मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटा अस्पतालमा देखिएको आर्थिक समस्या प्रति ३ जिल्लाका जनप्रतिनिधी चाँसो देखाए

बयालपाटा अस्पतालमा देखिएको आर्थिक समस्या प्रति ३ जिल्लाका जनप्रतिनिधी चाँसो देखाए


‘समस्या समाधानको लागि मिलेर अघि बढ्ने प्रतिवद्धता’

गीता कुँवर, अछाम । न्याय हेल्थ नेपाल र नेपाल सरकारको साँझेदारीमा विगत १२ बर्ष देखि अछाम जिल्लामा निशुल्क गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको बयालपाटा अस्पतालमा आर्थिक समस्या देखिएपछि जनप्रतिनिधीले चाँसो देखाएका छन् ।

२०६४ सालदेखि अछाम जिल्लामा सामुदायिक स्वास्थ्य सेवा सहित सुदूरका पहाडी तथा कर्णालीका केहि जिल्लाका जनतालाई निसुल्क गुणस्तरीय सेवा दिदै आईरहेको बयालपाटा अस्पताललाई विदेशी गैरसरकारी संस्थाले दिदै आएको अनुदान हाल कम हुदैँ गएपछि आर्थिक समस्या भएको भन्दै अछाम सहित, बाजुरा र डोटीका जनप्रतिनिधीले चाँसो देखाएका हुन ।

बयालापाटा अस्पताल व्यवस्थापनको लागि बुधबार भएको समन्वयात्मक बैठकमा सहभागी सबै जनप्रतिनिधिले बयालपाटा अस्पतालमा देखिएको समस्या समाधानको लागि मिलेर अघि बढ्ने प्रतिवद्धता जनाएका छन । जिल्ला समन्वय समितिका प्रमुख नर बहादुर कुँवर आगामि आर्थिक वर्षको बजेट ल्याउदा बयालापाटा अस्पतालको लागि रकम विनियोजित गर्न आग्रह गरे ।

पन्चदेवल बिनायक नगरपालिकाका प्रमुख देवराज देवकोटले बयालपाटा अस्पताल सञ्चालनको लागि आवश्यक रकमको लागि केन्द्र सरकारसँग पहल गर्नुपर्ने धारणा व्यक्त गरे । अपुग रकम स्थानीय तहले प्रदान गरेर भएपनि अस्पतालको सेवालाई थप गुणस्तर बनाउनुपर्नेमा उनको जोड थियो ।

साँफेबगर नगर प्रमुख कुल बहादुर कुँवरले बयालपाटा अस्पतालमा अहिले देखिएको आर्थिक संकट टार्नको लागि सवै स्थानीय तहको सहयोग आवयश्क रहेको बताए ।

बाजुराको त्रिवेणी नगरपालिकाका प्रमुख राम सिंह रावलले बयालपाटा अस्पतालले प्रदान गर्दै आएको सेवालाई थप गुणस्तर अभिवृद्धिको लागि स्थानीय तहले मिलेर अघि बढ्नुपर्ने बताए । डोटीको पूर्वीचौकी गाउँपालिका अध्यक्ष दीर्घ बोगटीले बयालपाटा अस्पताललाई केन्द्र सरकारको मातहत ल्याएर सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरे ।

बैठकमा अस्पतालको आर्थिक अवस्था, भावी कार्ययोजना, समस्या र अस्पतालले प्रदान गरेको सेवाका बारेमा बयालपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डा. विकास गौचनले जानकारी गराएका थिए । बयालापाटा अस्पतालाई सरकारले पनि सञ्चालन गर्न सक्ने भएका कारण त्यसमा पनि केन्द्र सरकारको ध्यान जानुपर्नेमा बताउनुभयो । अस्पताल सञ्चालनमा कठिनाई भएको भन्दै अस्पाताल प्रशासनले सम्बन्धित निकायलाई पटक पटक जानकारी गराउदा पनि यसमा कसैको ध्यान नगएपछि बैठकको आयोजना गरिएको अस्पतालले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारलाई १२ करोड रकम माग गरिएता पनि प्रदेश सरकारले पनि आ.ब. २०७७/७८ को बजेटमा बयालपाटा अस्पताल सञ्चालनको लागि ७ करोड रकम विनियोजित गरेको छ । आ.ब. ७७/७८ मा अस्पताल सञ्चालनको लागि थप ४ करोड रकम आवश्यक रहेको बयालपाटा अस्पतालले जनाएको छ । सामुदायिक स्वास्थ्य सेवा सहित अस्पतालबाट यस क्षेत्रका वार्षिक ८ लाख नागरिकहरुले एम्बुलेन्स बाहेक अन्य सेवाहरु निशुल्क रुपमा पाईरहेका छन् ।

वैठकमा मंगलसेन नगरका प्रमुख पदम बोहरा, बाजुराको वुढीगंगा नगरपालिकाका प्रमुख दिपक बिक्रम शाह, चौरपाटी गाउँपालिका अध्यक्ष हर्क साउद, बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र खड्का, रामारोशन गाउँपालिका अध्यक्ष झंकर साउँद, तुर्माखाँद गाउँपालिका अध्यक्ष पुष्पराज शर्मा, मेल्लेख गाउँपालिका उपाध्यक्ष धन बहादुर शाही, नेपाल कम्युनिष्ट पार्टी नेकपा संगठन विभाग प्रमुख प्रकाश शाह, नेपाली काँग्रेसका नेता टक्कर ताम्राकार, प्रमुख जिल्ला अधिकारी पूर्णविक्रम पौडेल, जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानाको सहभागीता रहेको थियो । वैठकको सञ्चालन निमित्त समन्वय अधिकारी शैलेशराज ढुंगानाले गरेका थिए ।