मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पुर्बी अछामका ४ स्थानीय तहले गरे पिसिआर मेसिन खरिद गर्ने निर्णय

पुर्बी अछामका ४ स्थानीय तहले गरे पिसिआर मेसिन खरिद गर्ने निर्णय


अछाम जिल्लाको पुर्बी अछामका ४ वटा स्थानीय तहहरुले कोरोना भाइरस परिक्षणका लागि जिल्लामै पिसीआर मेसिन राख्ने गरि निर्णय गरेका छन्।

४ तहका प्रमुखहरूको कमलबजारमा सम्पन्न बैठकले कोरोना संक्रमण दिनप्रतिदिन बढिरहेकाले यसको रोकथाम तथा नियन्त्रणका लागि पिसिआर मेसिन खरिद गर्ने र यसको लागि गर्नुपर्ने आवश्यक पहलहरू अगाडि बढाउने निर्णय गरेका हुन्।

कमलबजार नगरपालिका, पंञ्चदेवल बिनायक नगरपालिका, ढकारी गाउँपालिका र तुर्माखाद गाउँपालिकाका जनप्रतिनिधि सहभागी बैठकले पिसिआर मेसिन तत्काल खरिद गर्ने, यसको प्रभावकारीताको लागि यो संग सम्बन्धित विशेषज्ञ तथा सरोकारवाला संग समन्वय गर्ने, ४ वटै पालिकाहरूलाई मेसिन खरिद गर्न आर्थिक सहयोगका लागि लिखित रूपमा अनुरोध गर्ने लगायतका निर्णयहरू गरेको छ ।

कमलबजार नगरपालिकाका नगर प्रमुख ओमप्रकाश बिष्टको अध्यक्षतामा सम्पन्न भएको बैठकमा पिसिआर मेसिन खरिद गर्न सहज बनाउन र अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त मेसिन खरिदका लागि जिल्ला स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य निरिक्षक चक्र बहादुर बिष्टको संयोजकत्वमा ६ सदस्यीय समन्वय समिति समेत गठन गरेको छ।

बैठकले ४ वटै पालिकालाई सहज हुनेगरि पिसिआर मेसिन कमलबजारमा राख्ने समेत निर्णय गरिएको नगरपालिकाका निमित्त  प्रशासकीय अधिकृत खड्क बहादुर बिष्टले जानकारी दिए। कोरोना संक्रमण भए नभएको थाह पाउन अहिले पनि स्वाब प्रदेशमा पठाउनुपर्ने, रिपोर्ट निकै ढिलो आउने गरेकाले आफ्नै जिल्लामा सहज बनाउने उदेश्यले यो प्रक्रिया अगाडि बढाईएको कमलबजार नगरपालिकाका नगर प्रमुख ओमप्रकाश बिष्टले बताए।

बैठकमा पंञ्चदेवल बिनायक नगरपालिकाका नगर प्रमुख देवराज देवकोटा, ढकारी गाउँपालिका अध्यक्ष धन बहादुर बुढा,तुर्माखाद गाउँपालिका अध्यक्ष पुस्पराज शर्मा, कमलबजार नगरपालिकाका उप प्रमुख भूमिसरण ढकाल बजगाई, प्राथमिक स्वास्थ्य केन्द्र कमलबजारका डक्टर गुञ्जन शाह, जिल्ला अस्पताल अछामका जनस्वास्थ्य अधिकृत चक्र बहादुर बिष्ट, स्वास्थ शाखा संयोजक टंक बहादुर भण्डारी, नेपाली काग्रेसका क्षेत्रिय सभापति लक्ष्मण शाह, पत्रकार महासंघका कोषाध्यक्ष टेक बहादुर थापा लगायतको सहभागीता रहेको थियोे ।

बैठकको संञ्चालन कमलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खड्क बहादुर बिष्टले गर्नुभएको थियोे ।