मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महिला भलिबलमा एपीएफलाई स्वर्ण

महिला भलिबलमा एपीएफलाई स्वर्ण

सुदूर आज

म्याग्दी – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलमा विभागीय टोली सशस्त्रको एपीएफ क्लबले स्वर्ण पदक जितेको छ । म्याग्दीको बेनीमा आज (बुधवार) सम्पन्न फाइनल खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफले स्वर्ण जितेको हो । 

एपीएफ क्लबले पहिलो सेट २५–१९ ले जित्दै अग्रता बनाएको थियो भने प्रतिस्पर्धात्मकरूपमा दोस्रो सेट पनि ३०–२८ ले जितेको थियो । तेस्रो सेटमा भने पुलिस क्लबले पुनरागमन गर्दै ट्राइब्रेकमा २६–२४ ले आफ्नो पक्षमा पारेको थियो । तर चौथो तथा अन्तिम सेट भने एपीएफले २५–१९ ले आफ्नो पक्षमा पार्दै स्वर्ण जित्याे ।  

यसैगरी आजै बिहान भएको भलिबलमा बाग्मती प्रदेशले गण्डकीलाई हराउँदै कास्य जितेको छ । बाग्मतीले गण्डकीलाई ३–१ को सेटमा पराजित गरी कास्य पदक जितेको जिल्ला भलिबल सङ्घ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँले जानकारी दिनुभयो । यो खेलमा पहिलो सेट गण्डकीले २५–२० ले बाग्मतीलाई जितेको थियो भने त्यसपछि लगातार तीन सेट बाग्मतीले २५–१२, २५–२१ र २५–१७ ले जितेको थियो । 

महिला भलिबलको फाइनल खेलसँगै म्याग्दीमा खेलाइएको भलिबल र तेक्वान्दो प्रतियोगिता सकिएको आयोजकले जनाएको छ । प्रतियोगितामा विजयी बनेका क्लब तथा खेलाडीलाई नगद, ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको छ । गएको असोज २७ गतेदेखि म्याग्दीको सदरमुकाम बेनी बजारमा रहेकाे खुलामञ्चमा महिला भलिबल र कालीपुलको बहुउद्देश्यीय कभर्ड हलमा तेक्वान्दो प्रतियोगिता सुरु भएको थियो । 

राष्ट्रिय महिला भलिबल प्रतियोगितामा सात वटा प्रदेश र विभागीय टिम गरेर १० वटा टिमले सहभागिता जनाएका थिए भने तेक्वान्दो प्रतियोगितामा सात प्रदेश, विभागीय र एनआरएनएसहित ११ वटा टिमको सहभागिता थियो । दुवै खेलका लागि खेलाडी तथा अफिसियलसहित ६ सय जनाभन्दा बढी म्याग्दी आएका थिए ।