मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सत्ता जोगाउन र ढाल्न अध्यक्षद्वयको दौडधुप

सत्ता जोगाउन र ढाल्न अध्यक्षद्वयको दौडधुप


काठमाडौं– चरम विवादमा फसेको नेकपाभित्रको रडाको थप उत्कर्षमा पुगेको छ। पार्टीभित्र भएको सहमति विपरीत बजेट अधिवेशन अन्त्य गर्ने, आफ्नै निवासमा बसेको बैठक बहिस्कार गर्ने र स्थायी समिति बैठकमा उठेका कुरा सुन्नै नचाहने जस्ता अस्वभाविक गतिविधि पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले देखाएसँगै नेकपाको रडाको चरम उत्कर्षमा पुगेको हो।

यो विवाद पार्टी विभाजनको बाटोतर्फ अघि बढेको छ। ओलीका यस्ता गतिविधिका कारण प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतका नेताहरु ओलीलाई कुनै पनि हालतमा राजीनमा गर्न बाध्य पार्ने रणनीतिमा लागेका छन्। ओली भने सत्तामा टिकिरहन जे सुकै गर्ने मनस्थितिमा छन्। त्यसका लागि बरु पार्टी फुटाउनु परे त्यो पनि गर्ने रणनीति उनले बनाएको देखिन्छ।

दुई पक्षको यस्तो टकराव र तयारीले बिहीबार बिहानैदेखि राजनीतिक माहोल खुबै तात्यो। घटनाक्रम यति छिटो र अति अप्रत्यासित हुँदै गयो कि अब के हुन्छ भनेर आंकल नै गर्न नसकिने अवस्था बन्यो। एकाबिहानै आफ्नो राजीनामा माग्ने प्रचण्डलाई फकाउन सकिन्छ की भनेर ओलीले आफू निकटका ५ जना नेतालाई दूत बनाएर खुमलटार पठाए। तर, प्रचण्डले ओली नसच्चिएसम्म पार्टीभित्रको विवाद नमिल्ने भन्दै उनीहरुलाई रित्तै पठाइदिए। त्यसपछि ११ बजेबाट सुरु भयो स्थायी समितिको बैठक।

वालुवाटारमा भएको बैठकमा ओली नै आएनन्। बरु उनले १२ बजेका लागि आकस्मिक रुपमा मन्त्रिपरिषद्को बैठक डाके। जुन बैठकले अचानक संसद्को बजेट अधिवेधन अन्त्य गर्ने निर्णय गर्यो। यो निर्णयले नेताहरूबीच खैलाबैला मच्चियो। केहीबेर बैठक नै स्थगित भयो।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक भएलगत्तै धेरैजसो नेताहरू हल बाहिर निस्केर एकअर्कासँग जिज्ञासु भएर कुराकानी गर्न थाले। पूर्वसंकेत प्राप्त नभएको निर्णय भएकाले प्रधानमन्त्री ओलीले अप्रिय कदम उठाउन त खोजेनन् भन्ने जिज्ञासा उनीहरुमा झल्किन्थ्यो। यसविषयमा थप बुझ्न उनीहरुले प्रधानमन्त्री ओलीलाई पर्खिए तर, उनी आएनन्।

बरु शीर्ष तहका नेताहरुसँग भेट्न खोजेको कुरा त्यहाँ पुग्यो। अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र सचिव विष्णु पौडेले प्रधानमन्त्री ओलीलाई भेट्न पुगे। त्यो भेट हुँदैगर्दा राष्ट्रपतिले मन्त्रिपरिषदबाट सिफारिस बजेट अधिवेशन अन्त्य गर्ने निर्णयलाई स्वीकृत गरिदिइन्।

ओलीसँग केहीबेर छलफलमा बसेका प्रचण्ड त्यसपछि एकाएक राष्ट्रपति निवास पुगे। त्यहाँ करिब एक घण्टा विकसित घटनाक्रमबारे छलफल गरेका प्रचण्ड त्यसपछि फेरि बालुवाटार फर्किए र स्थायी समिति बैठक सुरु गरे। ओली फेरि पनि बैठकमा सहभागी भएनन्। बिहीबारको घटनाक्रमले पार्टीभित्रको विवाद थप उत्कर्षमा पुगेको, ओलीले मनपरी गरेको, पार्टी फुटको दिशातर्फ अघि बढेको स्वयम् पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ बताउँछन्।

उनका अनुसार ओलीको शैलीका कारण अब पार्टी एकता टिक्ने सम्भावना कमजोर बन्दै गएको छ। ‘पार्टीमा भएको सहमति विपरीत मन्त्रिपरिषद् बैठक डाक्ने, मनलाग्दी ढंगबाट सद्को बजेट अधिवेशन अन्त्य गर्ने जस्ता अप्रिय निर्णय ओलीजीबाट भएको छ।’ यसले पार्टीमा झनै तिक्तता बढेको छ।

नेकपाभित्र चर्किएको रडाकोले पार्टी अब धेरै समय एक भएर बस्दैन भन्ने प्रष्ट देखिएको विश्लेषकहरु बताउँछन्। वाम विश्लेषक श्याम श्रेष्ठका अनुसार ओलीको व्यवहार र मनपरी शैली नै अहिले नेकपामा देखिएको मुख्य समस्या हो। जुन समस्या उनले राजीनामा नगरेसम्म हल हुँदैन भन्ने निष्कर्षमा प्रचण्डसहितका नेताहरु पुगेका छन् भने ओली सत्ता छाड्ने मनस्थितिमा छैनन्। यही कारण पार्टी फुट्ने सम्भावना बलियो हुँदै गएको उनी बताउँछन्।

स्थायी समिति बैठकमा बोल्ने अधिकांश सदस्यले राजीनामा मागेसँगै बैठक नै बहिष्कार गर्दै हिँडेका ओलीलाई जुनसुकै हालतमा राजीनामा गराउने प्रचण्ड पक्षको तयारी छ। उनीसहित माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायतका ३० जना स्थायी समिति सदस्यहरु त्यसकै रणनीति बनाउन बुधबार बेलुका ललितपुरको एक होटलमा जम्मा भएका थिए। यही भेलाले विधानअनुसार पार्टी निर्णय मान्न प्रधानमन्त्रीलाई बाध्य बनाउने निष्कर्ष निकालेको हो।

नेकपाको सचिवालय, स्थायी कमिटी र केन्द्रीय समितिमा ओली अल्पमतमा छन्। यसैलाई आधार मानेर प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री ओलीमाथि राजीनामाको दबाब बनाउने रणनीति बनाएको छ। – नेपाल समय