सुर्खेत । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ९औँ वार्षिक उत्सवको अवसरमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी कर्णाली प्रदेशको आयोजनामा सुर्खेतस्थित प्रशान्ति वृद्धाश्रम केन्द्रमा भोजन अर्पण कार्यक्रम सम्पन्न भएको छ।
वीरेन्द्रनगर नगरपालिका–३, सुर्खेतमा रहेको प्रशान्ति वृद्धाश्रम केन्द्रमा आश्रित २५ जना वृद्ध बुबाआमाहरूलाई भोजन खुवाउँदै कार्यक्रम सम्पन्न गरिएको हो। कम्पनीको वार्षिक उत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै वृद्ध बुबाआमाहरूसँग आत्मीयता तथा खुसी साट्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी कर्णाली प्रदेश प्रमुख जीवन कुमार धामी, प्रदेश संयोजक रमा आचार्य, सुर्खेत शाखा प्रमुख विष्णराज सन्ज्याल लगायत MDRT, चिफ एजेन्सी म्यानेजर, सिनियर एजेन्सी म्यानेजर, स्टार एजेन्सी म्यानेजर तथा अभिकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेश प्रमुख जीवन कुमार धामीले आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले व्यवसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई पनि उच्च प्राथमिकता दिँदै आएको बताउनुभयो।
समाजका ज्येष्ठ नागरिक, असहाय तथा आवश्यकतामा रहेका व्यक्तिहरूको सहयोगका लागि कम्पनीले विभिन्न सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आएको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले वार्षिक उत्सव केवल संस्थागत उपलब्धि र उत्सव मनाउने अवसर मात्र नभई समाजप्रतिको आफ्नो दायित्व सम्झने र सेवामार्फत सामाजिक सम्बन्धलाई अझ मजबुत बनाउने अवसरसमेत भएको बताउनुभयो।
भोजन अर्पण कार्यक्रममा सहभागी कम्पनीका पदाधिकारी, एजेन्सी म्यानेजर तथा अभिकर्ताहरूले वृद्ध बुबाआमाहरूसँग आत्मीयतापूर्वक समय बिताउँदै उहाँहरूको आशीर्वाद ग्रहण गरेका थिए।
कार्यक्रमले कम्पनी र समुदायबीचको सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै सामाजिक सेवाप्रतिको प्रतिबद्धतालाई समेत उजागर गरेको छ।
आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको ९औँ वार्षिक उत्सवको अवसरमा आयोजित यस भोजन अर्पण कार्यक्रमले ‘व्यवसायसँगै सामाजिक उत्तरदायित्व’ भन्ने कम्पनीको प्रतिबद्धतालाई थप सार्थक बनाएको छ।
























प्रतिक्रिया