मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्रकारका लागि राहत घोषणा गर्न युनियनको माग

पत्रकारका लागि राहत घोषणा गर्न युनियनको माग


काठमाडौं- नेपाल प्रेस युनियनले सञ्चारमाध्यम र सञ्चारकर्मीका लागि पनि विशेष राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेको छ।

कोरोना भाइरसको रोकथाम र नियन्त्रणबारे सजग भएर केही सञ्चारमाध्यम बन्द हुँदा श्रमजीवी पत्रकारलाई जीवन गुजारा गर्न कठिन भएको भन्दै युनियनले राहत प्याकेज घोषणाको माग गरेको हो।

भाइरसको सन्त्रासले गर्दा मिडिया क्षेत्रमा पनि ठूलो असर परेको भन्दै युनियनले न्यूनतम पारिश्रमिकमा काम गर्ने श्रमजीवी पत्रकारहरुको चुलोसमेत बल्न नसक्ने अवस्था उत्पन्न भएको जनाएको छ।

‘जीवनलाई नै जोखिममा राखेर नागरिकलाई सत्यतथ्य सूचना प्रवाह गर्न दिनरात नभनी सञ्चारकर्मी खटिएकाले उनीहरुको सुरक्षाका लागि आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउनुका साथै सहुलियत पुग्ने गरी तत्काल राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गर्दछौं’, युनियनका अध्यक्ष बद्री सिग्देलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।

अहिले बन्द भएका सञ्चारमाध्यमलाई माथि उकास्न कठिन हुने भन्दै युनियनले विशेष आर्थिक प्याकेज तयार गर्दै त्यसमा नवीकरण र कर छुटसमेत समावेश गर्न माग गरेको छ।

युनियनले महामारीको यस विषम परिस्थितिमा आफू सुरक्षित रहँदै सत्यतथ्य सूचना सम्प्रेषण गर्न सबै सञ्चारमाध्यमलाई अनुरोध गरेको छ।