मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विनायकमा रहेको माछापुच्छ्रे बैंकमा भत्ता लिनेको भिड : वृद्ध वृद्धालाई सास्ती

विनायकमा रहेको माछापुच्छ्रे बैंकमा भत्ता लिनेको भिड : वृद्ध वृद्धालाई सास्ती


अछाम :  माछापुच्छ्रे  बैङ्क कार्यालय विनायकमा सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गतको भत्ता रकम बुझ्नेको केही दिन यता भीड लागेपछि सेवाग्राहीले सास्ती व्यहोर्नु परेको छ ।

नगरपालिका स्थित ज्येष्ठ नागरिक, एकल महिला, अशक्त र असहाय व्यक्तिहरूले सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण गर्ने प्रणाली सुरु भएदेखि नै सेवा लिन असहज भएको सेवाग्राहीले दुखेसो पोख्ने गरेका छन् ।

जनप्रतिनिधि र वडाका कर्मचारीहरू घरैमै पुगेर सामाजिक सुरक्षा भत्ता बुझाउँदा केही दिन सहज महसुस गर्दै आएका  सेवाग्राहीहरू बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण हुन थालेपछि बैंकसम्म पुग्न, बैंकिङ प्रणालीका कागजी प्रक्रिया मिलाउन र भत्ता बुझ्न सास्ती हुन थालेको हो । 

स्थानीय तहले पालिका भित्रैका बैंकमार्फत भत्ता वितरण गर्ने नीति ल्याए पनि पालिकाको केन्द्र पुग्न दिनभरि हिँड्नु पर्ने वा महँगो रकम तिरेर सवारी रिजर्भ गर्नु पर्ने बाध्यता रहेको छ ।

अधिकांश सामाजिक सुरक्षा भत्ता लिने उमेर समूहका मानिसहरूले अरूको सहारा लिनु पर्ने बाध्यता रहेको छ । परिवारका सदस्य वा छिमेकीको सहारा लिने सेवाग्राहीले सामाजिक सुरक्षा बापत पाएको रकमको केही प्रतिशत सहयोग गर्नेलाई दिने गरेका छन् ।

भत्ता बुझ्न आउनेको भीडका कारण बैंकका अन्य सेवा प्रभावित भइरहेको स्वीकार गर्दै कार्यालय समय बाहिर बेलुकी  ८ बजेसम्म काम गरेर भए पनि सेवाग्राहीलाई सेवा प्रदान गर्नुपरेको माछापुच्छ्रे बैङ्क स्रोतले बताएको छ । 

भौगोलिक विकटता र व्यक्तिगत सुरक्षाका कारण बैंकका कर्मचारीहरू सम्बन्धित वडामा पुगेर भत्ता वितरण गर्न नसकेको बैंकले बताएको छ । 

उता पञ्चदेवल विनायक नगरपालिका सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाका अनुसार भौगोलिक विकटताका सेवाग्राहीहरूको सहजताका लागि नगर प्रमुखले केन्द्रमै गएर कुरा गरिरहेको बुझिएको छ । 

बैङ्क सँग समन्वय गरेर आगामी दिनहरूमा लाभग्राही सहजताका लागि वडामै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने योजना रहेको नगरपालिकाले जनाएको छ ।