परिवर्तन र सरसफाइका विषयमा अभिभावकलाई प्रशिक्षण दिइएको थियो।
साथै, घरभेटमार्फत अभिभावकले सिकेका विषयलाई व्यवहारमा उतारे–नउतारेको अनुगमन गर्दै आवश्यक परामर्शसमेत प्रदान गरिएको थियो । कार्यक्रमपछि लक्षित बालबालिकाको पोषण अवस्थामा सुधार देखिएको आयोजकले जनाएको छ।
सहभागी अभिभावकहरूले आफ्नै घर तथा करेसाबारीमा उत्पादन हुने पोषणयुक्त खाद्यवस्तुको उचित प्रयोगबारे पर्याप्त जानकारी नहुँदा बालबालिकालाई आवश्यक पोषण दिन नसकेको बताएका थिए। कार्यक्रमबाट खानपान, सरसफाइ र बालबालिकाको हेरचाहसम्बन्धी नयाँ ज्ञान प्राप्त भएको उनीहरूको भनाइ थियो ।
कार्यक्रममा सहभागी कुपोषित बालबालिकाकी आमा लक्ष्मी जैशीले १५ दिनको कार्यक्रम आफ्ना लागि निकै महत्वपूर्ण बनेको बताउनुभयो । “हाम्रै घरमा उपलब्ध खानेकुरा पनि मिलाएर खान नजान्दा बच्चा कुपोषित भएको रहेछ।
अहिले खानाको छनोट र व्यवस्थापनबारे धेरै कुरा सिकेकी छु,” उहाँले भन्नुभयो, “तालिममा सिकेका कुरालाई अब घरमै व्यवहारमा लागू गर्छु। १५ दिनमै बच्चाको अवस्थामा पनि सुधार देखिएको छ ।
समापन कार्यक्रममा बोल्दै मंगलसेन नगरपालिका–५ का वडा अध्यक्ष झंकरप्रसाद भाटले पोषण बालबालिकाको शारीरिक, मानसिक तथा समग्र विकासको आधार भएकाले कार्यक्रमलाई प्रभावकारी बनाउन वडा कार्यालयले आवश्यक स्रोत–साधन र सहकार्यलाई निरन्तरता दिने बताउनुभयो ।
“वडामा अझै पनि कुपोषित बालबालिका छन्। कुनै पनि बालबालिका कुपोषित रहन नपरोस् भन्ने उद्देश्यले वाक नेपालसँगको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो,” अध्यक्ष भाटले भन्नुभयो, “कार्यक्रमको प्रभाव सकारात्मक देखिएकाले आगामी दिनमा यसको पहुँच र प्रभावकारिता थप विस्तार गर्न वडा कार्यालय प्रतिबद्ध छ ।
मंगलसेन नगरपालिका स्वास्थ्य शाखा प्रमुख भूमिनन्द ढुंगानाले नगर क्षेत्रमा कुपोषित बालबालिकाको अवस्था सुधार गर्न स्वास्थ्य शाखाले प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो। उहाँले कुपोषित बालबालिकाको पहिचान, नियमित अनुगमन र परिवारमा पोषणसम्बन्धी व्यवहार परिवर्तनलाई जोड दिनुपर्ने बताउनुभयो ।
“मंगलसेन नगरपालिकामा कुपोषित बालबालिकाको संख्या अझै उल्लेख्य छ । उनीहरूको पोषण अवस्था सुधार गर्न स्वास्थ्यकर्मीहरू निरन्तर लागिरहेका छन्,” उहाँले भन्नुभयो, “कुपोषित बालबालिकाको समयमै पहिचान गरी आवश्यक सेवा र परामर्श उपलब्ध गराउन आगामी दिनमा थप कार्यक्रम सञ्चालन गरिनेछ। यसका लागि स्वास्थ्यकर्मी पनि अझ चनाखो हुन आवश्यक छ ।
डब्लुएचएचका प्राविधिक संयोजक रमेश जोशीले बजारबाट खरिद गरिएका खाद्यवस्तु मात्रै पोषणयुक्त हुन्छन् भन्ने सोच त्याग्न अभिभावकलाई आग्रह गर्नुभयो । उहाँले स्थानीयस्तरमै उत्पादन हुने विभिन्न खाद्यवस्तुलाई सन्तुलित रूपमा प्रयोग गर्न सके परिवारको पोषण अवस्थामा सुधार ल्याउन सकिने बताउनुभयो ।
“पोषणका लागि महँगा खाद्यवस्तु नै आवश्यक हुन्छन् भन्ने होइन। आफ्नै घर–आँगनमा उत्पादन हुने अन्न, तरकारी, फलफूल तथा पशुजन्य खाद्यवस्तुको विविध र सन्तुलित प्रयोग महत्वपूर्ण हुन्छ,” जोशीले भन्नुभयो, “बालबालिकाको पोषण सुधारमा आमाको भूमिका महत्वपूर्ण भए पनि त्यसका लागि परिवारका सबै सदस्यको सहयोग र साझा जिम्मेवारी आवश्यक हुन्छ ।
वाक नेपालका कार्यक्रम व्यवस्थापक टेकबहादुर थापाले कार्यक्रमको उद्देश्य बालबालिकाको कुपोषण अवस्था सुधार गर्नुका साथै अभिभावकलाई पोषणसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्नु रहेको बताउनुभयो । “हाम्रै घरवरिपरि उपलब्ध पोषणयुक्त खानेकुरा कसरी मिलाएर खुवाउने भन्ने ज्ञानको अभावले पनि बालबालिकामा कुपोषणको समस्या देखिने गरेको छ,” थापाले भन्नुभयो, “अभिभावकले बालबालिकाका लागि धेरै गर्ने प्रयास गरे पनि समय व्यवस्थापन र सही तरिका नहुँदा अपेक्षित परिणाम नआउन सक्छ।
त्यसैले पोषणसम्बन्धी ज्ञानलाई व्यवहारमा उतार्नु आवश्यक छ । कार्यक्रमका जिल्ला संयोजक कविता सुवेदीले पोषण शिक्षा कार्यक्रममा सहभागी अभिभावक, विशेषगरी महिलाहरूमा आएको सकारात्मक परिवर्तन उत्साहजनक रहेको बताउनुभयो।
उहाँले सहभागीहरूले कुपोषण रोकथाम, सन्तुलित आहार तथा बालबालिकाको उचित हेरचाहबारे व्यवहारिक ज्ञान हासिल गरेको बताउँदै सिकेका कुरालाई दैनिक जीवनमा निरन्तर लागू गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा वडा सदस्य सुरत कामी, प्रेमबहादुर जानाला, सिनियर अनमी ज्ञानु माझी, अनमी इन्दु केसी, सहरी स्वास्थ्य क्लिनिकका कर्मचारीलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन पोषण सहजकर्ता रमिता विकले गर्नुभएको थियो ।














प्रतिक्रिया