मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महिला साफ च्याम्पियनसिप : भारतमाथि ऐतिहासिक जित, नेपाल फाइनलमा

महिला साफ च्याम्पियनसिप : भारतमाथि ऐतिहासिक जित, नेपाल फाइनलमा


काठमाडौं : भारतमाथि ऐतिहासिक जित हात पार्दै नेपाल महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतमाथि १–० को जित हात पारेको हो ।

महिला साफ च्याम्पियनसिपको इतिहासमा नेपालले भारतलाई हराएको यो नै पहिलो पटक हो । हजारौं समर्थकको बीचमा नेपाललाई जिताउन रश्मीकुमारी घिसिङले निर्णायक गोल गरिन् । पहिलो हाफको अन्तिम मिनेटमा प्रिती राईको पासमा उनले निर्णायक गोल गरिन् ।

यसअघि प्रिति राईले ३३ औं मिनेटमा डी बक्स बाहिरबाट हानेको भली प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो । पहिलो हाफमा अग्रता लिएपछि दोश्रो हाफमा नेपालले सुरुवातदेखि नै भारतमाथि दबाब बनाउन थाल्यो ।

५० मिनेटमा अनिता केसीको कर्नरमा अमृता जैशीले बक्स भित्रबाट हानेको हेडर भारतकी गोलकिपर अदिती चौहानले पञ्च गर्दै बाहिर फालिन् । ६४ मिनेटमा प्रिति राईले बक्स भित्रबाट गरेको प्रहार पोष्ट नजिकैबाट बाहिरिँदा नेपालले अग्रता दोब्बर बनाउने अवसर गुमायो ।

पाँच पटकको बिजेता भारतले पनि दोश्रो हाफमा गोलका लागि केही अवसर बनाए पनि फिनिसिङ गर्न सकेन । समूह चरणमा भुटानलाई ४-० र श्रीलंकालाई ६-० ले हराउँदा नेपालको डिफेन्स र गोलकिपिङ खासै टेष्ट भएको थिएन ।

तर भारत विरुद्ध भने नेपालको डिफेण्डर र गोलकिपरले कडा मिहिनेत पर्‍यो । कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाले राम्रो बचाउ गरिन् । दोस्रो हाफमा गोल नथेपनि नेपाली खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई खेलमा फर्किने अवसर दिएन ।

अब नेपालले उपाधिका लागि बंगलादेशसँग सोमबार खेल्नेछ । नेपाल फाइनलमा पुगेको भने पाँचौं पटक हो । यसअघि चार पटक नै नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो ।

२०१६ मा कुमार थापा प्रशिक्षक रहेकै बेला नेपाल सेमिफाइनलमा पराजित भएको थियो । त्यसपछि पहिलो पटक महिला टोलीको प्रशिक्षक बन्ने अवसर पाएका थापाले भारतसँग मिठो बदला पनि लिएका छन् ।