मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मिस्टर सुप्रानेशनल २०२६ मा नेपालको प्रतिनिधित्व गर्न मृदुल आचार्य पोल्याण्ड प्रस्थान

मिस्टर सुप्रानेशनल २०२६ मा नेपालको प्रतिनिधित्व गर्न मृदुल आचार्य पोल्याण्ड प्रस्थान


काठमाडौं । मिस्टर सुप्रानेशनल नेपाल २०२६ का विजेता मृदुल आचार्य विश्वकै प्रतिष्ठित पुरुष सौन्दर्य प्रतियोगिता मिस्टर सुप्रानेशनल २०२६ (Mister Supranational 2026) मा नेपालको प्रतिनिधित्व गर्न आइतबार (जुलाई २०) पोल्याण्ड प्रस्थान गरेका छन्।

प्रतियोगिता पोल्याण्डको मालोपोल्स्का (Małopolska) क्षेत्रमा आयोजना हुँदैछ भने यसको भव्य ग्रान्ड फिनाले आगामी अगस्ट १, २०२६ मा हुनेछ।

व्यक्तित्व, नेतृत्व क्षमता, अनुशासन, विनम्रता तथा व्यावसायिक उत्कृष्टताका कारण चर्चित आचार्यले प्रतियोगिताको प्रारम्भिक चरणदेखि नै प्रभावशाली प्रदर्शन गरिरहेका छन्। प्रतियोगिताअन्तर्गत सञ्चालन हुने महत्वपूर्ण ‘Supra Chat’ चुनौतीमा उनी दोस्रो चरण (Second Round) मा प्रवेश गर्न सफल भएका छन्, जसलाई अन्तर्राष्ट्रिय मञ्चमा उनको प्रतिस्पर्धात्मक क्षमता र लोकप्रियताको संकेतका रूपमा हेरिएको छ।

नेपालले विगत पाँच संस्करणमा मिस्टर सुप्रानेशनल प्रतियोगितामा उल्लेखनीय सफलता हासिल गर्दै आएको छ। धिरोज काजी बस्नेत टप–२० मा पर्न सफल भएका थिए भने सनीश श्रेष्ठ ले प्रतिष्ठित Mr. Talent उपाधि जितेका थिए। त्यसैगरी, डा. सन्तोष उपाध्याय ले नेपालको इतिहासमै उत्कृष्ट प्रदर्शन गर्दै थर्ड रनर–अप (3rd Runner-up) बन्नुका साथै Mr. Influencer उपाधिसमेत जितेर नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा नयाँ उचाइमा पुर्‍याएका थिए।

मिस्टर सुप्रानेशनल नेपालका राष्ट्रिय निर्देशक डा. सन्तोष उपाध्याय ले मृदुल आचार्यको क्षमता, मेहनत, अनुशासन र विनम्रताप्रति पूर्ण विश्वास व्यक्त गर्दै यस वर्ष नेपालले थप उत्कृष्ट नतिजा हासिल गर्ने अपेक्षा व्यक्त गरेका छन्।

उनले भने,

“मृदुलमा विश्वस्तरमा प्रतिस्पर्धा गर्न आवश्यक सम्पूर्ण गुण छन्। उनको व्यक्तित्व, अनुशासन, विनम्रता, बौद्धिक क्षमता र निरन्तर मेहनतले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको झण्डा अझ उचाइमा फहराउनेमा हामी विश्वस्त छौं। विगत पाँच संस्करणमा नेपालले दुई उत्कृष्ट प्लेसमेन्ट र दुई सबटाइटल जितिसकेको छ। छैटौं संस्करणमा मृदुलले नेपालका लागि तेस्रो उत्कृष्ट प्लेसमेन्ट दिलाउने विश्वास गरेका छौं।”

आयोजक संस्था सनुर्भी इन्टरनेशनल प्रालि ले मृदुलको सहभागिता केवल व्यक्तिगत उपलब्धि नभई नेपालको गौरव, संस्कृति र राष्ट्रिय पहिचानलाई विश्वमञ्चमा प्रस्तुत गर्ने अवसर भएको जनाएको छ। संस्थाले सम्पूर्ण नेपालीलाई मृदुलको यात्रामा शुभेच्छा, साथ र समर्थन प्रदान गर्न पनि आग्रह गरेको छ।

अब विश्वभरका प्रतिस्पर्धीसँग नेपालको प्रतिनिधित्व गर्दै मृदुल आचार्यले प्रतिष्ठित मिस्टर सुप्रानेशनल २०२६ को उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको ग्रान्ड फिनाले अगस्ट १, २०२६ मा पोल्याण्डको मालोपोल्स्कामा आयोजना हुनेछ।