बिबिध

कसरी पैदा हुन्छ प्रेमको रसायन ?

काठमाडौं । ‘प्रेम’ यति व्यापक र विराट शब्द हो, जसले युवा हृदयमा कम्पन पैदा गर्छ । खासमा मान्छेमा प्रेमभाव कसरी पैदा हुन्छ ?

अध्यात्मले प्रेमलाई मान्छेको मूल स्वभाव भनेको छ । उसले प्रेमलाई भावना, संवेदना र करुणको विकास मानेको छ । जबकि विज्ञानले यसलाई रसायनको अद्भूत चमत्कार भनेको छ । अध्यात्म, विज्ञान, मनोविज्ञान, समाजशास्त्रले प्रेमलाई भिन्न रुपमा परिभाषित गरेका छन् ।

कवि–कलाकारहरुले यसलाई हृदयको भाषा मान्छ । अतः प्रेमको उत्पत्ति हृदयबाट हुन्छ भनिन्छ, तर विज्ञानले फरक तर्क गर्छ । शरीर विज्ञानले भन्छ, प्रेम र सम्बन्धको आफ्नो बेग्लै जैविक रसायन हुन्छ, जुन मस्तिष्कले नियन्त्रण गर्छ । यसको सोझो अर्थ के भने प्रेम मनको बशमा मात्र छैन ।

हर्मोन विशेषज्ञ डा. विनय भट्टराई भन्छन्, ‘डिपोमाइन, नोरएपिनेफ्रीनर सेरोटोनिन जस्ता हर्मोनले एकअर्काप्रति आकर्षण जगाउँछ । जब कोही व्यक्ति मन पर्न थाल्छ, त्यसमा तीनवटा हर्मोनले खास भूमिका खेल्ने उनी बताउँछन् । नोरएपिनेफ्रीनले उक्त व्यक्तितर्फ ध्यान केन्द्रित गराइदिन्छ । त्यस्तै सेरोटोनिनले उक्त व्यक्ति देख्नासाथ उत्सुकता र लगाव बढाइदिन्छ । डोपामाइनले उक्त व्यक्तिसँग कुरा गर्दा माया, स्नेह जगाइदिने काम गर्छ ।

अक्सिटोसिनलाई ‘लभ हर्मोन’ पनि भनिन्छ । यो मस्तिष्कबाट स्राव हुन्छ । खासगरी आँखा जुधाउँदा, चुम्बन गर्दा, अंकमाल गर्दा यस्तो हर्मोन वृद्धि हुने बताइन्छ । डा. भट्टराईका अनुसार यस्तो हर्मोन पुरुषको तुलनामा महिलामा बढी हुन्छ । किनभने बच्चा जन्माउँदा र स्तनपान गराउँदा महिलामा यो हर्मोनको ठूलो महत्व हुन्छ ।

यद्यपि शरीरमा यी हर्मोन वृद्धि गराउनमा बाहिरी इन्द्रियको भूमिका हुन्छ । आँखाबाट आकर्षण सुरु हुँदै त्यो मन र मस्तिष्कसम्म पुग्ने डा. भट्टराई बताउँछन् । सन् २०१२ मा भएको एक अध्ययनअनुसार युवा युवतीबीच आपसी लगाव बढ्नुमा अक्सिटोसिनको भूमिका हुन्छ । यसले प्रेमभाव मात्र नभई वास्ना पनि बढाउने त्यसमा उल्लेख थियो ।

त्यसो भए अक्सिटोसिन हर्मोन कमी भएमा के हुन्छ ?

मान्छेमा विकर्षण बढ्नु, मन नपराउनु, मायाको भाव नआउनु, नजिक नहुनुमा हर्मोनको खेल भएको बताउँछन् डा. भट्टराई । जब मान्छेमा अक्सिटोसिन हर्मोनको कमी हुन्छ आकर्षण हराउन थाल्छ । ‘ब्रेकअप, डिभोर्स हुने स्थितिसम्म पुग्नु पनि यिनै हर्मोनको खेल हो,’ डा. भट्टराई भन्छन् ।

प्रेम र मायाको भेद

स्वामी आनन्द विनोद चाहिं प्रेमलाई एउटा स्वभाव हो भन्छन् । ‘प्रेम भनेको निस्वार्थ भावले गरिने समर्पण हो,’ उनी भन्छन्, ‘यसमा कुनै लेनदेन हुँदैन ।’ उनी माया र प्रेमबीच पनि भेद रहेको अथ्र्याउँछन् ।

उनी भन्छन्, ‘प्रेममा लगाव, आशक्ति हुँदैन । यसमा द्वेष, अहंकार पनि हुँदैन ।’ यसलाई दैवी भावनाको पनि संज्ञा दिइने गरिएको छ । विशुद्ध प्रेममा कुनै उद्देश्य नहुने बताइन्छ । त्यसो भए वैंशालु जोडीबीच हुने प्रेम वास्तवमा प्रेम होइन ?

‘त्यो प्रेम होइन माया हो,’ स्वामी आनन्द विनोद भन्छन्, ‘संसारले जुन कुरालाई प्रेम भनिरहेको छ, त्यो प्रेम नै होइन ।’ प्रेम वास्तवमा जीवनको सर्वोच्च विधान हो ।

प्रेम अनन्त हुन्छ । तपाईं जति धेरै प्रेमको नजिक पुग्नुहुन्छ, त्यसले अझ बढी आकर्षित गर्न थाल्छ । यो आकाश जस्तै अनन्त छ । प्रेमको कुनै भाषा छैन, यो भाव हो । प्रेमको कुनै अभिव्यक्ति छैन, यो स्वतःस्फूर्त प्रकट हुन्छ ।

यद्यपि आज हामी जुन प्रेमको कुरा गरिरहेका छौं, त्यो अस्थायी आकर्षण र वास्नासम्म सीमित छ । प्रेम खासमा त समर्पण हो, यसमा कुनै अपेक्षा हुँदैन । -एजेन्सी

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अध्यक्ष धामी कस्ता थिए ? उनको सपना के थियो ? (रिपोर्ट)
साँफेबगरमा पालिका स्तरिय भलिबल प्रतियोगिता हुदैँ, प्रथम पूरुस्कार २ लाख १ सय ११
पञ्चदेवल विनायकको कालो दिन
एलपी शर्माको ‘लिलु’ छैठौं राष्ट्रिय समावेशी म्यूजिक अवार्डको मनोनयनमा पर्न सफल