मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छोराको जन्मदिनमा कृष्ण कुँवरद्वारा बयालपाटा अस्पताललाई घाँस काट्ने मेसिन सहयोग

छोराको जन्मदिनमा कृष्ण कुँवरद्वारा बयालपाटा अस्पताललाई घाँस काट्ने मेसिन सहयोग


अछाम — अछामको साँफेबगर हाटबजार निवासी नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि, युवा व्यवसायी तथा समाजसेवी कृष्ण कुँवरले बयालपाटा प्रादेशिक अस्पताल अछामलाई घाँस काट्ने मेसिन सहयोग गरेका छन्। कुँवरले आफ्ना छोराको जन्मदिनको अवसर पारेर अस्पताललाई उक्त मेसिन सहयोग गरेका हुन्।

करिब एक लाख रुपैयाँ मूल्य बराबरको घाँस काट्ने मेसिन शुक्रबार एक कार्यक्रमका बीच कुँवरकी धर्मपत्नी पशुपती कुँवरले अस्पताल परिसरमा अस्पताल प्रशासनलाई हस्तान्तरण गरेकी हुन्।

छोराको जन्मदिनमा फजुल खर्च गर्नुभन्दा सामाजिक तथा परोपकारी काममा सहयोग गर्नु उपयुक्त हुने सोचका साथ अस्पताललाई मेसिन सहयोग गरेको कुँवरले बताए।

उनले भने, “जन्मदिनमा हुने अनावश्यक खर्चलाई सामाजिक सेवामा लगाउन सके त्यसले समाजमा सकारात्मक सन्देश दिन्छ। त्यसैले छोराको जन्मदिनको अवसरमा अस्पताललाई आवश्यक सामग्री सहयोग गर्ने सोच बनाएका हौँ।”

कुँवर परिवारले विगतदेखि नै सामाजिक तथा परोपकारी क्षेत्रमा सहयोग गर्दै आएको छ। यसअघि पनि बयालपाटा अस्पताल, वैद्यनाथ क्षेत्रका विभिन्न गतिविधि तथा विभिन्न विद्यालयलाई सहयोग गर्दै आएको परिवारले जनाएको छ।

सामाजिक कार्यमा सक्रिय रहँदै आएका युवा नेता, व्यवसायी तथा समाजसेवी कुँवरले समाजको हित र विकासका लागि सबैले आफ्नो क्षेत्रबाट सक्दो योगदान गर्नुपर्ने बताए।

अस्पताललाई घाँस काट्ने मेसिन सहयोग प्राप्त भएपछि अस्पताल परिसरको सरसफाइमा सहज हुने अस्पताल व्यवस्थापक प्रकाश खड्काले बताए। विशेषगरी बर्खायाममा अस्पताल परिसरमा घाँस धेरै पलाउने भएकाले सरसफाइमा समस्या हुने गरेको भन्दै उनले निःशुल्क रूपमा मेसिन प्राप्त हुँदा अस्पताललाई ठूलो राहत पुगेको बताए।

अस्पताल परिसरको नियमित सरसफाइ तथा व्यवस्थापनमा उक्त मेसिन उपयोगी हुने अस्पतालले जनाएको छ।