अछाम । रसुवागढी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा पुनःस्थापनाका लागि अछामको तुर्माखाँद गाउँपालिकाले ३३ लाख ४९ हजार ९९९ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ।
मिति २०८३ भदौ १० गते रसुवा जिल्लाको सीमावर्ती क्षेत्र रसुवागढी तथा तल्लो तटीय क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको घटनाप्रति गाउँपालिकाले गहिरो दुःख व्यक्त गरेको छ।
गाउँपालिकाको २०८३ असोज ५ गते बसेको गाउँ कार्यपालिकाको बैठकले विपद्बाट प्रभावित नागरिकको उद्धार तथा उपचार, क्षतिग्रस्त सार्वजनिक संरचना एवं भौतिक पूर्वाधारको पुनर्निर्माण र पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।
गाउँपालिकाका अनुसार उक्त सहयोग रकम जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा विद्यालय कर्मचारीको निश्चित दिन बराबरको सेवा सुविधा तथा तलब, तीज विशेष कार्यक्रमका लागि छुट्याइएको रकम र प्रकोप व्यवस्थापन कोषबाट जुटाइनेछ।
कसबाट कति रकम?
गाउँपालिकाले सार्वजनिक गरेको विवरणअनुसार जनप्रतिनिधिको सेवा सुविधाबाट ९९ हजार ८३३ रुपैयाँ, कर्मचारीको तलबबाट ६ लाख ३८ हजार ८७१ रुपैयाँ, शिक्षक तथा विद्यालय कर्मचारीको तलबबाट १९ लाख ७१ हजार २९५ रुपैयाँ, तीज विशेष कार्यक्रमको रकमबाट ४ लाख ४० हजार रुपैयाँ र प्रकोप व्यवस्थापन कोषबाट २ लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको छ।
यसरी विभिन्न शीर्षकबाट गरी कुल ३३ लाख ४९ हजार ९९९ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएकाे गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका अनुसार जनप्रतिनिधितर्फ अध्यक्षको १५ दिन, उपाध्यक्षको १० दिन, वडा अध्यक्षको ७ दिन, कार्यपालिका सदस्यको ५ दिन र वडा सदस्यको ३ दिन बराबरको सेवा सुविधा सहयोगका रूपमा कट्टा गरिनेछ।
त्यस्तै, कर्मचारीतर्फ अधिकृतस्तरका कर्मचारीको ७ दिन, सहायक पाँचौँ र चौथो तहका कर्मचारीको ५ दिन तथा श्रेणीविहीन कर्मचारीको ३ दिन बराबरको तलब सहयोगमा समावेश गरिनेछ।
शिक्षकतर्फ माध्यमिक तहका शिक्षकको ७ दिन, निम्न माध्यमिक तथा प्राथमिक तहका शिक्षकको ५ दिन, पालिका अनुदान शिक्षकको ३ दिन र श्रेणीविहीन कर्मचारीको ३ दिन बराबरको तलब सहयोगमा समावेश गरिनेछ। यसमा विद्यालय कर्मचारी तथा बाल विकास सहजकर्तासमेत समेटिएका छन्।
गाउँपालिकाले बाढी तथा विपद्का कारण ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ। साथै, घाइते तथा विपद्बाट प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
गाउँपालिकाले विपद्को यस संवेदनशील अवस्थामा प्रभावित नागरिकको उद्धार, उपचार, पुनर्निर्माण तथा पुनःस्थापनाका लागि सबै पक्षबाट सहयोग र सहकार्य आवश्यक रहेको जनाएको छ।














प्रतिक्रिया