मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश न. २ मा ३४ जना कोरोना संक्रमित थपिए

प्रदेश न. २ मा ३४ जना कोरोना संक्रमित थपिए


जनकपुर । पछिल्लो चौबीस घण्टामा प्रदेश २ मा तीन महिलासहित ३४ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेका अनुसार योसँगै प्रदेश २ मा कुल संक्रमितको संख्या दुई हजार सात सय ९० पुगेको छ । तीमध्ये शनिबारसम्म सात सय ४० संक्रमित अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन् । 

शनिबार थप संक्रमित भएको पुष्टि भएकामा महोत्तरीमा २४ जना, सर्लाहीमा दुई, रौतहटमा पाँच र बारामा तीनजना छन् । महोत्तरीको मटिहानी नगरपालिकाकी ४५ वर्षीया एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । सोही नगरपालिकाका १८ वर्षीय दुई किशोर र ४५ वर्षीय एकजना तथा १९ देखि ४० वर्ष उमेर समूहका तीन पुरुषमा पनि कोरोना संक्रमण भएको मन्त्रालयले पुष्टि गरेको छ ।

महोत्तरीकै गौशाला नगरपालिकाका एकजना, १५ देखि १९ वर्ष उमेर समूहका पाँच पुरुष, २८ वर्षीया एक महिला, १९ देखि ४० वर्ष उमेर समूहका १० जना र ४४ वर्षीय एक पुरुषमा पनि संक्रमण भएको घिमिरेले जानकारी दिए । सर्लाहीको चकरघटा गाउँपालिकाका ३० वर्षीया एक महिला र सोही उमेरका एक पुरुष गरी थप दुईजनामा कोरोना संक्रमण भएको मन्त्रालयले पुष्टि गरेको छ ।

रौतहट, राजपुर नगरपालिकाकी १९ वर्षीया एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही नगरपालिकाका ५५ वर्षीय एक पुरुष र १९ देखि ४० वर्ष उमेर समूहका तीन पुरुषमा कोरोना संक्रमण भएको घिमिरेले पुष्टि गरेका हुन् । त्यस्तै, बाराको सिम्रौनगढ नगरपालिकाका १८, १९ र ३८ वर्षीय तीनजना पुरुषमा संक्रमणको पुष्टि भएको हो । – बारह्खरी