चाडपर्वको समयमा यात्रुलाई आवश्यक सूचना, सहयोग तथा सहजीकरण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय अछामले मंगलसेनमा यात्रु सहायता कक्ष स्थापना गरेको छ।
चाडपर्वलाई लक्षित गर्दै मंगलसेनस्थित प्रहरी बिट नजिकै सहायता कक्ष स्थापना गरिएको हो । यात्रुहरूलाई यात्रा क्रममा आवश्यक पर्ने सूचना उपलब्ध गराउने, समस्या परेका यात्रुलाई सहजीकरण गर्ने तथा सम्भावित ठगी, दुर्घटना र अन्य जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सहायता कक्ष सञ्चालनमा ल्याइएको अस्थायी ट्राफिक प्रहरी पोस्ट मंगलसेनका हवल्दार जयहरि चन्दले जानकारी दिनुभयो ।
उहाँका अनुसार चाडपर्वको समयमा सार्वजनिक यातायातमा यात्रुको चाप बढ्ने भएकाले यात्रुहरू विभिन्न किसिमका समस्यामा पर्न सक्ने सम्भावना हुन्छ। यात्राका क्रममा यात्रु ठगिने, सामान तथा कागजात हराउने, सवारी साधनमा समस्या आउने तथा दुर्घटना हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै सहायता कक्ष स्थापना गरिएको हो ।
“चाडपर्वको समयमा यात्रुको आवतजावत बढ्ने भएकाले उनीहरूलाई आवश्यक सूचना, सहयोग र सहजीकरण गर्न सहायता कक्ष स्थापना गरेका हौँ,” हवल्दार चन्दले भन्नुभयो, “यात्रुहरूले कुनै समस्या भोगेमा सहायता कक्षमा सम्पर्क गरेर आवश्यक सहयोग लिन सक्नेछन् ।
सहायता कक्षको सोमबार जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) पविन्द्र बमले उद्घाटन गर्नुभएको हो। सहायता कक्ष उद्घाटन कार्यक्रममा बोल्दै डीएसपी बमले यात्रुहरूको विश्वास जित्ने गरी प्रभावकारी रूपमा सेवा प्रवाह गर्न प्रहरीलाई निर्देशन दिनुभयो ।
उहाँले सहायता कक्ष केवल औपचारिकताका लागि नभई यात्रुले प्रत्यक्ष अनुभूति गर्ने गरी प्रभावकारी सेवा दिने माध्यम बन्नुपर्ने बताउनुभयो। यात्रुका समस्या सुन्ने, तत्काल आवश्यक सहयोग गर्ने र समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्न प्रहरी सक्रिय हुनुपर्ने उहाँको भनाइ थियो ।
यात्रु सहायता कक्षमार्फत यात्रुहरूलाई बाटो तथा यातायातसम्बन्धी आवश्यक जानकारी उपलब्ध गराउने, हराएका सामान तथा कागजातका विषयमा आवश्यक सहयोग र समन्वय गर्ने, सवारी दुर्घटना भएमा प्रारम्भिक सहयोग उपलब्ध गराउने तथा सम्बन्धित निकायसँग समन्वय गर्ने काम गरिने प्रहरीले जनाएको छ ।
त्यस्तै, सहायता कक्षले ट्राफिक नियम, सडक सुरक्षा तथा सुरक्षित यात्राका विषयमा यात्रुहरूलाई जानकारी गराउनेछ। सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले ध्यान दिनुपर्ने विषय, सवारी साधनको अवस्था, क्षमताभन्दा बढी यात्रु बोक्ने अवस्था तथा ट्राफिक नियम उल्लङ्घनका विषयमा समेत यात्रुहरूलाई सचेत गराइने प्रहरीले जनाएको छ ।
डीएसपी बमले यात्रु सहायता कक्षलाई प्रभावकारी बनाउन प्रहरीसँगै स्थानीय नागरिक, यातायात व्यवसायी, चालक, सहचालक तथा यात्रु सबैको सहयोग आवश्यक रहेको बताउनुभयो। सडक सुरक्षा र सुरक्षित यात्राका लागि नागरिक आफैँ पनि सचेत हुनुपर्ने भन्दै उहाँले कुनै समस्या वा असामान्य गतिविधि देखिएमा प्रहरीलाई तत्काल जानकारी गराउन आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै मंगलसेन नगरपालिका वडा न ५ का अध्यक्ष झंकर प्रसाद भाटले प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरेर राम्रो कामको थालीनी गरेको बताउनुभयो । यो कक्ष बाट नागरिकहरुले सेवा पाउने भएकाले यस्ता रचनात्मक कार्यलाई निरन्तरता दिन सुझाव दिनुभएको छ ।
अछाम प्रहरीले पछिल्लो समय समुदायसँगको सहकार्यमा सडक सुरक्षा तथा ट्राफिक सचेतनाका गतिविधिलाई समेत प्राथमिकता दिँदै आएको छ। प्रहरीले विद्यालय, समुदाय तथा सार्वजनिक स्थानमा ट्राफिक नियम, पैदल यात्रुले अपनाउनुपर्ने सावधानी र सडक सुरक्षासम्बन्धी विषयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।
विशेषगरी विद्यालयका विद्यार्थीलाई सडक पार गर्दा अपनाउनुपर्ने सावधानी, सडकमा हिँड्दा ध्यान दिनुपर्ने विषय, सवारी साधनमा यात्रा गर्दा पालना गर्नुपर्ने नियम तथा ट्राफिक संकेतका बारेमा जानकारी दिने गरिएको छ। यस्ता कार्यक्रमले विद्यार्थी तथा सर्वसाधारणमा सडक सुरक्षासम्बन्धी चेतना अभिवृद्धि गर्न सहयोग पुग्ने प्रहरीको अपेक्षा छ ।
चाडपर्वका बेला अछामबाट विभिन्न ठाउँमा जाने तथा जिल्ला बाहिरबाट अछाम भित्रिने यात्रुको संख्या बढ्ने भएकाले यात्रु सहायता कक्षको आवश्यकता अझ बढी हुने प्रहरीको भनाइ छ। यात्रुको चाप बढेसँगै सार्वजनिक सवारी साधनमा हुन सक्ने अनियमितता, क्षमताभन्दा बढी यात्रु बोक्ने, बढी भाडा असुल्ने तथा यात्रुलाई विभिन्न किसिमले दुःख दिने गतिविधि नियन्त्रण गर्न पनि सहायता कक्षले समन्वयकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा प्रहरी निरीक्षक रुद्रप्रसाद कडेल, प्रहरी नायव निरीक्षक तेजबहादुर साउद, जहेन्द्रसिंह महरालगायत प्रहरी कर्मचारी तथा स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो । चाडपर्वको समयमा सडकमा सवारी साधनको चाप बढ्ने र यात्रुको आवतजावतसमेत वृद्धि हुने भएकाले दुर्घटनाको जोखिम पनि बढ्ने गर्दछ। यस्तो अवस्थामा यात्रु, चालक, सहचालक तथा यातायात व्यवसायी सबैले ट्राफिक नियमको पालना गर्नुपर्नेमा प्रहरीले जोड दिएको छ ।
यात्रु सहायता कक्ष स्थापनासँगै मंगलसेनबाट यात्रा गर्ने यात्रुहरूले बाटो, यातायात, सडक अवस्था तथा अन्य आवश्यक विषयमा जानकारी लिन सहज हुने अपेक्षा गरिएको छ। साथै, यात्रा क्रममा समस्या परेका यात्रुलाई तत्काल प्रहरीको सम्पर्कमा पुग्न र आवश्यक सहयोग लिनसमेत सहज हुने विश्वास गरिएको छ । प्रहरीले चाडपर्वलाई सुरक्षित, व्यवस्थित र सहज बनाउन यात्रु सहायता कक्षसँगै जिल्लाका विभिन्न स्थानमा सुरक्षा तथा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने जनाएको छ।
यात्रुहरूले पनि आफ्नो यात्रा सुरक्षित बनाउन टिकट लिएर मात्र यात्रा गर्ने, तोकिएको भाडा तिर्ने, सवारी साधनको क्षमता तथा अवस्था बुझेर यात्रा गर्ने र कुनै समस्या भएमा नजिकको प्रहरी वा सहायता कक्षमा जानकारी गराउन प्रहरीले आग्रह गरेको छ ।














प्रतिक्रिया