मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विद्यालयलाई नमुना बनाउने लक्ष्यसहित षोडशादेवी माविको पाँचवर्षीय शैक्षिक कार्ययोजना सार्वजनिक

विद्यालयलाई नमुना बनाउने लक्ष्यसहित षोडशादेवी माविको पाँचवर्षीय शैक्षिक कार्ययोजना सार्वजनिक


अछामको सदरमुकाम मंगलसेनमा अवस्थित षोडशादेवी माध्यमिक विद्यालयले विद्यालयको शैक्षिक, भौतिक तथा संस्थागत विकासलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यसहित पाँचवर्षीय शैक्षिक कार्ययोजना सार्वजनिक गरेको छ। शनिबार मंगलसेनमा बृहत् शैक्षिक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै विद्यालयले आगामी पाँच वर्षभित्र विद्यालयलाई नमुना शैक्षिक संस्थाका रूपमा स्थापित गर्ने लक्ष्यसहित तयार पारिएको कार्ययोजना सार्वजनिक गरेको हो

विद्यालयको समग्र शैक्षिक अवस्था, उपलब्ध सम्भावना, विद्यमान चुनौती, सुधारका क्षेत्र तथा आगामी दिनमा अवलम्बन गर्नुपर्ने प्राथमिकताका विषयलाई समेटेर तयार पारिएको कार्ययोजनामा शैक्षिक गुणस्तर अभिवृद्धि, संस्थागत सुशासन, आर्थिक पारदर्शिता, भौतिक पूर्वाधार विकास र शिक्षण सिकाइ प्रक्रियामा सुधारलगायतका विषयलाई विशेष प्राथमिकता दिइएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झंकरप्रसाद भाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक सर्पराज रिमालले पाँचवर्षीय शैक्षिक कार्ययोजना प्रस्तुत गर्दै यसको प्रभावकारी कार्यान्वयनका लागि सम्पूर्ण सरोकारवालासँग सहयोग, सहकार्य र रचनात्मक सुझावको अपेक्षा गर्नुभयो।

प्रधानाध्यापक रिमालले विद्यालयको नेतृत्व सम्हाल्दै गर्दा विद्यालयको शैक्षिक तथा संस्थागत अवस्था सुधार गर्ने दृढ संकल्प र केही सकारात्मक परिवर्तन गरेर देखाउने हुटहुटी आफूमा रहेको बताउनुभयो। विद्यालयको विकास र सुधारबाहेक आफ्नो कुनै स्वार्थ तथा गलत नियत नरहेको स्पष्ट पार्दै उहाँले विद्यालयलाई व्यवस्थित, गुणस्तरीय र सबैको विश्वास जित्न सक्ने शैक्षिक संस्थाका रूपमा स्थापित गर्नु नै आफ्नो एकमात्र उद्देश्य रहेको उल्लेख गर्नुभयो।

विगतमा विद्यालयभित्र भएका कमी–कमजोरी तथा त्रुटिहरूलाई आत्मसमीक्षा गर्दै सुधारको बाटोमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै प्रधानाध्यापक रिमालले सरोकारवालाबाट प्राप्त हुने रचनात्मक सुझाव, सल्लाह र सहयोगलाई विद्यालय रूपान्तरणको महत्त्वपूर्ण आधार बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, ूहाम्रो साझा उद्देश्य विद्यालय बनाउने हो। यसका लागि सबैले व्यक्तिगत आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर संस्थाको हितलाई केन्द्रमा राख्न आवश्यक छ।ू

विद्यालयले अघि सारेको योजनालाई कागजमा मात्र सीमित नराखी व्यवहारमै कार्यान्वयन गर्न सबै पक्षको समान जिम्मेवारी रहने उहाँको भनाइ थियो। साथै, विद्यालय अहिले आर्थिक चुनौतीबाट समेत गुज्रिरहेकाले विद्यमान आर्थिक संकट व्यवस्थापन र प्रस्तावित योजना कार्यान्वयनका लागि स्थानीय सरकार, अभिभावक, पूर्वविद्यार्थी तथा अन्य सरोकारवालाको आवश्यक सहयोग र सहकार्य अपरिहार्य रहेको उहाँले बताउनुभयो।

कार्यक्रममा मन्तव्य राख्दै मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराले षोडशादेवी माध्यमिक विद्यालयले प्रस्तुत गरेको पाँचवर्षीय शैक्षिक कार्ययोजनाको सफल कार्यान्वयनका लागि नगरपालिकाको तर्फबाट आवश्यक सकारात्मक सहयोग र सहजीकरण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

विद्यालयले वर्तमान शैक्षिक आवश्यकतालाई गम्भीरतापूर्वक विश्लेषण गर्दै दीर्घकालीन सोचसहित कार्ययोजना ल्याउनु आफैँमा सकारात्मक र प्रशंसनीय प्रयास भएको उल्लेख गर्दै नगरप्रमुख बोहराले अब यसको प्रभावकारी कार्यान्वयन गर्ने दायित्व सबै सरोकारवालाको काँधमा आएको बताउनुभयो। उहाँले भन्नुभयो, ूयोजना निर्माण गर्नु महत्त्वपूर्ण पक्ष हो, तर त्यसको वास्तविक उपलब्धि कार्यान्वयनबाट मात्र प्राप्त हुन्छ। त्यसैले विद्यालयले अघि सारेका लक्ष्यलाई व्यवहारमा रूपान्तरण गर्न सबै पक्ष जिम्मेवार र प्रतिबद्ध भएर लाग्नुपर्छ।

पछिल्लो समय विद्यालयमा सुरु भएका सकारात्मक अभ्यास र सुधारका प्रयासलाई निरन्तरता दिँदै संस्थागत विकासको स्पष्ट मार्गचित्रका साथ अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो। आफू विगतमा विद्यालय व्यवस्थापनको नेतृत्वमा रहँदा भएका काम र अनुभव स्मरण गर्दै नगरप्रमुख बोहराले इच्छाशक्ति, दूरदृष्टि र जिम्मेवार नेतृत्व भए सीमित स्रोतसाधनबाट समेत उल्लेखनीय उपलब्धि हासिल गर्न सकिने धारणा राख्नुभयो।

विद्यालयमा उपलब्ध स्रोतसाधनको मितव्ययी, पारदर्शी र प्रभावकारी उपयोग गर्न सके आर्थिक संकटसमेत न्यूनीकरण गर्न सकिने उहाँको भनाइ थियो। विगतमा विद्यालयमा अनियमितता भएको भन्ने विषय उठेकाले त्यसको निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले संस्थागत सुशासन र आर्थिक जवाफदेहितालाई विद्यालय सुधारको अनिवार्य आधार बनाउनुपर्ने बताउनुभयो।

मंगलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद ढुंगानाले नगरपालिकाले समग्र शैक्षिक क्षेत्रको गुणस्तर सुधारका लागि योजनाबद्ध रूपमा विभिन्न पहल अघि बढाइरहेको बताउनुभयो। पछिल्लो समय केही सामुदायिक विद्यालयमा सुधारका सकारात्मक संकेत देखिन थालेको उल्लेख गर्दै उहाँले अब विद्यालयहरूको कार्यसम्पादन, व्यवस्थापकीय क्षमता र नतिजाका आधारमा वस्तुनिष्ठ मूल्याङ्कन तथा पहिचान गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो।

उहाँले विद्यालय सुधारका लागि आर्थिक स्रोतसाधन मात्र पर्याप्त नहुने भन्दै त्यसको प्रभावकारी परिचालनसँगै नेतृत्वको इच्छाशक्ति, शिक्षकको जिम्मेवारीबोध र व्यवस्थापनको जवाफदेहिता महत्त्वपूर्ण हुने धारणा राख्नुभयो। ूहामी सबैमा इच्छाशक्ति, जिम्मेवारीबोध र आफ्नो कामप्रतिको इमानदारी हुने हो भने उपलब्ध स्रोतसाधनबाटै उल्लेखनीय नतिजा हासिल गर्न सकिन्छ। तर अधिकांश अवस्थामा स्रोतको अभावभन्दा पनि त्यसको प्रभावकारी उपयोग र जिम्मेवारी निर्वाहमा कमजोरी देखिने गरेको छ, उहाँले भन्नुभयो।

सार्वजनिक शिक्षाको गुणस्तर सुधार गर्न जिम्मेवार पदमा रहेका प्रत्येक व्यक्तिले आफ्नो कार्यक्षेत्र र जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिँदै प्रमुख प्रशासकीय अधिकृत ढुंगानाले विद्यालयको शैक्षिक उपलब्धि सुधारका लागि नतिजामुखी कार्यसम्पादन संस्कृतिको विकास गर्नुपर्ने बताउनुभयो।

सामाजिक विकास कार्यालय अछामका प्रमुख डम्बरबहादुर रावलले षोडशादेवी माध्यमिक विद्यालय अछाम जिल्लाको शैक्षिक इतिहास, सामाजिक पहिचान र गौरवसँग जोडिएको महत्त्वपूर्ण शैक्षिक संस्था भएको बताउनुभयो। यस विद्यालयको विकास र शैक्षिक गुणस्तर अभिवृद्धि गर्न सक्नु समग्र जिल्लाकै शैक्षिक प्रतिष्ठा र पहिचानसँग जोडिने उहाँको भनाइ थियो।

विद्यालयमा सुधार गर्नुपर्ने विभिन्न पक्ष अझै बाँकी रहेकाले त्यसको पहिचान गरी योजनाबद्ध ढंगले समाधान खोज्नुपर्ने सुझाव दिँदै प्रमुख रावलले शैक्षिक गुणस्तर, व्यवस्थापकीय क्षमता, शिक्षकको कार्यसम्पादन र संस्थागत अनुशासनलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताउनुभयो। उहाँले विद्यालयको समग्र विकासका लागि सम्बन्धित निकायबीच प्रभावकारी समन्वय, सहकार्य र साझा प्रतिबद्धता आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा धारणा राख्ने अधिकांश सरोकारवालाले विद्यालयले अभिभावक, शिक्षक तथा अन्य सरोकारवालालाई एउटै थलोमा उपस्थित गराएर विद्यालयको वर्तमान अवस्था र भावी योजनाबारे खुला छलफल गर्नु सकारात्मक र अनुकरणीय अभ्यास भएको बताएका थिए। विद्यालय सुधारका लागि योजना निर्माणसँगै नियमित संवाद, सार्वजनिक जवाफदेहिता र सरोकारवालाको अर्थपूर्ण सहभागिता आवश्यक रहेको उनीहरूको सुझाव थियो।

अन्तरक्रियामा सहभागी अभिभावकहरूले शिक्षकहरूले आफ्नो पेसाप्रति पूर्ण इमानदार र जिम्मेवार भएर शिक्षण सिकाइमा ध्यान दिनुपर्ने, विद्यालयको आर्थिक कारोबार पारदर्शी बनाउनुपर्ने तथा विद्यालय र अभिभावकबीचको सम्बन्धलाई थप सुमधुर बनाउन अभिभावक सचेतना र जागरणमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिएका थिए। उनीहरूले विद्यार्थीको सिकाइ उपलब्धिलाई केन्द्रमा राखेर विद्यालयको समग्र वातावरण सुधार गर्नुपर्नेमा समेत जोड दिएका थिए।

कार्यक्रममा मंगलसेन नगरपालिकाका पूर्वउपप्रमुख सरिता उपाध्याय, शिक्षा शाखा प्रमुख दीपक भण्डारी, अछाम बहुमुखी क्याम्पसका प्रमुख डा। ध्रुवकुमार शाही, स्थानीय अगुवा बमबहादुर स्वाँर, पत्रकार ध्रुव बिसी, शिक्षक तथा अभिभावक महेन्द्र बोगटी, ज्येष्ठ नागरिक कर्णबहादुर केसीलगायतले विद्यालयको शैक्षिक तथा संस्थागत विकासका लागि विभिन्न सुझावसहित आफ्ना धारणा राख्नुभएको थियो।

कार्यक्रमको सञ्चालन शिक्षक विश्वेश्वरप्रसाद ढुंगानाले गर्नुभएको थियो ।