अछाम । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अछामको तुर्माखाँद गाउँपालिका सभापतिमा प्रेमबहादुर बुढा सर्वसम्मत निर्वाचित भएका छन्।
तुर्माखाँद गाउँपालिकाका १ देखि ८ वटै वडाका वडा सभापति, क्षेत्रीय प्रतिनिधिलगायत पार्टीका स्थानीय प्रतिनिधिहरूको सहमतिमा बुढा गाउँपालिका सभापतिमा सर्वसम्मत चयन भएका हुन्।
सर्वसम्मत निर्वाचित भएपछि नवनिर्वाचित सभापति बुढाले आफूलाई विश्वास गरेर जिम्मेवारी दिएकोमा पार्टीका नेता, प्रतिनिधि तथा क्रियाशील सदस्यहरूप्रति आभार व्यक्त गरेका छन्।
उनले आफ्नो कार्यकालमा पार्टीभित्र सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। विगतमा भएका मतभेद र मनमुटावलाई छाडेर तुर्माखाँदका प्रत्येक वडा, टोल र पार्टीका सबै साथीलाई एकताबद्ध बनाएर कांग्रेसलाई थप मजबुत बनाउने उनको भनाइ छ।
बुढाले भने, “मेरो कार्यकालमा कोही पनि साथी छुट्ने छैनन्, कोही पनि पछाडि पर्ने छैनन्। विगतमा जे-जस्ता मतभेद वा मनमुटाव भए पनि तिनलाई छाडेर तुर्माखाँदका प्रत्येक वडा, प्रत्येक टोल र प्रत्येक साथीलाई समेटेर, मिलाएर र एकताबद्ध बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्दछु।”
उनले नेपाली कांग्रेसलाई नयाँ सोच, नयाँ ढङ्ग र नयाँ ऊर्जाका साथ अघि बढाउने बताएका छन्। युवाको अपेक्षालाई सम्बोधन गर्दै अग्रजको सम्मान र जनताको सुख–दुःखमा साथ दिने पार्टीका रूपमा स्थानीय कांग्रेसलाई अघि बढाउने उनको भनाइ छ।
“यो पार्टी कसैको व्यक्तिगत होइन, हामी सबैको साझा घर हो। यो घरको प्रत्येक इँटालाई जोगाउने र बलियो बनाउने दायित्व मेरो हो,” बुढाले भने।
सर्वसम्मत रूपमा सभापतिको जिम्मेवारी पाएकोमा उनले क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, जिल्ला कार्यसमिति सदस्य, वडा सभापति, क्षेत्रीय प्रतिनिधि, अग्रज नेतागण तथा क्रियाशील सदस्यहरूप्रति धन्यवाद व्यक्त गरेका छन्।
बुढाले तुर्माखाँदका १ देखि ८ वटै वडाका कांग्रेस कार्यकर्ताको भावना र विश्वासलाई कदर गर्दै आगामी दिनमा पार्टीलाई थप संगठित र मजबुत बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।














प्रतिक्रिया