मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुग्लिन-नौबिसे सडकखण्डमा दुई सय बढी पहिरो

मुग्लिन-नौबिसे सडकखण्डमा दुई सय बढी पहिरो


चितवनको मुग्लिनदेखि धादिङ नौबिसेसम्म पृथ्वी राजमार्गमा साना-ठूला गरी दुई सय बढी पहिरो झरेर सडक अवरूद्ध छ। अविरल वर्षापछि मुग्लिन-नौबिसे सडकखण्डमा खसेको पहिरो मंगलबार पन्छाउने काम सुरू गरे पनि अवरूद्ध सडक आज सुचारू हुन सक्ने अवस्था छैन।

धादिङ र चितवनको सीमाना मौवाखोलामा करिब १५ मिटर सडक बगाएको छ। उक्त ठाउँमा तारजाली (ग्याबियन) भरेर एकतर्फी भए पनि सवारी साधन चल्ने सडक बनाउनेबारे छलफल भइरहेको छ। यो सडकखण्ड चितवनको भरतपुरमा रहेको सडक डिभिजन कार्यालयले हेर्ने गर्छ। कार्यालयका ईञ्जिनयर कृष्णराज अधिकारीले दिएको जानकारीअनुसार मुग्लिन–नौबिसे सडकखण्डमा साना–ठूला २०० भन्दा बढी पहिरो खसेको छ।

‘मुग्लिन–नौबिसे सडकखण्डमा मात्र साना-ठूला दुई सयभन्दा बढी पहिरो खसेका छन्। सबभन्दा बढी समस्या मौवाखोलामा रहेको छ,’ उनले भने।  मौवाखोलामा पानीको बहाव घटेमा ग्याबियन जालीमा ढुंगा भर्ने तयारीमा रहेको उनले बताए। उनका अनुसार यसका लागि नुवाकोटबाट जाली मगाइएको छ। बाटो अवरोध भएकाले आइपुग्न समय लाग्ने छ।

बेलिब्रिजभन्दा यो सहज र छिटो हुने उनले जानकारी दिए।  सडक विभागका महानिर्देशक केशवकुमार शर्माले पानी रोकिएपछि सो सडकखण्ड खुलाउन दुई दिन लाग्ने जानकारी दिए।  ‘पानी नरोकिएसम्म मौवाखोलामा काम गर्न मिल्दैन। काम थालेपछि दुई दिन हामीलाई लाग्छ,’ उनले भने। धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले पृथ्वीराजमार्गमा झरेका पहिरो पन्छाउने काम जारी रहेको बताए।

चितवनको फिस्लिङदेखि धादिङ जवाङखोलासम्म कम्तिमा २० वटा पहिरो छ। बाढीपहिरोले राजमार्गका सवारी साधनमा समेत क्षति पुर्‍याएको छ।  यस्तै, पृथ्वी राजमार्गकै तनहुँ खण्डको आँबुखैरेनी ऐनापहरा, बिमलनगर, डुम्रे, नाहाला लगायतमा सडक अवरूद्ध रहेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले सेतोपाटीलाई जानकारी दिए। ‘राजमार्गको सात/आठ ठाउँमा सडक अवरूद्ध छ। कतै सडक भासिएको छ कतै पहिरोले पुरिएको छ,’ उनले भने।