मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटा अस्पतालमा डा दिलका ३ वर्ष : शल्यक्रियाबाट ३०५ जना गर्भवतीलाई प्रसूति सेवा 

बयालपाटा अस्पतालमा डा दिलका ३ वर्ष : शल्यक्रियाबाट ३०५ जना गर्भवतीलाई प्रसूति सेवा 


अछाम- डा दिल शाही रोक्का २०७७ फागुनको अन्त्यतिर अछाम प्रवेश गरे। बयालपाटा अस्पतालले आह्वान गरेको विज्ञापनमा छनोट भएर उनी एडभान्स एसबीए चिकित्सकको रुपमा अस्पतालमा हाजिर भएका थिए। 

करिब ३ बर्ष अछामको बयालपाटा अस्पतालमा बसेर सेवा दिएका डा दिलले आफ्नो कार्य अवधिमा ३ सय ५ जना गर्भवतीलाई शल्यक्रियामार्फत प्रसूति सेवा दिएका छन्। आफूले बयालपाटाको बसाइका क्रममा सक्दो राम्रो स्वास्थ्य सेवा दिने प्रयास गरेको डा दिल बताउँछन्।

आफ्नो कार्य अवधिमा अस्पतालमा आकस्मिक रुपमा आएका सबै प्रकारका जटिल गर्भवतीहरुको सफल तरिकाले शल्यक्रिया गराएको उनले बताए। बयालपाटा अस्पतालले निःशुल्क रुपमा जनतालाई दिइरहेको स्वास्थ्य सेवाबाट आफू प्रभावित भएर यहाँ आएको समेत उनले बताए। 

बयालपाटा अस्पतालमा आकस्मिक अवस्थामा शल्यक्रिया गर्नुपर्ने खालका गर्भवतीको सेवा प्रदान गर्ने मुख्य उद्देश्य सहित नियुक्त भएका डा दिलले सो अवधिमा सामान्य गर्भवती महिलाको समेत सुत्केरी गराउन सहयोगी भूमिका निर्वाह गरे। 

दाङको तुलसीपुरमा घर भएका दिलले एमबीबीएसको पढाइ बंगलादेशबाट पूरा गरेका हुन्। एमबीबीएस सकेर नेपाल फर्केपछि उनले सुरुका दिनमा आफ्नै गाउँ दाङमा स्वास्थ्य सेवा दिए। त्यसपछि एडभान्स एसबीएको तालिम लिएका उनले दुर्गम क्षेत्रमा समेत काम गरे। केही समय रुकुममा काम गरेका डा दिलले जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत काम गरे।  

बयालपाटा अस्पतालका मेडिकल निर्देशक डा मन्दीप पाठक डा दिलले दिएको स्वास्थ्य सेवाको प्रशंसा गर्छन्। ‘हामीसँग त्यस अवधिमा एडभान्स एसबीए लेभलभन्दा माथिका डाक्टर थिएनन्। त्यसबेला डा दिलले गर्भवती महिलाको सफल शल्यक्रिया गराएका थिए,’ डा मन्दीपले भने।

सँगसँगै डा दिलले अस्पतालको अन्य विभागमा समेत राम्रो भूमिका निर्वाह गरेको निर्देशक डा मन्दीपको भनाइ छ। अछामसँगै बाजुरा, डोटी र अन्य जिल्लाका समेत गर्भवती महिला बयालपाटा अस्पताल आएर सेवा लिएको उनले बताए।