मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डा. केसीको अवस्था ग’म्भी’र, भन्छन्– सास रहुन्जेल ल’डिरहन्छु

डा. केसीको अवस्था ग’म्भी’र, भन्छन्– सास रहुन्जेल ल’डिरहन्छु


जुम्लाको चन्दननाथ नगरपालिका–६ रानीचौर स्थित बाबिरामष्टको मन्दिर परिसरमा अनशनमा बसेकाे डा. गाेविन्द केसी बिरामीकाे स्वास्थ्य परीक्षण गर्दै। तस्बिर ः ईश्वरीप्रसाद देवकोटा

ईश्वरीप्रसाद देवकोटा, जुम्ला – मुलुकको स्वास्थ्य र चिकित्सा शिक्षामा सुधार माग गर्दै ६ दिनदेखि जुम्लामा अनशनरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएको छ। लामो समयदेखि पटकपटक अनशन बस्दै आएका डा. केसीको स्वास्थ्य अवस्था यसै पनि कमजोर छ। उनको यो १९ औं पटकको अनशन हो।

अनशनका क्रममा जुनसुकै बेला जे पनि हुन सक्ने भएकाले यथाशीघ्र २४ सै घण्टा स्वास्थ्य निगरानी गर्न सकिने ठाउँमा स्थानान्तरण गर्नुपर्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. प्रवीणकुमार गिरीले बताए। डा. केसीको स्वास्थ्य अवस्था निगरानी गरिरहेका डा. गिरीका अनुसार प्रतिष्ठानका चिकित्सक टोलीले दिनमा तीनपटक सामान्य स्वास्थ्य जाँच गरेका छन्। उनलाई तत्काल अस्पताल जान परामर्श दिइएको छ। तर डा. केसीले भने अस्पताल जान त के कुनै औषधि लिनसमेत मानिरहेका छैनन्।

डा. केसी भदौ २९ गतेदेखि जुम्लाको चन्दननाथ नगरपालिका–६ रानीचौर स्थित बाबिरामष्टको मन्दिर परिसरमा सत्याग्रहमा बसेका हुन्। अनशन बसेको छैटौं दिनसम्म पनि सरकारले उनीसँग वार्ताका लागि सुरसार देखाएको छैन। कारोना महामारीका बीच पनि असार पहिलो सातादेखि नै डा. केसी कर्णाली प्रदेशका गाउँबस्तीमा पुगेर बिरामीको जाँच गरिरहेका थिए।

उनले कर्णालीको कालिकोट, मुगु, डोल्पा र जुम्लाका गाउँमा पैदल यात्रा गर्दै निःशुल्क विशेषज्ञ सेवा दिइरहँदा सत्तारुढ दल नेकपा आबद्ध जनप्रतिनिधि भएका केही स्थानीय तहमा बिरामीको स्वास्थ्य जाँचमा पनि रोक लगाइएको थियो। मुगु जिल्ला अस्पतालमा पुगेर भने डा. केसीले धेरै बिरामीलाई स्वास्थ्य सेवा दिएका थिए।

जुम्लाको खलंगामा डा. केसीलाई प्रहरीले घेराभित्रै राखिराखेको थियो। साथै प्रशासनले उनीमाथि हिँडडुल गर्न र बिरामीको उपचार गर्न रोक लगाएको थियो। त्यसपछि उनले सरकारलाई आफ्ना माग सम्बोधन गर्न दुई पटक अल्टिमेटम दिएका थिए। माग सुनुवाइ नभएपछि डा. केसी अनशन बसेका हुन्।

स्थानीय प्रशासनले उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको हातामा प्रवेश गर्न पनि रोक लगाएको थियो। स्थानीय प्रशासनले प्रतिष्ठान परिसरमा अनशन बस्न अवरोध गरेपछि डा. केसी मन्दिरमा पुगेर अनशन बसेका छन्। प्रतिष्ठानका चिकित्सकका अनुसार पटकपटकको अनशनबाट शरीरका विभिन्न अंगमा पुगेको क्षति, डा. केसीकोे उमेर र अनसन स्थलको अवस्थाका कारण छैटौं दिनमै उनको स्वास्थ्यमा गम्भीर समस्या देखा परिसकेको छ।

अनशनस्थलमा डा. गाेविन्द केसी।

अनशनस्थलमै बिरामीको परीक्षण

जुम्लाको पातारासी गाउँपालिकाको छुमचौरकी आगमु लामा ठूला डाक्टर आएका छन् भन्ने सुनेपछि दुईवर्षे छोरो पेमा लामालाई बोकेर अस्पताल पुगेकी थिइन्। अस्पतालमा उनले ती ठूला डाक्टर मन्दिरमा छन् भन्ने थाहा पाएपछि खोज्दै उतै पुगिन्। छोराको खुट्टाको हड्डी बांगो भएकाले शल्यक्रिया गर्नुपर्ने डा. केसीको सुझावअनुसार उनी अनशन सकिएपछि शल्यक्रिया गराउने दिनको पर्खाइमा छिन्। अनशनको दोस्रो दिन पनि उनले बिरामी जाँचेरै बिताए। त्यसपछि भने उनको स्वास्थ्यले साथ दिएन।

खुला चौरमा बित्यो पहिलो रात

१९ औ अनशनको पहिलोे पहिलो रात डा. केसीले मन्दिर परिसरको खुला चौरमै बिताएका थिए।स्थानीय प्रज्वल महतका अनुसार डा. केसी एक्कासि मन्दिर क्षेत्रमा अनशन बस्न पुगेपछि कुनै पनि व्यवस्था नहुँदा उनले चिसो र अँध्यारो चौरमा रात बिताउनुपरेको थियो। केही स्थानीय युवाले डा. केसीलाई खुला स्थानमा देखेपछि पालमुनि बसेर उनलाई पहरा दिएका थिए। महत भन्छन्, ‘तर उहाँ भने हाम्रो पालमुनि आउनु भएन, चिसोमै बसेर रात बिताइदिनुभयो।’

मुगाली समुदायको समर्थन

डा. केसीको सत्याग्रहमा जुम्लाको मुगाली समुदायले ऐक्यबद्धता प्रकट गरेको छ। बिहीबार मुगाली समुदायका एक सयभन्दा बढीको समूहले डा.केसीलाई भेटेर आफ्नो समुदायको पूर्ण सहयोग र समर्थन रहने वताएको थियो। उनीहरुले आवश्यक परे आफूहरु सडकमा उत्रिने बताएकोे अनबन स्थलमा रहेका स्थानीय महेन्द्र कार्कीले जानकारी दिए।

डा. केसीको सत्याग्रहमा जुम्लाका विभिन्न राजनीतिक दलका नेताहरुले पनि समर्थन गरेका छन्। उनीहरुले अनशनस्थल पुगेर स्वास्थ्य अवस्था बुझ्नुका साथै समर्थन पुस्तिकामा हस्ताक्षर गरेका छन्। डा. केसीका माग तुरुन्त सम्बोधन गरी चिकित्सा शिक्षामा सुधारको पहल सुरु गर्न युथ कांग्रेस नेपाल जुम्ला र राष्ट्रिय प्रजातान्तिक विद्यार्थी संगठनले सरकारसँग आग्रह गरेका छन्।

दुई संगठनले साझा ऐक्यबद्धता पत्र जारी गर्दै जुम्ली विद्यार्थी उनको साथमा रहेको जनाएका छन्। ‘कर्णाली जस्तो दुर्गम ठाउँमा मेडिकल कलेजको माग यहाँका जनताका लागि हो। अहिले त्यही आवाज डा. केसीले बुलन्द गरिदिनुभएको छ। हामी उहाँको साथमा छौं,’ स्थानीय विद्यार्थी अनिल थापाले भने।

डा. केसीका माग तत्काल पूरा नहुने हो भने उनको जीवनरक्षाका लागि जुम्ली युवा कडा संघर्षमा उत्रने चेतावनी स्थानीय प्रज्वल महतले दिए। अनशनस्थलमा बसिरहेका उनले भने, ‘हाम्रा लागि डा. केसी नै देवदूततुल्य हुन्। उनका लागि हामी जस्तोसुकै कदम चाल्न पछि पर्दैनौं।

साझा पार्टीको विशेष टोली जुम्लामा

डा. केसीको सत्याग्रहप्रति ऐक्यबद्धता जनाउन साझा पार्टीको विशेष टोली जुम्ला आइपुगेको छ। जुम्लाका नागरिक समाजका अगुवा र स्थानीयले पनि डा. केसीलाई भेटेर उनको सत्याग्रहप्रति ऐक्यबद्धता जनाउने क्रम जारी छ। स्थानीय युवा जागरण अभियानले सत्याग्रहमा समर्थन जनाएको छ। अभियानका कर्णाली प्रदेश संयोजक लालबहादुर जीसीले डा. केसीलाई भेटेर अभियानको ऐक्यबद्धता प्रकट गरेका हुन्।

उनको समर्थनमा नागरिक समाज जुम्लाले हस्ताक्षर अभियान थालेको छ। डा. केसीको सत्याग्रहप्रति ऐक्यबद्धता जनाउँदै हस्ताक्षर अभियान थालनी गरिएको नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताए। अनशनस्थल र खलंगा बजारमा रहेको कृष्ण मन्दिरमा समेत ब्यानर राखेर हस्ताक्षर अभियान थालिएको छ। ‘यहाँ संकलन भएको हस्ताक्षर प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई पठाउने छौं,’ महतले भने।

अस्पताल जान मानेनन् 

डा. गिरीका अनुसार उनलाई चक्कर लाग्ने र मांसपेसी बाउँडिने समस्या देखिएको छ। ‘मुटुको चालमा गडबडी छ, छाती अत्यधिक दुखेको छ र सास फेर्न गाह्रो भइरहेको छ, पिसाबको मात्रामा कमी आएको छ, रक्तचाप घटदो छ,’ डा. गिरीले भने।

शरीरमा अक्सिजनको मात्रा कम हुन थालेको, पिसाबमा समस्या आउन थालेको र पे्रसर घट्दै गएकाले उहाँलाई तत्कालै अस्पताल लैजानुपर्ने देखिन्छ,’ डा. गिरीले भने, ‘यस्तो ठाउँ (अनशनस्थल) मा सलाइन लगाउन सकिँदैन। संक्रमणको जोखिम हुन्छ। सरलाई अनुरोध गरेका छौं तर उहाँले रगतको परीक्षण गराउनसमेत मान्नु भएको छैन।’

अन्तिमसम्म लड्छु : डा. केसी

हाल चलिरहेको कोभिड महामारीले विकेन्द्रित र गुणस्तरीय स्वास्थ्य सेवा कति महत्त्वपूर्ण छ भन्ने कुरा प्रस्ट पारेको डा. केसी बताउँछन्। दुई वर्षअघि जुम्लामा सुरु भएको उनको सत्याग्रह सरकारसँग सम्झौता भएपछि टुंगिएको थियो। तर सरकारले सम्झौता कार्यान्वयन गरेन।

‘उल्टो सरकारले मेडिकल माफियालाई पोस्ने गरी ऐन जारी गर्यो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको दुई वर्ष बितिसक्दा पनि सरकराले चासो दिएको छैन,’ डा केसीले भने। डा. केसीले सास रहुन्जेल चिकित्सा शिक्षाको सुधारका लागि लडिरहने बताएका छन्।

उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सञ्चालन गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी, डढेलधुरा, उदयपुर र इलाम, पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल सञ्चालनका लागि प्रक्रिया अघि बढाइनुपर्ने र २०७५ साउन १० मा भएको सम्झौता कार्यान्वयन गरिनुपर्ने लगायतका माग राखेका छन्।

‘म जुम्लाको पावन भूमिमा बाबिरा मष्टको मन्दिरमा सत्याग्रहमा छु,’ उनले भने, ‘मेडिकल माफियाको अन्त्य र गरिब जनताको छोराछोरीले डाक्टरी पढ्न पाउनुपर्ने एजेन्डा राखेर लामो समय देखि लडिरहेको छु, लडिरहनेछु।’ – नेपालसमयबाट