अन्तरवार्ता / विचार

भ्रममा नपरौं-भुकम्पले ज्यान लिदैन।

  • सन्तोष पाण्डे

भुकम्प भनेपछी आम मानिसमा एक छुट्टै किसिमको त्रास उत्पन्न हुन्छ। बिगतमा भुकम्पका कारणले भएका मानविय क्षति तथा भौतिक क्षतिका तस्विरहरुले दिमागमा ज्वारभाटा उत्पन्न गर्दछन। तर एकपटक सम्झिऔ त, वितेको कालखण्डमा हामिले सामना गरेका बिभिन्न साना-ठुला भुकम्पहरुको कारणले निम्तिएका क्षतिहरु के कस्ता थिए? भूकम्पको चपेटामा परी चोटपटक लाग्ने वा मृत्यु हुनेमध्ये ९० देखी ९५ प्रतिशत कमजोर भौतिक संरचना भत्किँदा त्यसको भग्नावशेषले किचिएर/पुरिएर हुने गर्दछ । बि.सं. २०७२ गोरखा भूकम्पका बिषयमा भएका बिभिन्न अध्ययनका प्रतिवेदनहरुले पनि जम्मा मृत्यु संख्याको ९९ प्रतिशत घर संरचना मात्रै भत्किएर भएको बताइरहेका छन। धनजनको क्षतिको वास्तविक कारण त हामीले बनाएका वा उपयोगमा ल्याईरहेका संरचनाहरु कमजोर हुनु अर्थात भुकम्पको धक्का सजिलै सहन गर्न नसक्ने हुनु नै हो।यसर्थ यस मानेमा हामी स्पस्ट हुनुपर्दछ कि, भुकम्पले ज्यान लिदैन, बरु हामीले बनाएका संरचनाहरु कमजोर भएका कारणले ति नै भत्केर हो क्षति हुने।

प्रथमतः भुकम्प के हो, यो कसरी-के कारणले आउछ भन्ने बारेमा जानकारी राख्न अति जरुरी हुन्छ । विश्व सातवटा टेक्टोनिक प्लेट मिलेर बनेको छ । नेपाल इण्डियन र तिब्बतियन प्लेटको बीचमा पर्छ । यि दुवै प्लेटहरु आफ्नै गतिमा अघि बढिरहेका हुन्छन् । त्यस क्रममा एउटाले अर्कोलाई आफूतिर तान्ने कोसिस गरिरहेका हुन्छन, एउटा प्लेटले अर्को प्लेटलाई घर्षण दिएपछि त्यसबाट पैदा भएको शक्ति बाहिर निस्कने क्रममा भूकम्प आउने हुन्छ । त्यस्तो शक्ति पृथ्वीको भित्रि भाग जहाँ कमजोर छ, त्यहाँबाट बाहिर निस्कन्छ ।कति धेरै शक्तिसञ्चय भएको छ त्यही तिब्रताको भुकम्प आउछ। जँहाबाट त्यस्तो शक्ति बाहिर निस्कन्छ त्यस बिन्दुलाई भुकम्पको केन्द्रबिन्दु भनेर भनिन्छ। यसैबाट प्रस्ट हुन सकिन्छ कि यि टेक्टोनिक प्लेट हरु निरन्तर चलायमान छन, एक आपसमा घर्षण भई नै रहेको छ, शक्तिसञ्चय भई नै रहेको छ। त्यसैले भुकम्पको जोखिम कायमै छ तर भुकम्प कहां कतिबेला कति तिब्रताको भुकम्प आउछ भनेर पूर्वानुमान गर्ने यस किसिमको प्रविधिको अझै बिकास हुन भने सकेको छैन।त्यसैले सबैभन्दा महत्वपूर्ण भनेको भुकम्पले सृजना गर्नसक्ने जोखिमलाई मध्यनजर गरी सुरक्षित रहने नै हो। भुकम्पिय जोखिम न्यूनिकरणका सन्दर्भमा मुलतः तिन कुरालाई जोड दिनुपर्दछ, पहिलो-भुकम्प थेग्ने बलियो संरचना आर्थात संरचनागत जोखिम न्यूनिकरण, दोस्रो-गैह्र संरचनागत जोखिम न्यूनिकरण र तेस्रो-भुकम्पका समयमा अपनाउनुपर्ने सुरक्षित व्यवहार।

यी तीन कुरामध्ये पनि भूकम्प थेग्ने भौतिक संरचनाको निर्माण नै सबभन्दा महत्वपूर्ण  हुन्छ। त्यसैले भूकम्पबाट सुरक्षित हुनका लागि हामीले हाम्रा घर, विद्यालय, अस्पताल आदि भवन भूकम्प थेग्ने गरी बनाउनुपर्छ ।

भूकम्प थेग्ने घर बनाउन घरको आकारप्रकार र निर्माण प्रविधिमा विशेष विचार पु-याउनुपर्छ, निर्माणका सन्दर्भमा बनेको नेपाल रास्ट्रिय भवन संहिता तथा स्थानिय सरकारले जारी गर्ने भवन मापदण्डहरुको पूर्ण पालना गरी दक्ष प्राविधिकको निरन्तर सुपरिवेक्षणमा गुणस्तरिय निर्माण सामाग्रीको प्रयोग गरेर मात्रै बनाउनु पर्दछ। बनिसकेका संरचनाहरुको हकमा बिज्ञ ईञ्जिनियरको परामर्शमा आवश्यकता अनुसार उपलब्ध प्रबलिकरणका बिभिन्न बिधिहरु अपनाएर भुकम्प थेग्ने गरी बलियो हुने गरी प्रबलिकरण गर्न पनि सकिन्छ।

दोस्रो- गैह्र संरचनागत जोखिम न्यूनिकरणः हामीले दैनिक कामकाजको सहजताको लागी घरमा भित्र्याएका सरसामान, फर्निचर, सजावटका सामान आदि यसअन्तरगत पर्दछन। हामीले प्रयोग गर्ने गरेका अग्ला दराज, -याक भूकम्पको समयमा ढलेर हामीलाई चोटपटक लाग्ने वा हाम्रो मृत्युसमेत हुने अवस्था आउन सक्छ , राम्रोसंग नबांधेर कौशीमा राखेका गमलाहरु भुकम्पको समयमा खसेर लाग्ने र चोटपटक लाग्न सक्छ, छतमाथिबाट खसेको एउटा इँटाले लागेर मानिस सख्त घाइते बनाउने सम्भावना राख्दछ भने कल्पना गरौँ दोस्रो वा तेस्रो तलामाथिबाट खस्ने पानीको ट्यांकीले मानिसलाई लाग्यो भने केकति क्षति गर्छ होला? यि र यस्तै गैह्र संरचनागत कारणले निम्तिन सक्ने जोखिमलाई पनि नगरअन्दाज गर्न कदापी हुदैन। यसका लागी घरमा राखिने हरेक सामानहरु दराज, फ्रिज, अग्ला र्याकहरुलाई सजिलै नढल्ने गरी पेचकिला तथा फलामे पट्टीहरुले सजिलै नखस्ने गरी बांधेर राख्ने, पानीट्यांकीलाई पनि सही बिधी अपनाएर छतसंग टाई गरेर राख्ने, खुला र्याकहरुमा सामान राख्दा गरुंगो सामान सबैभन्दा तल तथा त्यसपछि माथि क्रमशः हलुका सामानहरु राख्ने र तिनलाई आवश्यकताअनुसार डोरी तथा पेचकिलाको सहायताले अड्याउने गर्नाले यस्ता गैह्रसंरचनागत जोखिम धेरै हदसम्म न्यून गर्न सकिन्छ।

भुकम्पिय क्षति न्यूनिकरणको सन्दर्भमा तेस्रो मुख्य कुरा होः भुकम्पका समयमा अपनाउनुपर्ने सुरक्षित व्यवहार हो। यसले माथि उल्लेख गरिएका कुराहरु हुदा या नहुदा पनि भुकम्प आईहालेमा के गर्ने त? भन्नेसंग सम्बन्धित छ। भुकम्प आउदा आफू र आफ्नो परिवारका लागि सुरक्षित ठाउँ पत्ता लगाएर सबैजना त्यहा सुरक्षितसाथ बस्नुपर्दछ। हतारमा आत्तिएर भागदौड गर्न खोज्दा कम्पन भईराखेको घर वा जमिनमा दौडिन सहज हुदैन, आफुलाई स्थिर राखेर दौटिन सकिदैन, यसो गर्नाले पनि भित्ता वा अन्य केही वस्तु खसेर चोटपटक लाग्ने सम्भावना अधिक रहने हुनाले आत्तिएर भाग्नु हुदैन,  घरबाहिर हुँदा टाउको सुरक्षित राख्ने र विद्युतिय उपकरण तथा तारहरु र अन्य जोखिमयुक्त वस्तुहरुबाट बच्ने गर्नुपर्दछ, पहिरो, ढुंगा, तथा चट्टान खस्ने ठांउ आदिबाट एकदमै सावधान रहने, अनावश्यक हल्लाको पछि नलाग्ने, अत्यावश्यकपर्दा मात्रै मोबाईल फोनमा कुरा गर्ने नभए एसएमएस बाटै खबर आदानप्रदान गर्नु राम्रो मानिन्छ।

नेपालमात्र होईन, हिमालयन रेन्जका सबै क्षेत्र भुकम्पिय द्विष्टिले जहिल्यै उच्च जोखिममा छन । भुकम्पको सफल पुर्वानुमान गर्न सकिदैन तर हाम्रो क्षेत्रमा अवश्यम्भावी नै छ भन्न सकिन्छ, ढिलो चाडो मात्रै हो। अझ नेपालको पोखरा देखि पश्चिमी भागमा सन १५०५ देखि ठुलो भुकम्प गएको छैन । त्यस क्षेत्रमा विगतमा करिब पाँचसय बर्षमा ठुलो भुकम्प जान सक्ने गरि शक्ति सञ्चय भैरहेको धेरैजसो बैज्ञानिक अध्यनले देखाएका छन । हालै भेरहेका बिभीन्न अध्यनहरुले पनि सो क्षेत्रमा ठुलो भुकम्प जान सक्नेगरि जमिनमा शक्ति संञ्चय भएको देखाएका छन । भुकम्पिय जोखीमलाई मध्यनजर गर्दै समुदायस्तरबाटै जनचासो र पुर्वतयारी तथा भुकम्प प्रतिरोधि निर्माणलाई प्राथामिकताका साथ अगाडि बढाउनु निकै नै जरुरी छ।

(लेखक टीकापुर नगरपालिका, पूर्वाधार बिकास शाखामा कार्यरत हुनुहुन्छ।)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कैलाली कांग्रेसको लफडा : बलाएरले टिकट पाएको चर्चा, नछोड्ने भण्डारीको दाबी
रातारात डाेजर लिएर सडक मर्मतमा जुटे वडा अध्यक्ष रावल
आज दसैंको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा गरिँदै
चौरपाटीको न्यु होराइजन युथ क्लबद्धारा अछाममा पहिरो पीडितका लागी आर्थिक संकलन अभियानको थालनी