मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डोटी र बैतडीमा दुई युवाको क्वारेन्टिनमा मृत्यु

डोटी र बैतडीमा दुई युवाको क्वारेन्टिनमा मृत्यु


डोटी – क्वारेन्टिनभित्रै मानिसको मृत्यु हुने क्रम बढेर गएको छ। शनिबार बेलुका र आइतबार बिहान गरेर बैतडी र डोटीमा थप दुई जनाको क्वोन्टिनभित्रै मृत्यु भएको छ । भारतबाट फर्किएर बैतडीको पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टिनमा बसेका सोही वडाको सन्तोली घर भएका ३१ वर्षीय पुरुषको शनिबार राति मृत्यु हो ।

प्राथमिक स्वास्थ्य केन्द्र पाटनका स्वास्थ्य सहायक प्रेमसागर भट्टका अनुसार एक्कासि साँझ साढे ६ बजेतिर बेहोस भएका उनको उपचारकै क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा ८ः३० बजेतिर मृत्यु भएको हो ।

शनिबार बिहानमात्रै भारतको बैङ्गलोरबाट पाटन आइपुगेका ती व्यक्ति क्वारेन्टिनमा बसेका थिए।मृतकको स्वाबको नमूना सङ्कलन गरिएको र कोरोना परीक्षणका लागि धनगढी पठाइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए ।

यसअघि पनि भारतबाट आएर क्वारेन्टिनमा बसेकी एक महिलाको यही जेठ २० गते मृत्यु भएको थियो । पुर्चौँडी नगरपालिका–४ भटनास्थित मालिका माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेकी २२ वर्षीया ती महिलाको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो ।

यस्तै डोटीमा पनि क्वारेन्टिन भित्रै एक युवकको मृत्यु भएको छ । जिल्लाको केआई सिंह गाउँपालिका–३ को सिताराम आधारभूत विद्यालयमा रहेको क्वारेन्टाइनमा १९ वर्षीय युवकको आइतबार बिहान मृत्यु भएको हो ।

भारतबाट गत १९ गते डोटी आएका ती युवक २० गतेदेखि गाउँपालिकाको उक्त क्वारेन्टिनमा बसेका थिए। आइतबार बिहान उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसअघि बाजुरा, जुम्ला, बाँकेलगायतका जिल्लामा पनि क्वोन्टिनभित्रै मानिसहरुको मृत्यु भएको थियो। अहिलेसम्म कम्तीमा १० जनाको मृत्यु क्वारेन्टिनमै भइसकेको छ।