मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रहफमा तुर्माखाँद गाँउपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न

रहफमा तुर्माखाँद गाँउपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न


(अछाम) । अछामको तुर्माखाँद गाँउपालिकाको दुर्गम ठाँउ रहफमा पहिलो पटक भएको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि सिद्धेश्वरी मावि धमालीले जितेको छ । विद्यालयले १५ स्वर्ण, ८ रजत र ३ कास्य गरी कुल २६ पदकसहित प्रतियोगिताको उपाधि जितेको हो ।

धमाली कलस्टरबाट प्रतियोगितामा सहभागि सिद्धेश्वरीले अब जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा खेल्ने छ । भुगोल र बिकासका दृष्टिकोणले अछाम जिल्लाको सबैभन्दा टाढा र विकटमा रहेको रहफमा तुर्माखाँद गाँउपालिकाले पहिलो पटक आयोजना गरेको यति ठुलो खेलकूद प्रतियोगितामा चार वटा कलस्टरका विभिन्न १२ विद्यालयले भाग लिएका थिए ।

रेफ्री संयोजक कमल बहादुर बुढाका अनुसार तुर्माखाँद कलस्टरबाट सहभागि कालिकेश्वरी मावि ७ स्वर्ण, ७ रजत र ८ कास्य गरी कुल २२ पदकका साथ दोस्रो भएको छ । रहफ कलस्टरबाट सहभागि बिन्द्रासैनी मावि ५ स्वर्ण, ८ रजत र ९ कास्य सहित तेस्रो तथा भैरवस्थान कलस्टरबाट सहभागि विन्देवासिनी माबिले ३ स्वर्ण, ७ रगत र १० कास्य सहित सान्त्वना स्थान हासिल गरेको छ ।

वडा नम्बर १ रफलका वडाध्यक्ष उपेन्द्र बहादुर रावलको अध्यक्षतामा भएको समापन समारोहमा तुर्माखाँद गाँउपालिकाका अध्यक्ष डम्बर बिसीले विजयी खेडाहरुलाई शिल्ड, ट्रफी र प्रमाणपत्र सहित सम्मान गरेका थिए ।

उनले जिल्ला स्तरको प्रतियोगिताका लागि छनौट भएका खेलाडीहरुलाई बन्द प्रशिक्षण दिइने बताए । त्यसका लागि गाँउपालिकाले आवश्यक सबै सहयोग गर्ने प्रतिवद्धता समेत गरेका छन् ।

अध्यक्ष बिसीले जिल्लाकै सबैभन्दा बिकटमा रहेको रहफलाई चिनाउन र त्यहाँका समस्या बारे सबैको ध्यानाकर्षण होस् भनेर पहिलो पटक गाँउपालिका स्तरको ठुलो खेलकूद प्रतियोगिता गराइएको समेत बताए ।

समापन समारोहमा वडा नम्बर ८ का वडाध्यक्ष निरक शाही, कार्यपालिका सदस्य मञ्जु थापामगर, नेकपा एमालेका रणबहादुर शाही, नेकपा माओवादी केन्द्रका नरेन्द्र लम्साल र नेपाल कम्युनिष्ट पार्टीका तिलक सी लगायतको उपस्थीति रहेको थियो ।