मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘टेको’ को भरमा घर र सम्पदा

‘टेको’ को भरमा घर र सम्पदा

सुदूर आज

  • प्रकाश खड्का

वि.सं. २०७७ को वैशाख महिना।सारा विश्व कोरोना संक्रमणको चरमोत्कर्षमा रहँदा नेपाल २१ औँ शताब्दीको सबैभन्दा ठूलो राष्ट्रिय प्रयल अर्थात् भूकम्प प्रकोपको ५ वर्षीय स्मृतिमा छ। हजारौँ जन, हजारौँ सांस्कृतिक सम्पदा र अर्बौँआर्थिक क्षति भएको पीडाबाट देश उन्मुक्त भइसकेका छैन। अझै पनि प्रभावित क्षेत्रका हजारौँ मानिसहरु घरविहीन छन्, शहरभित्रका अग्ला पुराना घरहरु टेकोमा निर्भर छन् र सयौँ सांस्कृतिक सम्पदाहरु टेकोमा अड्याइएका छन्। यी ५ वर्षमा गाउँदेखि शहरसम्मको स्वरुप बदलिनगएको छ। यस लेखमा भूकम्पले प्रभाववित क्षेत्रमा देखापरेका सांस्कृतिक परिर्वनहरुबारे समसायिक दृष्टिगोचर गर्ने जमर्को गरिएको छ।

सारांशमा पुनर्निर्माणको अवस्था

राष्ट्रिय पुननिर्माण प्राधिकरणको वेभसाइट, वि.सं. २०७६ वैशाख १० मा उपलब्ध तथ्याङ्कअनुसार निजी आवासतर्फ ४ लाख ९४ हजार ४४ घरहरु निर्माण सम्पन्न भइसकेका छन् भने ६ लाख ८४ हजार १ सय ८९ हरु बन्दै गरेका छन्। सार्वजनिक विद्यालयतर्फ ७ हजार ५ सय ५३ पुनर्निर्माण गर्ने लक्ष्य राखिएकोमा ५ हजार ३ सय ८० पुनर्निर्माण सम्पन्न भइसकेका, १ हजार ७ सय ८७ निर्माणाधिनमा रहेका र ३ सय ८६ विद्यालयहरुको पुनर्निर्माण शुरु गर्न बाँकी छ। पुरातात्विक सम्पदाहरुतर्फ (मन्दिर, बिहार, चैत्य, गुम्बा, पाटी सत्तल आदि) कुल ८ सय ९१ को संख्यामा पुनर्निर्माण गर्ने लक्ष्य राखिएकोमा ३ सय ८७ पुनर्निर्माण सम्पन्न, १ सय २३ वटा र्निर्माणाधिन र ३ सय ८१ वटा पुनर्निमार्ण शुरु गर्न बाँकी रहेको अवस्थामा छन्। ८ सय ९१ संख्यामा पुननिर्माण गर्नुपर्ने पुरातात्विक सम्पदाहरु अति प्रभावित १४ जिल्लाका ७ सय ५३ र प्रभावित १७ जिल्लाका १ सय ३८रहेका छन्।

टेकोमा घर, टेकोमा सम्पदा

काठमाडौँ उपत्यकाभित्रका पुराना गल्ली, चोकमा टेकोको सहारामा जबरजस्ती अड्याइएका परम्परागत घरहरु के कति संख्यामा छन् भन्ने कुनै तथ्याङ्कहरु सावर्जनिक भएका छैनन्। पुराना चोक तथा गल्लीहरुमा रहेका अधिकांश घरहरु टेकोको भरमा थामिएका छन्। पुराना घरहरुमा इटा, ढुङ्गा, माटो, काठ, झिगँटी, वज्र जस्ता निर्माण सामग्री तथा परम्परागत प्रविधिको प्रयोग गरिएको पाइन्छ। पुराना घरहरुमा समयक्रम अनुसार सिमेन्ट र जस्तापाता आदिले कामचलाऊ मर्मत सम्भार समेत गरिएका छन्। धेरैजसो घरहरु एकअर्का घरको आडभरोसामा परनिर्भर छन्। शहरका अधिकांश घरहरु साघुँरो मोहडाका छन्। साघुँरा मोहडा र अस्वाभाविक अग्ला हुनुमा पारिवारीक अंशबण्डा, जग्गाको अभाव र शहरी गरिबी आदि कारणहरु रहेका छन्। टेकोको निर्भतामा थामिएका घरहरुमा आज कि भोलि हो भन्ने भूकम्पको भय राखी मानिसहरु बाँचिरहेका छन्। फेरि यिनै घरमा जिन्दगी नकाट्नुको विकल्प पनि छैन्।

शहरी क्षेत्रका पुराना गल्ली तथा चोकका साघुँरा तर अस्वभाविक अग्ला घरहरुसामान्य मर्मत सम्भार गरी टेकोमा नै आश्रित रहेका छन्। शहरी क्षेत्रका बासिन्दाहरुले आफ्नो घरको पुनर्निर्माण गर्न सरकारी अनुदान लिने आँटसमेत गर्न सकेका छैनन्। उनीहरुलाई राम्रोसँग थाहा छ घर भत्काइहाल्नु मात्रै पुनर्निर्माण होइन भन्ने। काठमाडौँ उपत्यका, हिमाली क्षेत्रसहित भूकम्प प्रभाववित जिल्लाका सांस्कृतिक सम्पदाहरु के–कति मात्रामा टेकोले थामिएका छन् यस कोणबाट समेत एकीन तथ्याङ्क प्रकाशित भएको छैन।जसरी एउटा परिवार साघुँरो गल्लीको टेकोमय साघुँरो घरभित्र बाँचिरहेको छ त्यसरी जीर्णोद्धार तथा पुनर्निर्माण हुन नसकेका सांस्कृतिक सम्पदाहरुमा नित्य परम्परा कायम रहँदै आएको छ। सांस्कृतिक सम्पदाहरुमा टेकोले आधार दिएको छ। धार्मिक प्रयोजन र पसलहरु सञ्चालित रहेको प्रतिनिधि तथ्यको रुपमा असनस्थित अन्नपूर्ण मन्दिरको सत्तल उपस्थित छ। सांस्कृतिक सम्पदाहरु टेकोमा आश्रित हुनुमा गुठियारको कमजोर भूमिका, प्राविधिक जनशक्ति र बजेटको अभाव, आदि कारणहरु रहेका छन्।

भूकम्पपछि निजी गुठीमा रहेका पाटी, सत्तलहरुबाट सम्बद्ध गुठीयारले हात झिक्दा धरैजसो पाटी/सत्तलहरु अत्यन्त जीर्ण बन्दै गएका छन्, केही भत्किने क्रममा छन् र कतिपय भत्किसकेका छन्। एउटा सामान्य नेपाली नागरिकले परिकल्पना गर्छ– टेको रहित घर होस्, टेको रहित सांस्कृतिक सम्पदा हुन् अनि टेको रहित देश होस्। यो अमूर्त परिकल्पना साकार हुनस्थानीय, प्रदेशीय, केन्द्रीयका योजनाकारहरु कति चिन्तनशील, चरित्रवान् र इमान्दार र वैज्ञानिक छन् त्यो कुरा समयान्तरसँगै छर्लङ्ग हुँदै जाला।

भूकम्पको समाजशास्त्र

वि.सं. २०७२ वैशाखको भूकम्पपछि उब्जाएको सबैभन्दा ठूलो सामाजिक सवाल थियो– कस्तो रहला ईश्वर र मानवबीच अन्तसम्बन्ध ? सबैजसो धर्मग्रन्थअनुसार ईश्वरले मानिसको सिर्जना गरेको मानिन्छ भने समाजशास्त्रमा मानिसले नै ईश्वर बनाएको भनिन्छ। महाविपत्तिका बेला मानिसहरुले गास, बास र कपासको जोहो गर्दागर्दै पुर्खाहरुले अहिलेसम्म जोगाइदिएको परम्परा, संस्कृतिलाई बिर्सने, मास्ने, नास्ने त होइन ? हुन त वि.सं. १९९० को महाभूकम्पको सामना गरी नागरिक दायित्वले, राष्ट्रिय सम्पत्तिले आफ्नो सांस्कृतिक मूल्य र मान्यतालाई पुनःस्थापित गरेका साक्षीहरु अहिले पनि जीवित छन्। यसपाली पनिहामीले घर बनाउँदै छौँ, सँगसँगै हाम्रा सांस्कृतिक सम्पदाहरु बनाउँदै छौँ। पूर्खाको नासो भोलिको पुस्तालाई जस्ताको तस्तै हस्तान्तरण गर्नुपर्छ भन्ने हाम्रो कानूनी मन्त्र (प्राचीन स्मारक संरक्षण ऐन २०१३) छ।महाविपत्तिमा टुट्नु र जुट्नु सामान्य मानिन्छ।

ईश्वरप्रति अनुग्रह भएका शैक्षिक डिग्रीधारी एउटा वक्ता भन्छन्, ‘हामी त बस्न घर बलियो (आधुनिक) बनाउँछ भने देवता बास गर्ने मन्दिर, बिहार, चैत्य, गुम्बाहरु किन बलियो (आधुनिक) नबनाउने ?’ उनको दरिद्र प्रश्नप्रतिसांस्कृतिक संरक्षणमा लागेको नेपाली नागरिकको चेत बोल्छ– ईश्वर समस्त प्राणी जगत्को रक्षाको लागि हुन् ईश्वरप्रतिहाम्रो अकाट्य आस्था छ, देवताको घर बनाउँदा हाम्रो पनि रक्षा हुन्छ र देवताको घरमा पनि हाम्रै रैथाने कला, पौरख, सीप, प्रविधि र सम्बृद्धि झल्किन्छ। यसबाट हामी मानव हुनुको अन्तर्य र हामी नेपाली हुनुको तात्पर्य दर्शिएको छ। आफ्नो बासका लागि घरलाई जति महत्व दिएका छन् त्यही अनुपातमा देवघरको पुनर्निर्माणमा समेत तदारुपता देखाएका छन्। ईश्वर र मानिसबीचाको अन्तरसम्बन्ध पुनःस्थापना कायम गर्न राज्यले ठूलो लगानी खर्चेको छ।यस बखत देवघर पुनर्निर्माण कार्यका लागि अन्तर्राष्ट्रिय सहयोग समेत अपरिहार्य रहेको छ।

पुनर्निर्माणमा मौलिकता– बारपाक र लाप्राकको दृटान्त

भुकम्पले क्षति पुर्‍याएका बारपाकका एक हजार तीन सय घरमध्ये करिब ८८ प्रतिशत घर बनिसकेका छन्। गाउँलेहरुलेघर निर्माण गरे पनि मौलिकता भने गुमाएको छ। ढुंगा र काठले छाएका यहाँका घर भुकम्पले भत्कायो। नयाँ बनेका घर आरसीसी प्रकृतिका छन्– सहरका जस्ता। सरकारले ३ लाखका दरले दिएको अनुदान रकम लिएर बारपाकीले घर बनाएका हुन् (‘भूकम्पछि मौलिकता गुमाएको बारपाक’, सेतोपाटी अनलाइन, निशा भण्डारी, वि.सं. २०७६।०१।१२)। गोरखाको बारपाक चार वर्षअघि गएको विनाशकारी भूकम्पका केन्द्रबिन्दु थियो। ध्वस्त भएको बारपाक अहिले तङ्ग्रिएको छ। गोरखाको उत्तरी भागमा रहेको बारपाकमा ११ सय घरधुरी भएको सुन्दर बस्ती थियो। यीमध्ये धेरै घरहरु चारवर्ष अघि गएको भूकम्पमा भत्किएका थिए। घर भत्किएपछि गाउँलेहरु पहिला पालको ओत र पछि अस्थायी टहरामा बसे। अहिले पक्की घरहरु बनिसकेका छन्, बारपाक फेरि तङ्ग्रिएको छ।

तर ठाउँठाउँमा भूकम्पको घाउ भने अझै बाँकी छन्। पुरानो बस्तीमा धेरै घरहरु आधुनिक शैलीमा बनेका छन्। परम्परागत घरहरुको स्थानमा सिमेन्टका पक्की घरहरु बनेका छन्। बारपाकको पुरानो रुप फेरिएको छ। त्यो देखेर बूढापाकाहरु भने त्यति खुसी देखिँदैनन्( ‘गोरखा भूकम्प जानुअघि, गएलगत्तै र चार वर्षपछिको बारपाक’, बी.बी.सी. न्यूज नेपाली अनलाइन, ई.सं.२०१९ एप्रिल२५)। भूकम्पको चार वर्षमा बारपाक खण्डहरबाट त विस्तारै उठेको छ तर आफ्नो पुरानो रुप पुरै गुमाएर। बदलिएको बारपाकमा ढुङ्गाले छाएका ढुङ्गामाटाले एकनासे घरहरु इतिहास बन्न पुगेको छ। त्यसको ठाउँ पर्यटकले मन नपराउने आरसीसी बनावट र टिनको छानाले लिएको छ। परम्परागत गुरुङ वास्तुशैली बिर्सेर ठूल्ठूला आरसीसी बिल्डिङ्ग बनेकोमा जितबहादुर घलेलाई पनि राम्रो लागेको छैन। ‘बारपाक अहिले न गाउँ न शहर भएको छ’ उनले भने, ‘पुरानो गुरुङ गाउँ हेर्न आउने पर्यटक अब आउँछन् जस्तो लाग्दैन’ (विकास मरहट्टा, ‘भूकम्पको इपिसेन्टर बारपाकः न गाउँ न शहर’, अन्नपूर्ण पोष्ट, वि.सं. २०७६ वैशाख ८)।

हामीकहाँ पर्यटन प्रवद्र्धन योजनाको अभियान कतिसम्म कमजोर हुन्छ भन्नलाई भूकम्पअघि र भूकम्पछिको गोरखा लाप्राकको पर्यटनमुखी सन्दर्भलाई यहाँ उठाउनु सान्दर्भिक सम्झेको छु। जस्तापाको छानाले पर्यटकीय गाउँ लाप्राकलाई कुरुप पारेको भन्दै गाउँलेको भेलाले अब उप्रान्त स्लेट नै चलाउने निर्णय गरेको खबर आएको छ। जस्तापाता फालेर स्लेट हाल्न फ्रान्सस्थित संस्था ‘लाप्राकको साथी’ ले सघाउने काम भएछ। स्थानीय खानी खोलाबाट स्लेट झिक्ने र ओसार्ने काम स्थानीयवासीको, छाऊन लाग्ने खर्च ‘लाप्राकको साथी’को क्याबात् ! सिंगो गाविसको ९ वटै वडा अटाएको करीब ५०० घरधुरीको लाप्राकको स्वरुप लोभलाग्दो र संरक्षण लायक छ। पर्यटन विकाससँगै लाप्राक धनी पनि बन्दैछ। यो गाउँले आधुनिकताको नाममा निम्तिएको कुरुपताबाट बेलैमा बच्ने पहल थालेको खबर वास्तुकलाका धनी अरु गाउँका लागि पनि प्रेरणादायी छ (मिलन बगाले, ‘छानोबाट संरक्षण’, हिमाल खबरपत्रिका, वि.सं. २०७१ कार्तिक १६–२२)। भूकम्प प्रकोपपछि पुनर्निर्माण कार्य अन्तर्गत एनआरएनले गुप्सी (लाप्राक) मा घडेरी तयार गरी ५ सय ५३ वटा घर बनाउँदै छ।

दुई कोठे एक तले घरको गारो स्थानीय स्तरमै बनाइएको इटाको छ। छानो जस्तापाताको। यस्तो घर बनाउन एनआरएनले प्रति घर २ लाख ५० हजार लगानी गर्दैछ (प्रशन्न पोखरेल, ‘कहिले सक्छ एनआरएनले लाप्राक पुनर्निर्माण ?’, वि.सं. २०७५ पुस २८)।रङ्गीविरङ्ग घरहरु, अल्पकालीन योजना, नयाँ सामग्री तथा प्रविधिको आत्मसाथ र नयाँ जीवनपद्धति गोरखाका उपर्युक्त बस्तीको मात्र विद्यमान अवस्था होइन। भूकम्प प्रभावित सबै क्षेत्रमा यो विकराल छ। मौलिकताको मूल्याङ्कन नगरिकन, छिटोभन्दाभन्दै सुरक्षित आवासको दिन गन्दागन्दै ५ वर्ष बितिसकेछ।

निर्दिष्ट लक्ष्य सापेक्ष चुनौती

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार भूकम्पबाट क्षतिग्रस्त ६ वटा सम्पदा बस्ती अध्ययनका लागि कूल १ करोड २० लाख र पुनर्निर्माणका लागि कूल ३० करोड रुपैयाँ बजेट विनियोजन भएको छ। प्राधिकरणका अनुसार काठमाडौँ उपत्यकाभित्रका खोकना, बुङमती, साँखुका परम्परागत बस्तीका स्मारक, पाटी, धारासहितका संरचना र उपत्यकाबाहिर नुवाकोट साततले दरबार स्क्वायर, गोरखा दरबार स्क्वायर, दोलखा बजार बस्तीका परम्परागत स्मारक, पाटी, धारासहितका पुर्वाधारको पुनर्निर्माणमा बजेट खर्च हुने छ। यसबाट मौलिक सम्पदाको संरक्षण मात्र हुने छैन आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धन भई जीविकोपार्जनमा पनि टेवा पुग्ने छ (‘सम्पदा बस्ती पुनर्निर्माण गर्न बजेट विनियोजन’, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण वेभसाइट, वि. सं.२०७५।११।२७)। यो निर्दिष्ट लक्ष्य प्राप्तितर्फ अग्रसर रहँदा काठमाडौँ उपत्यकाभित्र मौलिक तथा परम्परागत बस्तीहरु भूकम्पभन्दा बढी सडक विस्तार, दु्रतमार्ग निर्माण, खानेपानी, बाहिरी चक्रपथ निर्माण, अतिक्रण, ढलनिकास आदि समयसापेक्ष चुनौतीहरुको निशानामा छन्।

पछि फरक नपर्ने गरी सम्बद्ध स्थानीय जनसहभागितासहित सरोकारवालाहरु निकायहरुसँग अन्तरसमन्वय गर्ने, घरहरुमा खानेपानी, ढलनिकास, विद्युत, सञ्चार प्रविधिको उचित व्यवस्थापन गरी यातायातको साधनहरुको घनत्वरहित र प्रदूषणरहित वैज्ञानिकरण गर्न सके मात्र रैथाने बस्तीको दिगो संरक्षण हुन सक्दछ भन्ने जनजनलाई थाहा भएकै कुरा हो। सके सम्बृद्धिको आयाम थप्ने, नसके पुर्खाको नासोजस्ताको त्यस्तै हस्तान्तरण गर्ने सिद्धान्त वैभवशाली छ। यस वैभवशाली सिद्धान्तलाई शिरोधार्य हाम्रा पूर्वज्हरुले गर्दैआएका थिए। ‘विनाशकारी भूकम्पको केन्द्र बारपाक पुनर्निर्माणपछि खशी र दुःखको अनुभूति एकैसाथ भइरहेछ। बारपाकले संसद्मा प्रतिनिधित्व गर्ने अवसर दिएकोमा आभारी छु। तर यो नयाँ बारपाक र त्यो पुरानो बारपाक हेरौँ त ! घले/गुरुङ संस्कृति कायमै राखेर पनि त पक्की घर बनाउन सकिन्थ्यो हामी चुक्यौ !

सरी बारपाक (साभार : अन्नपूर्ण पोष्ट, वि.सं. २०७६ वैशाख ११)।’ हामी कहाँ चुक्यौँ? पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको प्रश्नको जवाफ इतिहास–प्रधान पत्रिका ‘पूूर्णिमा’का सम्पादक डा. महेशराजपन्तको शब्दमा पहिल्याउँदै मेरो सामान्य विचारलाई टुङ्गयाउन चाहन्छु– ‘नेपालमा गम्भीर अध्ययन गर्नेपट्टि कसैको प्रवृत्ति छैन। पछिल्लो उदाहरण नै भनौँ न, २०७२ मा भैँचालो आयो। भैँचालोको आधिकारिक अध्ययन गर्न भनेर यहाँ धेरै संस्था छन्। सरकारी भूकम्प मापन केन्द्र पनि छ। अरूअरू पनि छन्। आमोदमणि दीक्षितले विदेशबाट धेरै रुपैयाँ ल्याएर आफ्ना बाबुलाई सुद्धा कुनै बेला अनुवादक बनाएर राखेको संस्था पनि छ। तर नेपालको प्राचीनतम भैँचालो पत्ता लाउने काम कसैले गरेनन् वा गर्न सकेनन् वा गर्न चाहेनन्। सुन्दा आत्मरति जस्तो सुनिएला तर यो काम मैले नै गरेँ। नेपालमा विसं. १९९० भन्दा अगाडिसम्मको भैँचालोको फेहरिस्त मैले नै तयार पारेर छापेको छु। यहाँ कस्ता मान्छेहरू अधिकारमा बसेर ‘काम’ गरिरहेका छन, उदेकलाग्दो छ (महेशराज पन्त, ‘तीन सय वर्ष अघिको त्यो महामारी’अन्नपूर्ण पोष्ट, वि.सं. २०७६ चैत्र २२)।’ डा. पन्तको अभिष्ट भावप्रति ‘नतमस्तक’का अतिरिक्त सम्बोधन गर्ने मसँग शब्द छैनन्।