मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काम गर्न नसक्ने अवस्थामा बोर्डमा जान्न : निखिल

काम गर्न नसक्ने अवस्थामा बोर्डमा जान्न : निखिल


काठमाडौं । नायक निखिल उप्रेतीले आफूले चलचित्र विकास बोर्डमा जान नचाहेको बताएका छन् । चलचित्र विकास बोर्डले अध्यक्ष पदका लागि आवेदन आह्वान गरेसँगै उक्त पदका लागि नायक नखिल उप्रेतीले पनि आकांक्षा देखाएको भन्ने समाचार आइरहेका बेला उनले आफू अध्यक्षको आकांक्षी नभएको स्पष्ट पारेका हुन् । 

“मैले कहिले पनि बोर्डमा जाने आकांक्षा देखाएको छैन । अचानक म पनि अध्यक्षका लागि आकांक्षी रहेको भन्ने कुरा छक्क परेको छु,” निखिल बाह्रखरीसँग भन्छन्, “किन यस्तो हल्ला चल्यो भनेर बुझ्दा मन्त्रालयमा रहेका र चलचित्र क्षेत्रका केही साथीहरुले तपाईं पनि बोर्डमा जानु पर्छ भनेर यो कुरा आएको हो भन्नु भयो ।”

राजनीतिक नियुक्तिमा बोर्डमा गएर केही पनि काम गर्न नसकिने भन्दै उनले काम गर्न नसकिने अवस्थामा बोर्डमा जानुको औचित्य नरहेको स्पष्ट पारे । बोर्डमा रहेको पुरानो संयन्त्रमा बसेर काम गर्न नसकिने भन्दै निखिल आफू गएर पनि काम गर्न नसक्ने अवस्थामा बोर्डमा जानुको अर्थ नरहेको बताउँछन् । 

“सबैलाई थाहा छ, राजनीतिक नियुक्तिमा बोर्डमा योग्यता बाहेक अरु नै योग्यता खोजिन्छ,” निखिल भन्छन्, “बोर्ड स्थापना भएको यति धेरै वर्ष भयो, चलचित्र क्षेत्रको श्रीबृद्धिका लागि बोर्डले के काम गर्यो प्रश्न गर्दा भन्नलाई केही छैन । त्यसैले जानु र नजानुको औचित्य छैन भने किन जानु ?”

बोर्डमा आफू गएको औचित्य पुष्टि गर्न नसक्ने अवस्थासम्म आफू नजाने उनको भनाइ छ । 

बोर्डले गत मंगलबार योग्यता तोक्दै अध्यक्ष पदका लागि आवेदन गरेको थियो । तत्कालीन बहालवाला अध्यक्ष केशव भट्टराईको मंसिर २९ गते निधन भएपछि बोर्डको अध्यक्ष पद रिक्त छ । उच्च रक्तचाप र सुगरका बिरामी भट्टराईको हृदयाघातका कारण नियुक्ति पाएको ९ महिनामा निधन भएको थियो । दुई वर्षे कार्यकालका लागि सरकारले उनलाई गत चैतमा नियुक्त गरेको थियो । – baarahkhari