मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा एक सातामै ७४६ कोरोना संक्रमित थपिए

सुदूरपश्चिममा एक सातामै ७४६ कोरोना संक्रमित थपिए

सुदूर आज

धनगढी । सुदूरपश्चिममा केही दिनयता कोरोना संक्रमण दतर तीव्र रुपमा बढेको छ । पछिल्लो एक सातामा मात्रै प्रदेशमा सात सय ४६ जना संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिमा हाल संक्रमितको संख्या एक हजार सात पुगेको छ ।

भारतबाट फर्केका हजारौंको परीक्षण नभएकाले परीक्षणको दायरा बढाए संक्रमितको संख्या निकै नै बढ्ने चिकित्सकहरुको भनाइ छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशाला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १ असारयता गरिएको नमुना परीक्षणमा सात सय ४६ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख एवम् कोरोना फोकल पर्सन नरेन्द्रसिंह कार्कीले जानकारी दिए ।

तीन दिनमा मात्रै पाँच सय ५६ जना संक्रमित थपिएकाको उनको भनाइ छ । हालसम्म सबैभन्दा बढी ४ असारमा सुदूरपश्चिमका दुई सय २४ जनामा संक्रमण पुष्टि भएको कार्कीले बताए । यस दिन सेतीको प्रयोगशालामा २४ जना, सुदूरपश्चिमबाट पठाइएका नमुना जाँच गर्दा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा एक सय ९९ र भेरी अस्पतालमा एक जनामा संक्रमण पुष्टि भएको थियो । 

यस्तै, ५ असारमा एक सय ७१ जना र ६ असारमा एक सय ६१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको कोरोना फोकल पर्सन कार्कीले जानकारी दिए । मन्त्रालयको तथ्यांकअनुसार १ असारमा ६६, २ आसरमा १७ जना र ३ असारमा ३१ जनामा संक्रमण पुष्टि भएको थियो ।

प्रदेशभर कोरोना जाँच हुने प्रयोगशाला एउटै हुँदा परीक्षण सुस्त भएपछि चार दिनयता यहाँबाट स्वाब पठाएर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्न थालिएको छ ।आइतबार पनि सुदूरपश्चिमका ७६ जनामा संक्रमण पुष्टि भएको छ । जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३३ जना र सेतीको प्रयोगशालामा ४३ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कुन जिल्लामा कति संक्रमित ? – प्रदेशभर सबैभन्दा बढी संक्रमितको संख्या कैलालीमा दुई सय ६९ जना रहेको छ । यस्तै डडेल्धुरामा एक सय ८६ जना, डोटीमा एक सय ५० र बैतडीमा एक सय ४३ जनामा संक्रमण पुष्टि भएको छ । कञ्चनपुरमा ९८ जना, अछाममा ६९, बझाङमा १८, बाजुरामा ७१ र दार्चुलामा १२ जनामा संक्रमण देखिएको मन्त्रालयका कोरोना फोकल पर्सन कार्कीले बताए ।  

कोरोनाका कारण हालसम्म यस प्रदेशबाट पाँच जनाको निधन भइसकेको छ । यस्तै साढे पाँच हजार स्वाब परीक्षण हुन बाँकी रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।

धनगढीमा परीक्षण सुस्त हुँदा स्वाब थुप्रिएपछि शनिबार पाँच हजार चार सय १२ वटा नमुना परीक्षणका लागि काठमाडौँ पठाएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीका निमित्त प्रमुख रामप्रसाद ओझाले जानकारी दिए । भारतबाट जेठयता मात्रै करिब डेढ लाख मानिस यस प्रदेशमा भित्रिएका छन् । तर हालसम्म साढे १० हजार जनाको मात्रै स्वाब जाँच गरिएको छ ।