मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाजुराको मार्तडी बजारमा सौर्य बत्ती जडान

बाजुराको मार्तडी बजारमा सौर्य बत्ती जडान


मार्तडी : बाजुराको जिल्ला सदरमुकाम मार्तडी बजारमा निर्माण गरिएको सडकमा सोलार बत्ती जडान कार्य थालिएको छ।  बडीमालिका नगरपालिकाले रातिको समयमा सञ्चालन हुने सवारीसाधन र सर्वसाधारणको आवतजावत सहज बनाउन सडकमा खम्बा गाडेर सोलार बत्ती जडान कार्य शुरु गरेको नगरपालिकाले जनाएको छ। पक्की सडक निर्माण भएको क्षेत्रमा सहज आवतजावत गर्न बजार क्षेत्रका मुख्य सडकमा सोलार जडान कार्य थालेको बडीमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवालले बताए।

उनले खुलामञ्चदेखि गौडाडिल र जिल्ला अस्पतालदेखि महोक होटलसम्मको सडक क्षेत्रमा सडक बत्ती सोलार जडान गर्न थालेको नगरप्रमुख बडुवालले बताए। मार्तडी बजारमा पक्की सडक निर्माण भएका क्षेत्रमा क्रमिकरुपमा सोलार बत्ती जडान गरी उज्यालो नगरपालिका बनाउने लक्ष्यसाथ काम गरिने नगरप्रमुख बडुवालको भनाइ छ। खुलामञ्चदेखि गौडा डिल र जिल्ला अस्पतालदेखि वन डिभिजन कार्यालय हुँदै मोहक होटलसम्म १५ वटा खम्बामा सोलार बत्ती जडान गरिएको नगर उपप्रमुख कविता विष्टले बताईन्।

नगरपालिकाको लगानीमा सो कार्य गरिएको हो। पहिलो चरणमा जिल्ला अस्पताल हुँदै मोहक होटल, खुलामञ्चदेखि गौडा डिलसम्म सोलार बत्ती जडान गरिएका भए पनि दोस्रो चरणमा डिआर मस्टदेखि दुनीहाट बजार र कारागारसम्म सोलार बत्ती जडानका लागि बजेट विनियोजन गरिएको छ। बडीमालिका नगरपालिकाले मार्तडी बजार क्षेत्रका सोलार बत्ती जडानकार्यसँगै सिसी क्यामरा जडानकार्य यसै आर्थिक वर्षमा गर्ने भएको छ।

मार्तडी बजार क्षेत्रमा चोरीका घटना  बढ्दै गएकाले त्यसको नियन्त्रणका लागि सिसि क्यामरा जडान गरिने नगरप्रमुख बडुवालले जानकारी दिए। सडकबत्तीको सहायताले रातिको समयमा चोरी र अन्य हिंसात्मक गतिसम्बधी न्यूनीकरण गर्नका लागि सिसी क्यामरा जडान गर्ने तयारी भइरहेको नगरप्रमुख बडुवालले बताए। नगरपालिकाबाट नै निगरानी राख्ने गरी हरेक दिन बजार क्षेत्रका हुने चोरी, लुटपाट, आगलागी जस्ता कार्य समयमै नियन्त्रण गरी चोरी र हिंसात्मक गतिविधिमुक्त बनाउने गरी उक्त क्यामरा जडान हुने भएको नगरपालिकाले जनाएको छ।

क्यामरा जडान साउन भदौमा गर्ने बताइएको छ। बजारमा सिसी क्यामरा जडानपछि जघन्य अपराधदेखि सामान्य चोरीका घटनाका दोषीलाई पक्राउ गर्न सहज हुने जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताए। – रासस