मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सन्दीपको चम्किलो करिअरमा मडारिएको कालो बादल

सन्दीपको चम्किलो करिअरमा मडारिएको कालो बादल


काठमाडौं । अन्तर्राष्ट्रियरुपमा ख्यातिप्राप्त नेपालका पहिलो र एकमात्र क्रिकेट खेलाडी हुन् सन्दिप लामिछाने । कम उमेरमै लोभलाग्दो सफलता हासिल गर्दै अघि बढिरहेको उनको करिअर अचानक कालो बादलले ढाकिएको छ ।

एक किशोरीले बलात्कारको आरोपमा सन्दीपविरुद्ध जाहेरी दिएसँगै उनको जीवनमा ‘बिग टर्न’ आएको हो । सन्दीपको क्रिकेट करिअर धरापमा परेको छ भने निजी जीवन पनि विथोलिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले उनका आगामी दिनहरु सहज नहुने संकेत गर्छ ।

युवतीले आफुमाथि ‘बलात्कार’ भएको दावी गरेको होटलमा सोही मितिमा उनीहरु दुवैजना सँगै बसेको प्रहरी अनुसन्धानबाट देखिएको छ । अनुसन्धानमा खटिएका प्रहरीका अनुसार जाहेरीमा उल्लेख भएजस्तै भदौ ५ गते राती उनीहरु होटलको एकै कोठामा बसेको थिए । यद्यपि, यसकै आधारमा बलात्कार पुष्टि भने हुँदैन ।

पिडित भनिएकी युवतीको उमेर १८ वर्षभन्दा कम भएकाले यस्तो सहमतिमै भएको यौनसम्बन्ध पनि बलात्कार मानिने कानुनी व्यवस्था रहेको छ । त्यसैले मेडिकल जाँचको रिपोर्टका साथै अन्य प्रमाणहरु विपक्षमा देखिए भने सन्दीप जेल जानुपर्ने हुन सक्छ । १६ देखि १८ वर्ष मुनिको किशोरीमाथि बलात्कार प्रमाणित भएमा १२ वर्षसम्म कैद सजायको व्यवस्था छ । सन्दीपले अधिकतम सजाय पाए भने उनको क्रिकेट करिअरमा लगभग पूर्णविराम लाग्नेछ ।

हाल क्यारेबियन प्रिमियर लिग–सीपीएल क्रिकेट खेल्न वेस्ट इन्डिजमा रहेका सन्दीपलाई स्वदेश फर्किएलगत्तै पक्राउ गरी अनुसन्धान गर्ने तयारी प्रहरीको छ । सन्दीप नेपाली खेलकुदले पाएका सबैभन्दा सफल व्यावसायीक खेलाडी हुन् । नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता नपाइसकेको अवस्थामा पनि सन्दीपले इन्डियन प्रिमियर लिगदेखि बिग बासजस्ता विश्व चर्चित लिगसम्म खेल्ने दुर्लभ सौभाग्य उनले प्राप्त गरे ।

नेपालले टी–२० विश्वकप खेलेर एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताका लागि संघर्ष गरिरहेका सन्दीपको उदय भएको थियो । नेपाली राष्ट्रिय टोलीका तत्कालीन प्रमुख प्रशिक्षक पुबुदु दासानायकेले चितवन भ्रमणका क्रममा सन्दीपको बलिङ हेरेपछि प्रभावित भएर काठमाडौं ल्याएका थिए । उनल सन् २०१६ मा नेपालको सिनियर राष्ट्रिय टोलीबाट डेब्यु गर्न सफल भए । त्यसयता नेपाली टोलीका प्रायः हरेक सफलतामा उनी अभिन्न अंग बन्ने गरेका छन् ।

सन्दीपले खेल्न बाँकी विश्वका कुनै पनि व्यवसायीक टि–२० लिग क्रिकेट प्रतियोगिता छैनन् । अष्ट्रेलियाका प्रख्यात क्रिकेटर सेन वार्नदेखि अफगानिस्तानका रसिद खानसँग उनको तुलना हुने गरेको छ । समकालीन क्रिकेटका एकसे एक खेलाडीसँग उनले ड्रेसिङ रुम सेयर गरे ।

सन् २०१८ मा नेपालले विश्वकपको विश्वस्तरको छनोटमार्फत पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता प्राप्त गरेपछि सन्दीपहरुका लागि नयाँ सम्भावनाको ढोका खुला भएको थियो । लामो समय खेलेको पुस्ता टोलीबाट बाहिरिरहँदा सन्दीप नेपाली टोलीका बलिया आशा भएर दिनदिनै परिपक्व बनिरहेका थिए । त्यहीबीचमा नेपाल क्रिकेट संघ–क्यानले तत्कालिन कप्तान–उपकप्तानसँगको विवादमा उनीहरुलाई कारबाहि गरेर गत पुसमा सन्दीपलाई नेतृत्व सुम्पिने निर्णय गरेको थियो ।

पुराना खेलाडीहरुसँग पूर्वाग्रह साँध्न क्यानले सन्दीपलाई अघि सारेको चर्चा नचलेको पनि होइन । तर विश्वका एक से एक व्यवसायीक प्रतियोगिता खेलिरहेको र अझै लामो समय खेल्न सक्ने भएकाले सन्दीपलाई कप्तानको जिम्मेवारी दिइँदा त्यति धेरै आलोचनाको विषय भएन । बरु खेलाडीका रुपमा सफल सन्दीपलाई कप्तानका रुपमा खह्रो उत्रन सक्ने अपेक्षा बढ्दो थियो । टोलीका धेरै सदस्य एकातिर र आफु अर्कोतिर देखिएपनि सन्दीपले परिस्थितीलाई डटेर सामना गरेका थिए ।

अन्तर्राष्ट्रिय र लिग क्रिकेटमा सन्दीपको व्यक्तिगत प्रदर्शन निकै अब्बल छ । उनले ३० एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ६९ विकेट लिएका छन् । उनले एकै खेलमा ११ रन खर्चिएर ६ विकेटको सफलता कायम गरेका थिए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ६ पटक कम्तिमा ४ विकेट र दुईपटक कम्तिमा पाँच विकेट लिएका छन् उनले । सन्दीपको बलिङ इकोनोमी ४.०२ रहेको छ ।

यता टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीपले ४४ खेलमा ८५ विकेट हात पारेका छन् ६.४ बलिङ इकोनोमीसहित । उनले एकै खेलमा ९ रन खर्चिएर पाँच विकेट लिएका थिए । दुई खेलमा कम्तिमा चार विकेट र एक खेलमा कम्तिमा ५ विकेट हात पारेका छन् । टी–२० क्रिकेटमा उनले एक सय ३६ खेल खेल्दै एक सय ९३ विकेट हात पारेका छन् ।

सन्दीपले क्रिकेट खेलेर नै काठमाडौंमा करोडौं रुपैयाँ पर्ने घर खरिद गरेका थिए । उनको आम्दानी पनि लोभलाग्दो छ । तर, यदि आफूमाथि लागेको आराेप गलत पुष्टि गर्न नसकेकाे खण्डमा उनको निजी र खेल जीवन एकैपटक तहसनहस हुने छ । नेपाली क्रिकेटका एक पिल्लरका रुपमा खडा रहेको अवस्थामा सन्दीपमाथि आइपरेको संकटले नेपाली क्रिकेटलाई नै ठूलो धक्का दिएको छ । – नेपालप्रेसबाट