मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा तीन वटा पीसीआर मेसिनका सामग्री आइपुगे

सुदूरपश्चिममा तीन वटा पीसीआर मेसिनका सामग्री आइपुगे


धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले खरिद गरेका तीन वटा पीसीआर मेसीनका सामग्री धनगढी पुगेका छन्। प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले खरिद गरेका मेसिनका सामग्री धनगढी आइपुगेका हुन्।

चार करोड २७ लाख ९२ हजारमा देवी मेडिसिन धनगढीले प्रयोगशालाका लागि आवश्यक सामग्री आपूर्ति गरेको आपूर्ति केन्द्रका सूचना अधिकारी लक्ष्मी श्रेष्ठले बताए। आपूर्तिकताले सामग्री ढुवानीसँगै जडानको काम समेत गर्ने जनाइएको छ।  

प्रयोगशालाका लागि आवश्यक केहि सामग्री आपूर्ति केन्द्रमा राखिएको भएपनि मुख्य मेसिनहरु भने प्रयोगशालामा जडान हुने क्षेत्रमा लगिने उनले बताए। सेती प्रादेशिक अस्पतालले स्वास्थ्य कार्यालय कैलालीको भवनमा कोरोना परीक्षणका लागि प्रयोगशाला सञ्चालन गर्ने बताएको छ।

यस्तै जिल्ला अस्पताल डोटी र बैतडीमा पनि प्रयोगशालाका लागि भौतिक संरचना तयार पारिएको दावी गरिएको छ। 

सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषदले प्रदेशका तीन ठाउँमा कोरोना परीक्षण प्रयोगशाला सञ्चालन गर्ने निर्णय गरेको थियो। सेती प्रादेशिक अस्पताल, जिल्ला अस्पताल डोटी र बैतडीमा मेसिन जडान गर्ने योजना प्रदेश सरकारको छ। – दिनेश खबर