मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तु र दाङमा बाढीको खतरा बढ्यो

कपिलवस्तु र दाङमा बाढीको खतरा बढ्यो


कपिलवस्तु : शुक्रबार साँझबाट परेको वर्षाका कारण कपिलवस्तु र दाङका नदी आसपासका क्षेत्रमा बाढीको खतरा बढेको छ। बाढी पूर्वानुमान महाशाखाको अनुसार लगातार वर्षा भइरहँदा दुई जिल्लामा नदीमा जलस्तर बढेको हो।

नदी आसपासका क्षेत्रमा रहेको बस्ती उच्च जोखिममा रहेको बताइएको छ। देशका अधिकांश भूभागमा पानी परे पनि यी दुई जिल्लामा भारी वर्षा भए पछि उच्च जोखिममा परेको छ। दाङको गडवामा रहेको मापन केन्द्रमा पछिल्लो ६ घण्टामा १३६.४ मिली मिटर वर्षा मापन गरिएको छ। 

लालमटियामा रहेको अर्को मापन केन्द्रमा ६ घण्टामा ९९.२ मिलीमिटर वर्षा भएको छ। यसैगरी, कपिलवस्तुको वाणगंगामा रहेको मापन केन्द्रमा ७४.६ मिलीमिटर वर्षा भएको महाशाखाले बताइएको छ। यी मापन दिउँसो १२ बजे सम्मको रेकर्ड गरिएको हो। अहिलेसम्म बर्सात रोकिएको छैन। आजको मौसम पूर्वानुमानअनुसार भोलि बिहानसम्म वर्षा हुने पूर्वानुमान छ।

लगातारको वर्षाका कारण नदीतटीय क्षेत्रमा खतरा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाका एक कर्मचारीले बताए। शाखाका अनुसार ६ घण्टा १०० एम एम भन्दा बढी वर्षा भयो भने उच्च जोखिमको रूपमा हुन सक्ने देखिन्छ। यता, दुवै जिल्लाका पहाडी क्षेत्रमा पनि लगातार वर्षा भइरहेको छ।

अर्घाखाँचीको पावरामा बाणगंगा नदीमा बाढीको बहाव उच्च भएको छ। नदीमा रहेको बाढीको स्केलअनुसार पहेलो रेखा पार गरी रातो रेखामा पुगेको छ। पहाडी क्षेत्रबाट बग्ने सबै नदीमा पानीको सतह बढेको प्रकोपको क्षेत्रमा काम गर्ने आईआरडिसी संस्थाले जनाएको छ। बाढीको जोखिम देखिए पछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सचेत हुन अनुरोध गरेको छ।

प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलमा अनुसार जिल्लाको बाणगंगा नदी, कोइली नदी, सुराई नदी र गुडरुंग खोलामा उच्च बहाव रहेको बताए। यी नदी आसपासमा पर्ने बस्तीमा सतर्क रहन अनुरोधसमेत गरिएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई अलर्ट गरी राखिएको छ। जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी गञ्ज बहादुर अधिकारीका अनुसार राप्ती नदीमा खोलाको बहाव बढेको जानकारी प्राप्त भएसँगै सबै सुरक्षा निकाय र स्थानीय तहलाई सतर्क भएर बस्न अनुरोध गरेको बताए। – थाह खबर