सामाजिक कुरीति अन्त्यका लागि साथी शिक्षकलाई तीनदिने प्रशिक्षण
समाजमा विद्यमान बालविवाह, छुवाछुत, महिनावारी विभेदलगायत सामाजिक कुरीति अन्त्यका लागि समुदायस्तरमा क्रियाशील साथी शिक्षकहरूको तीनदिने प्रशिक्षण कार्यक्रम अछामको साफेबगरमा सम्पन्न भएको छ।
अछामको पञ्चदेवल विनायक नगरपालिका र बाजुराको त्रिवेणी नगरपालिकाबाट छनोट भएका साथी शिक्षकहरूका लागि सामुदायिक विकास केन्द्र डोटीको आयोजना तथा दुवै स्थानीय तहको समन्वयमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो।
प्रशिक्षणका क्रममा स्थानीयस्तरमा विद्यमान सामाजिक कुरीति तथा विभेदको अन्त्य गर्न साथी शिक्षकहरूले खेल्नुपर्ने भूमिका, समुदायमा आफ्ना विषय प्रभावकारी रूपमा प्रस्तुत गर्ने शैली र सरोकारवालासँग समन्वय तथा सहकार्य गर्ने उपायबारे छलफल गरिएको थियो।
कार्यक्रममा सहभागी साथी शिक्षकहरूले प्रशिक्षण आफ्ना लागि निकै उपयोगी भएको बताउँदै आगामी दिनमा आ–आफ्नो पालिकामा फर्किएर बालविवाह, छुवाछुत, महिनावारी विभेद, स्वास्थ्य अधिकार तथा समावेशी सहभागिताका सवालमा वकालत र पैरवी गर्ने प्रतिबद्धता जनाएका छन्। प्रशिक्षणले आफ्नो नेतृत्व क्षमता र व्यक्तित्व विकासमा समेत सहयोग पुगेको उनीहरूको भनाइ छ।
प्रशिक्षणमा अछाम र बाजुराका गरी आठ जना साथी शिक्षकको सहभागिता रहेको थियो। परियोजना संयोजक कमला बिष्टका अनुसार जर्मनीको सङ्घीय आर्थिक सहयोग तथा विकास मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालित परियोजनाअन्तर्गत कार्यक्रम आयोजना गरिएको हो।
प्रशिक्षणको सहजीकरण योगेशबहादुर मल्लले गर्नुभएको थियो।
सामुदायिक विकास केन्द्र डोटीले पञ्चदेवल विनायक र त्रिवेणी नगरपालिकामा बालविवाह, महिनावारी विभेद, सामाजिक कुरीति तथा पछाडि पारिएका समुदायका सवालमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ।














प्रतिक्रिया