मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पच्चीस वर्षपछि पहिलो पटक इङ्गल्याण्ड युरोकपको सेमिफाइनलमा, युक्रेन निरीह

पच्चीस वर्षपछि पहिलो पटक इङ्गल्याण्ड युरोकपको सेमिफाइनलमा, युक्रेन निरीह


काठमाडौं । इङ्गल्याण्ड १६ औं संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । इटालीको रोमस्थित स्टाडियो ओलम्पिको स्टेडियममा  शनिबार राति भएको क्वार्टरफाइनलमा युक्रेनमाथि शानदार जित हासिल गर्दै इङ्गल्याण्ड अन्तिम चारमा पुग्न सफल भएको हो । 

खेलमा युक्रेन ४–० गोल अन्तरले पराजित भयो । इङ्गल्याण्डलाई जित दिलाउन कप्तान ह्यारी केनले दुई गोल गरे । त्यस्तै ह्यारी मग्वाएर र जोर्डन हेण्डरसनले एक एक गोल गरे ।

चौंथो मिनेटमा केनले गोल गर्दै गोलको खाता खोले । पहिलो हाफ १–० को नतिजामा सकिएकामा दोस्रो हाफमा भने इङ्गल्याण्ड थप हाबी भयो ।

४६ औं मिनेटमा डिफेन्डर मग्वाएरले गोल गर्दै इङ्गल्याण्डलाई २–० को अग्रता दिलाए । खेलको ५० औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै इङ्गल्याण्डको अग्रता तेब्बर बनाए । 

६३ औं मिनेटमा हेण्डरसनले गोल गर्दै इंग्ल्यान्डलाई ४–० को फराकिलो जित दिलाए ।

यो शानदार जितसँगै इङ्गल्याण्ड २५ वर्षपछि पहिलो पटक युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।  यसअघि इङ्गल्याण्ड सन् १९९६ मा सेमिफाइनल पुगेयता कमजोर प्रदर्शन गर्दै आएको थियो । 

पहिलो उपाधि यात्रामा रहेको इङ्गल्याण्डले सेमिफाइनलमा डेनमार्कसँग खेल्नेछ । चेक गणतन्त्रलाई २–१ गोल अन्तरले पराजित गर्दै डेनमार्क सेमिफाइनलमा पुगेको हो ।