मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोखरामा दैनिक दुई सय प्याराग्लाइडिङ

पोखरामा दैनिक दुई सय प्याराग्लाइडिङ

सुदूर आज

पोखरा । यहाँका प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थालेपछि दैनिक दुई सयभन्दा बढी साहसी खेलप्रेमी आकाशमा उड्न थालेका छन् । लामो समयको बन्दाबन्दीका कारण मनोरञ्जनलगायत गतिविधिबाट वञ्चित भएकाहरुलाई आकाशमा उड्न सस्तो कार्यक्रम ल्याइएको छ । 

कम्पनीहरुले लामो समयको बन्दाबन्दी खुलेसँगै गत असोज १५ देखि व्यावसायिक उडान सुरु गरेका थिए । बाह्‍य पर्यटकको आगमन शून्य भएका अवस्थामा आन्तरिक पर्यटकबाटै पर्यटकीय गतिविधिलाई चलायमान बनाउन नाफा नहेरी उडानलाई निरन्तरता दिइएको नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए । उनले भने, “हामीले पर्यटकीय गतिविधि भएको छ भन्ने सन्देश दिन मात्र खोजेका हौँ, त्यसैले घाटा नै भए पनि प्याराग्लाइडिङ सुरु गरेका हौँ । अहिले दैनिक पोखरा र आसपासका करिब दुर्य सय आन्तरिक पर्यटकले उडान गरेका छन् ।” उनले अहिले पर्यटकीय मौसम भए पनि कोरोनाले ठप्प भएका अवस्थामा सस्तो कार्यक्रममार्फत आन्तरिक पर्यटकलाई जोड दिएर उडान गरिएको बताए ।

आन्तरिक पर्यटकको चहलपहलले  थौरे भए पनि व्यावसायिक उडानप्रति आशा जगाउँदै लगेको उनको भनाइ छ । उनका अनुसार अहिले सहुलियत दरमा तीन हजार रुपैयाँमा उडान गरिएको छ । पहिले सात हजार पाँच सय रुपैयाँमा हुने गरेको थियो । कोरोनाको उच्च जोखिमलाई ध्यान दिँदै स्वास्थ्य सतर्कतासहित प्याराग्लाइडिङ कम्पनीको अनुगमनसमेत गरेर ‘सेफ्टी र सेक्युरिटी’लाई समेत ध्यान दिइएको भण्डारीले बताए ।

हिमालय स्काइ एडभेन्चर प्याराग्लाइडिङ कम्पनीका सञ्चालक एवं पाइलट माधव तिवारीले अहिले १५ देखि ३५ वर्षसम्म उमेरका युवाले उडानमा बढी रुचि राखेको बताए । विशेष गरी कलेजका विद्यार्थी, कर्मचारी, व्यवसायीलगायत पारिवारिक रुपमा समेत उडानका लागि आउने गरेको उनको भनाइ छ ।

नेपाल हवाई खेलकुद संस्थाको सचिव तिवारीका अनुसार उडान गर्नेहरुमा कास्कीका ८० र २० प्रतिशत पोखरा आसपासका जिल्लाबाट आउने गरेका छन् ।  यसअघि दैनिक करिब पाँच सय उडान हुने गरेकामा अहिले आन्तरिक पर्यटक मात्रै दैनिक करिब दुई सयले उडान गर्ने गरेको उनको भनाइ छ ।

पोखरामा  हवाई खेलकुद संस्थाबाट प्याराग्लाइडिङ उडान अनुमति लिएका ३३८ प्यारापाइलट छन् जसमा  १२ महिला छन् । बन्दाबन्दी अगाडिसम्म १०/१२  विदेशी प्यारापाइलट यस क्षेत्रमा थिए भने अहिले नेपाली मात्रै छन् । पोखरामा ६० प्याराग्लाइडिङ कम्पनी छन् । यस क्षेत्रमा करिब एक अर्ब रुपैयाँको लगानी छ । -रासस